काठमाडौं, २३ माघ । पार्टीको निर्देशन अनुरुप आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सोमबार दिउँसो पत्रकार सम्मेलन गर्ने जानकारी सो पार्टीले दिएको छ।
पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा हुने छ ।
नागरिकता मुद्दामा सांसद पदसहित उपप्रधान तथा गृहमन्त्री पद गुमाउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता पुनः प्राप्त गरिसकेपछि गैर सांसदको रुपमा गृहमा फर्कन कोशिस गर्नुभएको थियो । तर सर्वोच्चको फैसलाको पूर्ण पाठ नआएको, राहदानी मामलामा सफाई नभएको र आफूलाई पार्टीभित्रबाट गृहमन्त्रालय अरुलाई नदिन र सत्ताको लागि अनावश्यक संझौता नगर्न दबाब आएको तर्क दिएर प्रधानमन्त्री पुष्पकमल दाहालले उहाँलाई गृहमा फर्कन दिनुभएन ।
आफू पुनः मन्त्री हुन नपाएका झोंंकमा पार्टीको संसदीय दल र केन्द्रीय समितिको सयुक्त बैठकबाट पार्टी सरकारबाट निस्कने निर्णय गराईदिनुभयो सभापति रवि लामिछानेले ।
सरकारबाट बाहिरिने निर्णय लगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर तीन जना मन्त्रीहरुले राजीनामा बुझाउनुभएको थियो।
आज निवर्तमान मन्त्रीहरुले आफूहरुले सरकारमा रहदा गरेको कामको विवरण सार्वजनिक गर्नुहुने अनुमान गरिएको छ ।


















