फर्नान्डो दुआर्ते /बीबीसी
साउपाउलो ब्राजिल), १५ पौष। विश्वका अहिलेसम्मै सबैभन्दा महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा ब्राजिलमा निधन भएको छ।
उनको निधनको घोषणा उनकी एक छोरीले गरेकी हुन् जो उनीसँगै साउपाउलोस्थित अस्पतालमा थिइन्।
उनका प्रबन्धक जो फ्रागाले यसको पुष्टि गरेका छन् ।इजराइलिटा अल्बर्ट आइन्स्टाइन अस्पतालले आन्द्राको क्यान्सरको फैलावटले बहुअंग काम गर्न नसक्ने भएर उनको निधन भएको जनाएको छ । उनको निधनमा संसारभरका खेलप्रेमीहरुले दुःख मनाउदै उनीप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।
१७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलाडीका रूपमा सुरु भएको उनको खेल जीवनमा उनले सन् १९५८ देखि १९७० को बीचका विश्वकप प्रतियोगितामा भाग लिए।
तीमध्ये तीन वटा ब्राजिल आफैँले जितेको थियो। जम्मामा उनले एक हजारभन्दा बढी गोल गरेका छन् जसमा धेरैजसो उनले घरेलु क्लब सान्तोसका लागि गरेका हुन्।
पेलेः सम्झनामा ‘फुटबलका सम्राट’
सम्झनामा पेले
बीबीसीका पत्रकार फर्नान्डो दुआर्तेले कैयौँ पटक पेलेलाई भेटेका थिए। भावनात्मक लेखमा उनले ‘किङ’ पेलेका रूपमा परिचित उनको प्रभाव र विरासतको व्याख्या गरेका छन्।
अन्तिम पटक पेलेसँग मेरो प्रत्यक्ष भेट सेन्ट्रल लन्डनस्थित ‘सबवे’को शाखामा रहेको काउन्टरपछाडि उनले स्यान्डवीच तयार गर्न सङ्घर्ष गर्दै गर्दा भएको थियो।
यो सन् २०१५ को मार्च महिनाको कुरा हो। ब्राजिलका यी फुटबल हस्ती कठिन परिस्थितिका कारण त्यहाँ पुगेका होइनन्।
अमेरिकी ‘फास्ट फुड’ कम्पनीका लागि उनी त्यहाँ पुगेका थिए। ब्रजिलमा ‘किङ’ पेलेका रूपमा परिचित उनले खेलजीवनपछि प्रवर्धन गर्ने कैयौँ कम्पनीमध्ये एक त्यो थियो।
त्यसअघि नै पेले र मबीच दुई चार चोटि प्रत्यक्ष भेट भइसकेको थियो जुन सञ्चारकर्मीहरूको भिडमा मलाई देख्दा उनी मुस्कुराउन पर्याप्त थियो।
”अस्पताल पुगेर तपाईँले सबैलाई चिन्तित तुल्याउनुभयो ‘किङ’,” मैले उनलाई भने।
”के तिमीले बिर्सियौ की मेरो जन्म त्रेस कोरासोइसमा [पोर्चुगलको भाषामा थ्री हार्ट्स अर्थात तीन वटा मुटु] भएको थियो। ‘तीन वटा मुटु’ भएको मान्छेलाई मार्न गाह्रो छ,” हाँस्दै उनले भने।
‘एभेन्जरसका कसैसँग भेटेजस्तो’

तस्बिर स्रोत,GETTY IMAGES
एक वर्षअघि जुरिखमा फिफाले आयोजना गरेको अवार्ड समारोहमा उनी निकै कमजोर देखिएका थिए।
ब्राजिलका पत्रकारहरूजस्तै म पनि उनी धेरै बाँच्दैनन् भन्ने सोचेर साँच्चिकै चिन्तित भएको थिएँ।
