Prakash Adhikari December 29, 2022

 

वाशिड.टन डी.सी.(संयुक्त राज्य अमेरिका), १४ पौष(बीबीसी) । अमेरिकाले चीनबाट आउने यात्रुहरूले अनिवार्य रूपमा कोभिड परीक्षण गर्नुपर्ने नियम लागु गर्ने भएको छ। उक्त नियम जनवरी ५ बाट कार्यान्वयनमा आउनेछ।

कोरोनाभाइरस सङ्क्रमण उल्लेख्य रूपमा बढिरहेको भए पनि चीनले आफ्नो सीमा पुनस् खुला गर्ने घोषणा गरेसँगै अमेरिकाले नयाँ नियमको घोषणा गरेको हो।

चीनका छिमेकी देश भारत, जापान र ताइवान तथा इटलीले पनि कोभिड परीक्षणलाई अनिवार्य बनाएका छन्। तर अस्ट्रेलिया र यूकेले चीनबाट आउने यात्रुका लागि त्यस्तो नियम नभएको बताएका छन्।

कोभिड महामारी सुरु भएको तीन वर्ष चीन बाह्य विश्वका लागि बन्द रह्यो।

उसले नयाँ वर्षको दोस्रो सातादेखि मानिसहरूलाई अझ सजिलोसँग यात्रा गर्न दिन लागेको छ।

चीनका विदेश मन्त्रालयका प्रवक्ताले चीनको कोभिड नीतिको व्यवस्थापनबारे पश्चिमा देश र सञ्चारमाध्यमहरूले ूबढाइचढाइू गरेको बताएका छन्।

चीनमा कोभिडको अवस्था पूर्वानुमान गरे जस्तै रहेको र नियन्त्रण गर्न सकिने स्थितिमा रहेको उनको दाबी छ।

के छ चीनको अवस्था ?

अहिले चीनमा कोभिडका बिरामीहरूको सङ्ख्या बढेको छ जसका कारण केही देशले कोभिडसम्बन्धी आफ्ना नियम पुनर्विचार गर्दैछन्।

यद्यपि बेइजिङले भने कोरोनाभाइरस नियन्त्रणका लागि नियमहरू “वैज्ञानिक” आधारमा ल्याइनुपर्ने जनाएको छ।

यो साता दैनिक ५ हजार जनालाई कोभिड पुष्टि भएको सरकारी तथ्याङ्कले देखाउँछ। तर विश्लेषकहरूले सङ्क्रमित मानिसको सङ्ख्या त्योभन्दा धेरै भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या १० लाखको हाराहारीमा हुनसक्ने जनाएका छन्।

ठूला सहरहरूमा बिरामीको ठूलो चाप छ र मानिसहरूेल सामान्य औषधि पाउन पनि निकै सङ्घर्ष गर्नुपरेको विवरणहरू प्रकाशित भएका छन्।

सोमवार र मङ्गलवार चीनले देशबाट बाहिर जाने वा देशमा भित्रिनेहरूलाई यात्रा सहज बनाइने घोषणा गरेको हो।

उसले चीन प्रवेश गर्नेले क्वारन्टीनमा बस्नुपर्ने नियम अन्त्य हुने र चिनियाँ नागरिकका लागि राहदानीको आवेदन खुला गर्ने घोषणा गरेको थियो।

यात्रु

अमेरिकाले बनाएको नियममा के छ ?
चीनको घोषणालगत्तै यात्रासम्बन्धी वेबसाइटहरू खोल्ने मानिसको सङ्ख्या उल्लेख्य रूपमा बढेको थियो।

केही देशहरूले आफ्ना यात्रा नियमहरू पनि पुनर्विचार गरेका छन्।

अमेरिकाले जनवरी ५ तारिखबाट चीन, हङ्‌कङ र मकाऊबाट आउने सबै यात्रुले अमेरिका भित्रिनुअघि कोभिड नभएको पुष्टि गर्नुपर्ने बताएको छ।

अमेरिकाको स्वास्थ्य मन्त्रालयका अनुसार यात्रुले विमान चढ्नुभन्दा ४८ घण्टाअघि आफूलाई कोभिड नभएको पुष्टि गर्नुपर्छ। त्यसका लागि पीसीआर वा र्‍यापिड एन्टिजन परीक्षण गर्नुपर्नेछ।

दश दिनभन्दा अघि कोभिड पुष्टि भएका मानिसहरूले सङ्क्रमणमुक्त भएकोभन्दा पनि आफूलाई निको भइसकेको कागज बुझाए हुने पनि जनाएको छ।

तेस्रो देशबाट उडान गर्ने र अमेरिकाबाट अर्को गन्तव्यमा जाने यात्रुका लागि यो नियम लागु हुने अमेरिकी स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

चिनियाँ महिला

मन्त्रालयले आफूले “अवस्थाको अनुगमन गरिरहने” र “आवश्यकताअनुसार” व्यवस्थापन गर्ने पनि जनाएको छ।

उसले बढ्दो सङ्क्रमण अनुगमनका लागि महत्त्वपूर्ण हुने कोभिडसम्बन्धी “पर्याप्त र पारदर्शी” तथ्याङ्क उपलब्ध गराउन दिन विफल भएको आरोप चीनलाई लगाएको छ। उक्त तथ्याङ्कले नयाँ भेरिअन्टको विकास हुने सम्भावना पनि घटाउँदै सहयोग पुग्ने जनाएको छ।

चीनमा कोभिडसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्न छोडिएका कारण त्यहाँ दैनिक देखिने सङ्क्रमित र मृतकको सङ्ख्या कति भन्ने थाहा छैन।

समाचारहरूमा पनि अस्पतालहरूमा मानिसको सङ्ख्या उल्लेख्य रहेको र वृद्धवृद्धाहरूको ज्यान गइरहेको खबरहरू आएका छन्।

Share Now

Leave a comment.