Prakash Adhikari February 3, 2023

धनगढी(कैलाली), २० माघ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ। बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई काठमाडौंबाट धनगढी हुँदै कैलाली लगिएको थियो।

चौधरीलाई जिल्ला अदालतले कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो।

१० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैदको फैसला सुनाएको थियो।

मुद्दा परेपछि फरार रहेका कारण कैद भुक्तान गर्नपर्ने भएको हो। सुरुमै म्याद गुजारेका कारण अदालतले चौधरीलाई पुनरावेदनको म्याद समेत दिएको थिएन।

अब जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेपनि सांसद चौधरी थुनामै बस्नुपर्नेछ। ट्याक्टर जलाउन कार्यमा दोषी ठहर सबैलाई ८ लाख १९ हजार ४ सय २३ रुपैंया बिगो भराउने फैसला भएको छ।

अदालतको आदेशपछि सांसद चौधरीलाई कुन कारागार लाने भन्ने टुंगो लाग्नेछ।

चौधरीसहित पर्शुराम चौधरी र बिरबहादुर चौधरीविरुद्ध २०७० वैशाख ९ गते ६ महिना कैद र उक्त बिगो भराउने फैसला भएको थियो।

कैलाली–२ बाट प्रतिनिधिसभा निर्वाचित सांसद चौधरी पक्राउ परेसँगै सांसदबाट पनि निलम्बनमा पर्नुभएको छ ।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको आरोपमा २०६७ भदौ २ गते जिल्ला अदालत कैलालीमा उहाँसहित अन्यलाई महादेव बजगाईंले मुद्दा दायर गर्नुभएको थियो।

Share Now

Leave a comment.