पेले पहिले देखिनै मिर्गौलाको समस्यासँग सङ्घर्षरत थिए। २१ वर्षको खेल जीवनका क्रममा विपक्षीहरूसँगको घम्साघम्सीका कारण उनले सन् १९७०को दशकमा एउटा मिर्गौला गुमाएका थिए।
फुटबलका प्रशंसक त्यसमा पनि खासगरी ब्राजिलका नागरिकका लागि याड्सन आरान्ज दो नासीमिएन्तुका रूपमा जन्म लिएका पेले ‘सुपर ह्युमन’ थिए — फुटबल खेल्ने सर्वकालीन महान् खेलाडी।
जसरी जोन लेननले एक पटक साङ्गितिक विधामा आफूलाई प्रभावित पारेका कारण रक एन्ड रोललाई ‘चक बेरी’ भनिनुपर्छ भनेका थिए त्यसै गरी फुटबललाई पेले भनिनुपर्थ्यो।
हालसम्म तीन पटक विश्वकप जित्ने एक मात्र खेलाडी पेले हुन् र सन् १९५८ मा ब्राजिलले पहिलो पटक विश्वकप उचाल्दा उनी १७ वर्षका थिए।
सदस्य थिए जुन अहिले पनि सबैभन्दा राम्रो टोलीमध्ये एक ठहरिन्छ।
उक्त प्रतियोगितामा पेलेको प्रदर्शनमाथि सबैभन्दा सुन्दर टिप्पणी इटलीको रक्षापङ्क्तिमा खेल्ने खेलाडी टारसिज्यो बुर्गनिसले गरेका थिए।
”खेलअघि मैले आफूलाई भने ‘सबैको जस्तै उसको शरीरमा पनि छाला र हड्डी छ’। तर म गलत थिएँ।”
फाइनल खेलमा पेलेले एक गोल गरे र थप दुई गोलका लागि पास मिलाए।
ब्राजिल अनि पेले दुवैले तेस्रो पटक विश्वकप उपाधि उचाले। खेल जीवनमा उनले गरेको १,२०० भन्दा बढी गोलमध्ये विश्वकपको फाइनल खेलमा त्यो एक गोल पनि समावेश छ।
अस्वाभाविक राष्ट्रिय सम्पत्ति
पेलेले यस्तो छाप छाडेका थिए जसले स्वर्गीय अमेरिकी कलाकार यान्डी वार्होललाई ख्यातिको क्षणिक प्रवृत्तिबारे उनको प्रख्यात भनाइ परिमार्जन गर्न प्रेरित गर्यो।
”मेरो भनाइ खण्डन गर्ने केहीमा पेले पर्छन्: १५ मिनेटको ख्याति नभएर उनीसँग त्यो १५ शताब्दीसम्म रहनेछ,”
वार्होलले अनुमान गरेका थिए।
सन् १९७३मा म जन्मनुअघि नै पेलेले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका थिए। तर ब्राजिलमा हुर्किँदा उनका उपलब्धिको कथाहरू बारम्बार सुन्नबाट उम्कन असम्भव थियो।
ब्राजिललाई विश्वको सबैभन्दा राम्रो फुटबल टोलीका रूपमा स्थापित गर्नुका साथै काला जातिका पुरुष पेलेले अझ महत्त्वपूर्ण काम पनि गरे: दासत्वको लाजमर्दो विगत र आजसम्म कायम रहेको पृथकताको विरासत भएको भूमिमा उनी राष्ट्रिय सम्पत्तिका रूपमा स्थापित हुन पुगे।

तस्बिर स्रोत,GETTY IMAGES
न्यूयोर्कदेखि सब सहारा अफ्रिका, म जहाँ जहाँ पुगेको छु त्यहाँ मेरो देश कुन हो भन्दा सबैले उल्लेख गर्ने पहिलो नाम पेले हो।
पेलेका आलोचक नभएका भने होइनन्। सन् १९६४ देखि १९८५सम्म ब्राजिलको निरङ्कुश सैन्य शासनविरुद्ध उनले आवाज उठाउनुपर्ने कतिपयको धारणा थियो।
