Prakash Adhikari December 22, 2022

 

काठमाडौं, ७ पौष । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई आज शपथ खुवाइँदै छ।

सङ्घीय संसद् सचिवालयका अनुसार नयाँबानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ खुवाउने कार्यक्रम छ।

शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउनु हुनेछ । नवनिर्वाचित सांसदहरुलाई शपथ गराउने ज्येष्ठ सदस्य पशुपति समशेर राणाले हिजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरिसक्नुभएको छ ।

आज शपथलगत्तै सांसदलाई संसद्को लोगो प्रदान गरेर सुशोभित गरिने कार्यक्रम रहेको छ।

शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ। मातृभाषामा शपथ लिन चाहने सांसदलाई बिहीबार बिहान ११ बजेसम्मको समय दिइएको छ।

शपथ ग्रहण र लोगो सुशोभन कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिनेछ।

चियापान कार्यक्रममा राष्ट्रियसभाका सांसदलगायत अतिथिलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ।

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनबाट प्रत्यक्षतर्फ १ य ६५ र समानुपातिकतर्फ १ सय १० गरेर २ सय ७५ जना प्रतिनिधिसभा सदस्य चुनिएका छन्।

प्रदेशसभाका सदस्यहरूलाई पनि प्रदेश सभामा आआफ्नो तयारीअनुरूप शपथ खुवाइँदै छ।

 

Share Now

Leave a comment.