काठमाडौं, ६ पौष । राष्ट्रपतिबाट नयाँ सरकार गठनको लागि आह्वान भैसकेको अवस्थामा जलस्रोत,ऊर्जा तथा सिंचाई मन्त्री पम्फा भूसाल भने विद्युत प्राधिकरणको सञ्चालक नियुक्त गरेर ठूलो निर्णय गराई ठूलै रकम कुम्ल्याउन अग्रसर हुनुभएको छ ।
ऊर्जा मन्त्रालयको अति विश्वस्त स्रोतले दिएको जानकारी अनुसार मन्त्री भुसाल यस अगाडिको सञ्चालक समितिको बैठकबाटै निजी उत्पादकहरुसंग विद्युत विक्री संझौता(पीपीए) खोल्ने तयारीमा हुनुहुन्थ्यो । तर बैठकमा अर्थसचिव उपस्थित नभएकोले सो प्रयास तुहियो ,
पौष १० गतेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्त गर्ने भएकोले वर्तमान मन्त्रीहरु हट््ने निश्चित छ । आफू पदबाट हट्नु अगावै पीपीए खोलेर ऊर्जा उत्पादकहरुसंग रकम खानलाई मन्त्री भुसालले नयाँ जुक्ति लगाउनु भएको छ ।
मन्त्रालय स्रोतका अनुसार उहाँले विद्युत प्राधिकरणको सञ्चालक समितिमा रिक्त रहेको एक सदस्यमा एक जना ब्यापारी ल्याउदै हुनुुहुन्छ । तर यो कोटा भने कांग्रेसको कोटा हो । सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ई.उमेशप्रसाद थानी नेपाल आयल निगमको कार्यकारी निर्देशक भएपछि उहाँले राजिनामा गरेर सो पद खाली भएको हो ।
मन्त्री भुसाल कांग्रेसको कोटामा व्यापारी नियुक्त गरेर नियुक्त हुने सञ्चालकसंग पनि पैसा कुम्ल्याउने र नयाँ सञ्चालकसहितको बैठक गरी बहुमतले पीपीए खोल्ने निर्णय गरेर निजी ऊर्जा उत्पादकहरुसंग पनि रकम खाने चक्करमा लाग्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका मन्त्रीहरुले उहाँको यो प्रयास रोक्नुपर्ने विद्युत प्राधिकरणका कर्मचारीहरुको भनाई छ ।


















