Prakash Adhikari January 23, 2023

काठमाडौं, ९ माघ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्ने भएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बैठक बस्न लागेको हो ।

बिहान १० बजेका लागि तय भएको बैठकमा समसामयिक राजनीति र आगामी १५ गतेदेखि हुने पार्टीको केन्द्रीय समितिको बैठकका सन्दर्भमा छलफल हुने बताइएको छ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक माघ १५ गतेका लागि बोलाइएको छ।

पार्टी सभापति देउवा केन्द्रीय समितिको बैठक पहिले नेपाल विद्यार्थी संघ,नेपाल तरुण दल, नेपाल महिला संघ र नेपाल किसान संघको तदर्थ कार्य समिति बनाउने तयारीमा पनि हुनुहुन्छ । यी भातृ संस्थाहरुको अध्यक्ष मात्र मनोनीत भएका छन् ।

यस बाहेक पार्टीका विभागहरुको संयोजक तोक्ने र विभागलाई पूर्णता दिनुपर्ने खाँचो पनि छ ।

आफ्नै नेतृत्वमा गठबन्धनको सरकार निर्माण गर्नका लागि निर्वाचन पहिले नै गठबन्धन गरेर चुनावमा होमिएको कांग्रेसलाई छोडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेको समर्थनमा प्रधानमन्त्री बन्न गएपछि नेपाली कांग्रेसको नेतृत्व नेता र कार्यकर्तासहित शुभेच्छुकहरुमा पनि आलोच्य भएको छ । धोका दिने माओवादी गाली खाने कांग्रेस नेतृत्व भएको छ ।

नेपाली कांग्रेसको संस्थापन इतर समूहको हिजो भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको निश्कर्ष निकालेको छ।

नेपाली कांग्रेसले आफूलाई धोका दिएको नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको थियो भने सभामुख र उपसभामुखमा आफ्ना उम्मेदवार दिएको थियो । तर दुवै पदमा कांग्रेसका उम्मेद्वारहरु पराजित भए ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल भए पनि नेकपा माओवादीका अध्यक्ष प्रचण्डले धोका दिएर एमालेसंग गठबन्धन गर्न गएपछि नेपाली कांग्रेसले केन्द्र र प्रदेश सरकारका साथै संसदका सभामुख र उपसभामुख पद पनि गुमाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्य पदहरुमा ठूला दलबीच सहमति गर्ने आश्वासन दिनुभए पनि सभामुख र उपसभामुखको निर्वाचनमा त्यस्तो संकेत देखिएको छैन । अब हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्व थोरै आशावादी छ तर कार्यकर्ताहरुलाई भने धेरै संशय लागि सकेको छ ।

Share Now

Leave a comment.