काठमाडौं, ७ पौष । छिमेकी चीनमा कोभिड सङ्क्रमण बढेपछि भारतको स्वास्थ्य मन्त्रालयले सतर्कता बढाएको छ।
त्यहाँको सरकारले देशमा भेटिएका सबै सङ्क्रमितको जिनोम सिक्वेन्सिङ गर्न निर्देशन दिएको छ।
केन्द्रीय सरकारले राज्य सरकारहरूलाई क्रिसमस र नयाँ वर्षका बेला सङ्क्रमण फैलन सक्ने भन्दै नियन्त्रणका प्रयासहरू अघि बढाउन पनि निर्देशन दिएको छ।
सन् २०२० र २०२१ मा कोभिडका घातक लहरहरू बेहोरेको भारतमा यो वर्ष भने सङ्क्रमणदर निकै न्यून छ।
सरकारी तथ्याङ्कअनुसार सातामा १,२००को सङ्ख्यामा कोभिड सङ्क्रमणहरू देखिएका छन्।
नेपालको छिमेकी भारतमा १ अर्बभन्दा बढी मानिसले कोभिड खोप लगाइसकेका छन्।
मङ्गलवार मात्रै केन्द्रीय सरकारले सबै राज्य लाई कोभिड सङ्क्रमण भएका बिरामीहरूबाट नमुना सङ्कलन गरेर स्वास्थ्य मन्त्रालय अन्तर्गतको एक निकायमा पठाउन भनेको छ। उक्त निकायले भारतमा भेटिएका कोभिडका विभिन्न प्रजातिको निगरानी गर्छ।
चीनमा लकडाउन खुकुलो
चीनमा कठोर लकडाउन खुकुलो बनाए लगत्तै कोभिड सङ्क्रमणदर उच्च भएपछि भारतमा पनि पुनः सङ्क्रमित बढ्न सक्ने चिन्तामाझ सरकारले यस्तो कदम चालेको हो।
सङ्क्रमितहरू उपचारका लागि आउन थालेपछि चीनमा अस्पताल र स्वास्थ्य संस्थाहरूमा चाप बढेको छ।
राज्यहरूलाई पठाइएको पत्रमा भारतका स्वास्थ्य सचिव राजेश भूषणले जिनोम सिक्वेन्सिङ विधिबाट नयाँ भेरिअन्टमाथि निगरानी गर्नु जरुरी भएको उल्लेख गर्नुभएको छ।
“जापान, अमेरिका, दक्षिण कोरिया, ब्रजिल र चीनमा अचानक सङ्क्रमण बढेको” उदाहरण दिँदै उनले निगरानी बढाउन भनेका छन्।
यस्तो प्रयासले नयाँ भेरिअन्टको पहिचान गर्न र त्यसलाई नियन्त्रण गर्न सहयोग पुग्ने उहाँको दाबी छ।
भारतमा कोभिड निगरानी बढाइयो
भारतका स्वास्थ्यमन्त्री मनसुख माण्डवियले पछिल्लो अवस्थाको समीक्षा गर्दै थप निगरानी बढाउनेबारे वरिष्ठ स्वास्थ्य अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको छ।
कोभिडको पहिलो दुई लहरमा सबैभन्दा प्रभावित देशहरूमध्ये भारत पनि एक हो। सरकारी तथ्याङ्कअनुसार भारतमा कोभिडका कारण ५ लाख ३० हजार बढीले ज्यान गुमाएका थिए भने दशौँ लाख मानिसहरू नराम्ररी प्रभावित भएका थिए।
विज्ञहरूले भने कोभिडका कारण ज्यान गुमाउनेहरूको वास्तविक सङ्ख्या सरकारी तथ्याङ्कभन्दा धेरै रहेको ठान्ने गरेका छन्। महामारीको समयमा मृत्यु भएका कतिपय व्यक्तिले परीक्षण नगराएको र सरकारी आँकडामा समावेश नगरिएको बताइन्छ।
अक्सिजन र संवेदनशील औषधिहरूको अभावका कारण कोभिडको दोस्रो लहरमा धेरै मानिसहरूको मृत्यु भएपछि भारतमा सरकारको व्यापक आलोचना भएको थियो।
नेपालमा कोभिड खोप ल्याउन बन्द
नेपालमा भने ३ महिनादेखि कोरोनाविरुद्धको खोप भित्रिएको छैन। स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका कोरोना संक्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको संख्या कम हुनु र नेपालमा ठूलो संख्यामा भ्याक्सिन मौज्दात भएकाले थप खोप नल्याइएको हो। अन्तिम पटक १२ सेप्टेम्बरमा फाइजरको खोप ल्याइएको थियो तर त्यसपछि कुनै पनि खोप नल्याइएको व्यवस्थापन शाखाले जनाएको छ। नेपालमा हाल ५० लाख डोज खोप मौज्दात छ।
शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार नेपालमा ९२ लाख फाइजरको भ्याक्सिन आउने निश्चित भएको थियो। प्रत्येक महिनामा भ्याक्सिन ल्याउने निश्चित भएको थियो तर खोप खपत हुन छोडेपछि निश्चित भएको खोप पनि ल्याइएको छैन। चौरसियाले भन्नुभयो, ‘हामीलाई ९२ लाख फाइजरको खोप अनुदानमा आउने निश्चित भएको थियो तर हालसम्म जम्मा ३७ लाखमात्रै खोप ल्याइएको छ। नेपालमा खोप खपत नभएपछि उक्त अनुदानमा आउने भनिएको खोपलाई केही समयका लागि स्थगित गरिएको हो। खोप ल्याएर भण्डारण गर्दा त्यसको म्याद सकिने भएकाले आवश्यक नभई खोप नल्याइएको हो। आवश्यक परेमा उक्त खोप ल्याइनेछ।’
नेपालमा हाल दैनिक खोप लगाउनेको संख्या न्यून छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हाल दैनिक ३० हजारको हाराहारीमा मात्रै खोप लगाउनेको संख्या छ। नेपालमा अहिलेसम्म ६ करोड ३२ लाख ७६ हजार ७ सय १० मात्रा खोप आइसकेको छ। खोप अभियान सुरु भएदेखि नेपालमा ५ करोड ३५ लाख भन्दा धेरै मात्रा खोप लगाइएको छ। कुल लक्षित जनसंख्यामध्ये ९९.५ प्रतिशतमा पहिलो मात्रा र ९५.७ प्रतिशतमा पूर्ण मात्रा खोप लगाइएको छ।
कुन खोप कति आयो ?
नेपालमा खोप अभियान सुरु भएदेखि हालसम्म कुल ६ करोड ३२ लाख ७६ हजार ७ सय १० मात्रा खोप आइसकेको छ। जसमध्ये सबैभन्दा धेरै भेरोसेल १ करोड ९७ लाख ३६ हजार ४ सय मात्रा ल्याइएको छ। त्यस्तै दोस्रोमा कोभिसिल्ड ९४ लाख ८७ हजार, फाइजर पेडियाट्रिक ८३ लाख ९५ हजार २ सय , मोर्डना ७६ लाख ५२ हजार, एस्ट्राजेनेका ६५ लाख ३० हजार ७ सय २०, साइनोभ्याक ४० लाख, फाइजर ३७ लाख ६३ हजार ८ सय ९० र जेनसेन एण्ड जेनसेन ३७ लाख ११ हजार ५ सय मात्रा भित्र्याएको छ।
नेपालमा आएका खोपमध्ये खरिदभन्दा धेरै अनुदानमा भित्रिएको छ। भित्रिएको ६ करोडमा सरकारले जम्मा १ करोड २० लाख मात्रै खरिद गरेको छ भने अन्य खोप अनुदानमा पाएको छ। सरकारले १ करोड भेरोसेल र २० लाख कोभिसिल्ड खोप मात्रै खरिद गरेको छ।
कति छ स्टक ?
मंसिर २५ गतेसम्मको तथ्यांकअनुसार देशभर ४९ लाख, २१ हजार ६ सय २३ डोज भ्याक्सिन स्टकमा छ। आपूर्ति व्यवस्थापनका अनुसार प्रदेश नं १ मा ५ हजार ३ सय ७३, मधेश प्रदेशमा ४७ हजार ८ सय ९०, बाग्मती प्रदेशमामा ५ लाख ५४ हजार ९ सय ६९, हेटौँडामा १ लाख ३५ हजार ३ सय ९८ मात्रा खोप मौज्दात छ । त्यस्तै प्रदेशमा ७ हजार ६ सय ९६, लुम्बिनी प्रदेशमा १ लाख ११ हजार ६, कर्णाली प्रदेशमा ५० हजार ५ सय ४६ र सुदूरपश्चिम प्रदेशमा ८ हजार ७ सय ५४ मात्रा खोप मौज्दात छ। त्यस्तै केन्द्रिय स्टोर टेकुमा ४० लाख खोप मौज्दातमा रहेको छ।
संक्रमण घट्दै जाँदा र मानिसहरु खोप लगाउन नगएका कारण खोपको मौज्दात धेरै भएको शाखाका प्रमुख प्रमुख डा. सुरेन्द्र चौरसियाले बताउनुभयो। मौज्दात खोपमध्ये सबैभन्दा धेरै बढी भेरोसेल खोप मौज्दात छ । भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात छ भने फाइजर ६० हजार ७ सय ५६ डोज बाँकी छ। त्यस्तै र फाइजर पेडियाट्रिक ४ लाख ९४ हजार ७ सय १० मात्रा मौज्दात छ।


