निरङ्कुश शासनविरुद्ध आवाज नउठाउनेमा पेले एक्लै थिएनन्। उनका समकालीन साथीहरूले पनि त्यसबारे केही बोलेका थिएनन्। तर उनीहरूको व्यक्तित्व पेलेको जस्तो थिएन।
सन् २०२१ को नेटफ्लिक्स वृत्तचित्रमा पेलेले माफी मागे जस्तो भाव व्यक्त गर्दै सैन्य शासनका वर्षहरूमा भएका मानवअधिकार उल्लङ्घनहरूका विषयमा “फुटबल खेलाडीहरूले कुनै फरक नपार्ने” बताएका थिए।
“यदि मैले [उल्लङ्घनहरू] बारे मलाई थाहा छैन भनेँ भने त्यो झूट हुने छ। तर के भइरहेको थियो भन्नेबारे हामी निश्चित थिएनौँ।”
पछिका वर्षहरूमा पेलेले सेनाको विरोधमा १९७४को विश्वकप खेल्न अन्तर्राष्ट्रिय संन्यासबाट फर्कन अस्वीकार गरेको दाबी गर्ने गरेका थिए।
विश्लेषण, राजनीति अनि प्रचारप्रसार
आफ्नो खेल जीवनको बेला होस या संन्यास लिएपछि पेलेले ब्राजिलमा रङ्गभेदविरुद्ध भएका औपचारिक प्रयासहरूमा सक्रिय रूपमा संलग्नता जनाएनन्।
सन् २०१४मा ब्राजिलएन च्याम्पियनशिप खेलमा भएको जातीय दुर्व्यवहारको घटनालाई सामान्य बनाउन खोजेको भन्दै उनको व्यापक आलोचना भएको थियो।
पेलेको निजी जीवन पनि विवादास्पद थियो। उनका छोरा एडसन लागू औषध तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए।
त्यस्तै सन् १९६०को दशकमा प्रेम सम्बन्धपछि जन्म भएकी छोरी सान्ड्रालाई स्वीकार गर्नबाट उनी पन्छिएका थिए।
नेटफ्लिक्सको वृतचित्रमा पेलेले ”निकै धेरैसँग सम्बन्ध रहेका कारण कति छोराछोरी छन् आफूलाई थाहा नभएको” स्वीकार गरेका थिए।
अमेरिकाको पहिलो व्यवासायिक फुटबल लीगपश्चात् सन् १९७७मा उनले खेल जीवनबाट संन्यास लिए।
उनले प्रशिक्षक वा व्यवस्थापकको भूमिका कहिल्यै निर्वाह गरेनन्।
सन् १९७० मा ब्राजिलले लगातार तेस्रो पटक विश्वकपको उपाधि उचालेको थियो जुन रेकर्ड अहिलेसम्म कायमै छफुटबलमा उनको संलग्नता टेलिभिजन विश्लेषणमा सीमित रह्यो। लस एन्जलसको रोज बोल रङ्गशालामा ब्रजिलले सन् १९९४को विश्वकप जित्दा उनले ‘प्रेस बक्स’मा हेडफोन नखोलेरै तल माथि गर्दै उफ्रिएको दृश्यले अझै मेरो आँखाबाट आँसु झार्छ।
उनी एस्केप टु भिक्ट्री नामक चलचित्रका साथै केही टेलिभिजन श्रुखलामा पनि देखिएका थिए। सन् १९९५ देखि १९९८सम्म उनले ब्रजिलको खेलकुद मन्त्रीको भूमिका समेत निर्वाह गरे।
पेलेले अनगिन्ती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको प्रवर्द्धन गरेका थिए। कतिपय अवस्थामा यसका लागि उनको मजाक पनि उडाइन्थ्यो।
