काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा आफ्नो कार्यकालको अन्तिम सम्बोधन गर्दै शुक्रवार देशमा सुधार गर्नुपर्ने पक्षहरूबारे संसद् र सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।
विसं २०७४ फागुन २९ गते दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी भण्डारीको पाँचवर्षे कार्यकाल आगामी फागुन २९ गतेबाट सकिन लागेको छ। यो उहाँको दोस्रो कार्यकाल हो।
निर्वाचन आयोगले नयाँ राष्ट्रपति चयनका लागि फागुन २५ गते निर्वाचन र त्यसअघि १३ गते मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ।
पूर्वनिर्धारित आफ्नो सम्बोधनमा भण्डारीले देशको विकासको समग्र अवस्था लगायत शिक्षामा सुधार, रोजगारी वृद्धि, व्यापार घाटा सन्तुलन, शान्ति सुव्यवस्था लगायतका विषयमा चिन्ता व्यक्त गर्नुभयो।
“देशको आर्थिक अवस्था जटिल मोडमा रहेको विषयप्रति सबै जानकार र चिन्तित छौँ। अर्थतन्त्रमा देखिएका तत्कालीन, अल्पकालीन र दीर्घकालीन समस्याको समाधान खोज्नु जरुरी छ,” राष्ट्रपति भण्डारीले भन्नुभयो, “सूचकहरूमा पछिल्लो केही सकारात्मक सङ्केत देखा परेको भएता पनि यसको दिगोपनामा आश्वस्त भइहाल्ने अवस्था देखिएको छैन।”
राष्ट्रपति भण्डारीले कृषकले समयमा मल र बीउ नपाएको विषयदेखि युवाहरू रोजगारीका लागि बिदेसिनुपरेका समस्यासम्म आफ्नो सम्बोधनमा औँल्याउनुभएको छ।
उहाँले महिलामाथि हुने हिंसाका घटनामा कमी नआएको र विकास आयोजनाहरू समयमै नसकिएको विषयमा समेत सरकार र संसद्को ध्यानाकर्षण गराउनुभयो।
“मैले आफ्नो सात वर्षको अनुभवमा आफूले देखेका केही मूल विषयहरू मात्र यहाँ राखेकी छु। यी बाहेकका थुप्रै काम गर्नुपर्नेछ,” उहाँले भन्नुभयो।
वर्तमान सरकार गठन भएपछि नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम अघि सारेको भन्दै उहाँले थप्नुभयो, “यसलाई नतिजा प्राप्त हुनेगरी तत्कालै कार्यान्वयनमा लैजानेछ भन्ने मेरो विश्वास छ।“
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा आफूले औँल्याएका विषय सम्बोधनका लागि “आवश्यक स्रोत व्यवस्थापन गर्ने विश्वास” राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभएको छ।
मदन भण्डारीको निधनपछि सक्रिय राजनीतिमा
राष्ट्रपति निर्वाचित हुनुअघि लामो समय नेकपा एमालेको सक्रिय राजनीति र महिला अधिकारकर्मीको भूमिकामा रहेकी भण्डारीले राष्ट्रप्रमुखको कार्यकाल सकिएपछि सक्रिय राजनीतिमा रहने वा नरहनेबारे धेरैले चासो राख्ने गरेका छन्।
नेपालको आधुनिक इतिहासमा पहिलो महिला राष्ट्रप्रमुख बन्नुभएकी भण्डारी २०७२ साल कार्तिक ११ गते दोस्रो राष्ट्रपतिका रूपमा पहिलो पटक यो पदमा पुग्नुभएको हो। नेपालमा दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाउने व्यवस्था छ।
भोजपुरको मानेभन्ज्याङमा विसं २०१८ असार ५ गते जन्मिनुभएकी भण्डारीले नेकपा एमालेका पूर्वमहासचिव मदन भण्डारीसँग विवाह गर्नुभएको थियो।
विसं २०५० साल जेठ ३ गते चितवनको दासढुंगा भएको सडक दुर्घटनामा निधन भएपछि गरिएको उपनिर्वाचनमा नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराउँदै भण्डारी पहिलो पटक सांसद बन्नुभएको थियो।
एमालेले दासढुङ्गामा भएको उक्त घटनालाई ुरहस्यमय हत्याकाण्डु भन्दै आएको छ।
विद्या भण्डारीले गरेका दुई उल्लेख्य काम
संवैधानिक राष्ट्रपतिसँग सीमित अधिकार भए पनि भण्डारीले महिला र बालबालिकाका पक्षमा उल्लेख्य काम गरेको महिला राजनीतिज्ञहरू बताउँछन्।
“प्रजनन अधिकारसँग सम्बन्धित केही कामहरू उहाँले गर्नुभयो। विशेषगरी दुर्गम क्षेत्रका महिला सुत्केरी हुन नसक्दा उद्धारका कुराहरू नयाँ हिसाबबाट गर्नुभयो,” पूर्वसांसद तथा एमाले नेत्री बिन्दा पाण्डे भन्नुहुुुुुन्छ।
