Prakash Adhikari February 9, 2023

सोलुखुम्बु, २६ माघ । सोलु जिल्लामा निर्माण भएको ८६ मेगावाट क्षमताको सोलु दुधकोशी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन परीक्षण सुरु भएको छ ।

निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजनाले बुधबारबाट विद्युत् परीक्षण थालेको हो ।

थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चनमा मुख्य विद्युत गृह रहेको उक्त आयोजनाको परीक्षण केही दिनसम्म जारी रहने सहास ऊर्जा कम्पनी लिमिटेडका जनसम्पर्क अधिकृत कैलाश निरौलाले बताउनुभएको छ ।

यो आयोजना निजी क्षेत्रले निर्माण सम्पन्न गरेको सबैभन्दा ठूलो र देशको तेस्रो ठूलो आयोजना हो । आयोजनाको विद्युत् १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिङ्लास्थित लाम्माने सबस्टेसनमा जोडिनेछ । विद्युत् गृहदेखि सबस्टेसनसम्मको आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरेको हो ।

आयोजनाबाट वार्षिक ५२० गिागावाट घन्टा (५२ करोड युनिट) विद्युत् उत्पादन हुनेछ । कम्पनीका अनुसार हिउँदमा १००.२७ गिगावाट घन्टा (१० करोड दुई लाख ७० हजार युनिट) र वर्षामा ४१९.९३ गिगावाट घन्टा (४१ करोड ९९ लाख ३० हजार युनिट) विद्युत् उत्पादन हुनेछ ।

यसअघि २०७८ चैतबाट नै विद्युत् उत्पादन सुरु गर्ने तालिका भए पनि कोभिड–१९ महामारीको प्रभाव, प्रसारण लाइन निर्माणमा भएको ढिलाइ, उपकरण ढुवानी समस्यालगायतले व्यवसायिक उत्पादन तालिका सरेको कम्पनीले जनाएको छ ।

यो आयोजना सम्पन्न गर्न करिब ११ अर्ब ८६ करोड रुपैयाँ लागेको अनुमान गरिएको छ ।

आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईम ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । बाँकी २ अर्ब ४५ करोड रुपैयाँ संस्थापक र १ अर्ब छ करोड रुपैयाँ साधारण सेयरबाट जुटाइएको छ ।

Share Now

Leave a comment.