त्यस्तो उदाहरण सन् २०००को दशकमा उनले गरेको इरेक्टाइल डिस्फङ्सन (लिङ्गमा उत्तेजना नहुने समस्या)को औषधिको विज्ञापन पनि हो। तर पछि फर्किएर हेर्दा त्यो एक साहसी कदम थियो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका लागि ‘कोट’ गर्न पेले सबैभन्दा उचित व्यक्तिमध्ये एक थिए। उनले धेरै सोच विचार नगरेरै आफ्नो भनाइ राख्ने गर्थे। आफ्नै ख्याति प्राप्त सहकर्मीहरू निराश हुने भए पनि।
विश्वकप विजेता ब्रजिलिएन अग्रपङ्क्ति खेलाडी रोमारियोले एक पटक भनेका थिए ”पेले मुख रहेका कवि हुन्।”
कहिलेकाहीँ उनले गलत अनुमान पनि गर्ने गर्थे।
सन् १९७०को दशकमा उनले अफ्रिकी टोलीले ”२१औ शताब्दी अघि नै विश्वकप जित्ने” अनुमान गरेका थिए।
सन् १९९४मा आर्जेन्टिनालाई नराम्रोसँग हराएर विश्वकपमा छनोट भएको कोलम्बियाले विश्वकप जित्ने उनले अनुमान गरेका थिए। तर उक्त टोली अमेरिकासँग हार बेहोरेसँगै प्रतियोगिताको पहिलो चरणबाटै बाहिरियो।
‘खेलमा मेरो इतिहासले मलाई मेरो मनको कुरा गर्ने अधिकार दिन्छ’
तर यस्ता पूर्वानुमानबारे उनले आफ्नो बचाउ गर्ने गरेका छन्।

”मलाई लाग्छ की खेलमा मेरो इतिहासले मलाई मेरो मनको कुरा गर्ने अधिकार दिन्छ,” सन् २००६मा बर्लिनमा उनले मलाई भनेका थिए।
त्यसबेला एउटा ‘लक्जरी’ होटेलको सुइटमा पेले र उनका कर्मचारीसँग बसेर विश्वकपको नकआउट चरण अन्तर्गत इङ्गल्यान्ड र इक्वेडरबीचको खेल हेर्ने मैले अर्को गज्जबको मौका पाएको थिएँ।
त्यो साँझ उनले आफूबारे ‘अनुचित आलोचना गर्ने’ डिएगो म्याराडोनासहित सबै जना र सबै कुरा बारे खुला रूपमा आफ्नो धारणा राखेका थिए।
ती सब कुरा गज्जबको कडा लेख बन्न सक्थ्यो। तर ‘किङ’ले स्पष्ट पारेका थिए: ”तिमी यहाँ साथीका रूपमा छौँ। पत्रकार होइन।”
उनी विरुद्ध जाने म को नै थिए र?
तर उक्त प्रतियोगिताको क्वाटर फाइनलमा फ्रान्सले ब्राजिललाई हराएपछि नतिजाबारे पत्रिकाका लागि उनले दिएको एक मात्रै अन्तर्वार्ता मैले लिएको थिए।
फुटबलमा लियोनल मेस्सीको अविश्वसनीय आगमनसँगै कैयौँले पेलेलाई सर्वकालीन महान् खेलाडीको सूचीमा मेस्सीले उछिनेको धारणा व्यक्त गर्ने गरेका छन्। तर यी ब्रजिलियन महान् खेलाडी त्यस्तो ठान्दैनन्।
”म टाउकोले गोल गर्न सक्थेँ र दुवै खुट्टाले बल हान्न सक्थेँ। मेस्सीले देब्रे खुट्टा बढी प्रयोग गर्छन्। उनले एक हजार गोल पनि गर्नुपर्ने हुन्छ,” लन्डनमा पेलेले मलाइ भनेका थिए।
ती आर्जेन्टिनी खेलाडीसँग अझै तीन वटा विश्वकप नभएको फेरि एक पटक पेलेलाई व्यक्तिगत रूपमै भेटेर म भन्न चाहन्थेँ।
त्यसले किङलाई हसाँउथ्यो। र म त्यो हाँसोलाई निकै याद गर्ने थिएँ।


