भण्डारीले दुर्गम क्षेत्रमा प्रसूतीसँग सम्बन्धित समस्या भएका महिलाको हवाई उद्धारका लागि ुराष्ट्रपति महिला उत्थान कार्यक्रमु सुरु गर्नुभएको थियो ।
“विद्यालयलाई सुधार गर्न पनि उहाँले पहल गर्नुभयो र सरकारले त्यसलाई राखिदियो,” उहाँले भन्नुभयो।
भण्डारीको अग्रसरतामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरूमा पूर्वाधार र गुणस्तर सुधारको कार्यक्रमका लागि ३ हजार भन्दाबढी विद्यालयहरु छानिएका छन्।
“तर उहाँले महिला त्यसमाथि एकल महिला भएको हिसाबले सुरुदेखि अन्तिमसम्म नै विभेदको सामना गरिरहनुपर्यो। मन्दिरमा पस्दा सुनपानी छर्किनेदेखि अन्तिमसम्म ुसेतो सारीु भन्ने आक्रमण सहनुपर्यो,” पूर्वसांसद पाण्डे भन्नुहुन्छ।
मदन भण्डारीको निधन भएपछि भएको निर्वाचनमा सेतो सारी लगएर मत माग्न गएको भन्दै विद्या भण्डारीको विपक्षीहरूले आलोचना गर्दै आएका थिए।
पूर्वउपसभामुख तथा नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल पनि राष्ट्रपति भण्डारीले सामाजिक मुद्दामा सकारात्मक काम गरेको बताउँछिन्।
“महिलाले राष्ट्रपति पद प्राप्त गरेको नेपालको सन्दर्भमा आफैँ ऐतिहासिक हो। उहाँले महिला र बालबालिका सहित सामाजिक न्यायसँग जोडिएका विषयवस्तुमा चासो लिने सरोकारवालाहरूलाई पनि बोलाएर अन्तर्क्रिया गर्ने कामहरू गर्नुभयो, त्यो सकारात्मक हो,” भुसालले भन्नुभयो।
यी घटनाका कारण विवादमा राष्ट्रपति भण्डारी

राष्ट्रपतिमा रूपमा विद्यादेवी भण्डारीको भूमिका विवादरहित भने रहेन।
उहाँले संवैधानिक राष्ट्रपतिको “सीमाभन्दा बाहिर” आएर कतिपय अवस्थामा ूसक्रिय भूमिकामाू पनि देखाएको आरोप आलोचकहरूले लगाउने गरेका छन्।
राष्ट्रपति भण्डारीले तात्कालिक प्रधानमन्त्री केपी ओलीले दुई पटक संसद् विघटनका लागि गरेका विवादास्पद सिफारिस तत्कालै अनुमोदन गर्नुभयो।
सङ्घीय संसद्ले दोहोर्याएर पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरी रोकिदिएपछि राष्ट्रपति भण्डारीको आलोचना भएको थियो।
कांग्रेस नेत्री भुसाल राष्ट्रपतिको यस्तो भूमिकालाई संविधानले नचिनेको बताउनुहुन्छ।
“संविधानले व्यवस्था गरेको तटस्थ भूमिका निर्वाह गर्नुपर्नेमा विभिन्न घटनाक्रमले उहाँलाई विवादमा पुर्यायो र सक्रिय राष्ट्रपतिको अनुभूति पनि गरायो,” भुसालले भन्नुभयो।
“उहाँ ती विवादबाट मुक्त हुनुपर्थ्यो तर सक्नुभएन। यो भोलिका लागि पनि शिक्षा हो।”
एमाले नेत्री पाण्डे पहिलो राष्ट्रपतिको भूमिका पनि विवादरहित नरहेको बताउनुहुन्छ। तर राष्ट्रपति भण्डारीले सुधार गर्न सक्ने केही ठाउँहरू भए पनि त्यसमा चासो नदिएको उहाँ स्वीकार गर्नुहुन्छ
“हिजो रामवरणजी राष्ट्रपति हुँदा पनि कतिपय कुराहरू विवादास्पद थिए, अहिले पनि रहे। तर कामको हिसाबले उहाँले अलिकति थप गर्नुभयो,” पाण्डेले भन्नुभयो।
‘सुधार गर्न सकिन्थ्यो’
राष्ट्रपति भण्डारी शुक्रवार संसद् भवन जाँदा पनि सडकमा सर्वसाधारणको हिँडडुल बन्द गरियो। लामो समयदेखि सर्वसाधारणले जनताबाट निर्वाचित राष्ट्रपतिको सवारीमा सडकमा हुने आवागमन बन्द गरिएको विषयमा आलोचना र विरोध गर्दै आएका छन्।
कांग्रेस नेत्री भुसाल राष्ट्रपतिमा दुई कार्यकाल बिताएकी भण्डारीले यस्ता विषयको सम्बोधन गरेको भए राम्रो हुने बताउनुहुन्छ।
“जनताको चाहाना र अपेक्षाअनुसार नै राज्यका अङ्गहरू चलिदिँदाखेरि सकारात्मक सन्देश प्रवाह हुन्छ,” उहाँले भन्नुभयो।
“यसलाई अलिकति घटाउँदै लैजानुपर्ने हुन्छ। आलोचितभन्दा पनि जनताको आस्थाको बिन्दु पनि बनाउनुपर्छ।”(बीबीसी)


















