धनगढी(कैलाली), २८ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले रेशम चौधरीलगायत टीकापुर घटनामा जेल जीवन विताइरहेका बन्दी रिहाइको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
शनिबार बिहान नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको घरमै पुगेर मुख्यमन्त्री शाहले बन्दी रिहाइको पहल गर्ने बताउनुभएको हो ।
मुख्यमन्त्री नियुक्त भएपछि पहिलो पटक शाह कैलालीको जानकी गाउँपालिका ६ जगतपुरस्थित चौधरीको निवासमा पुग्नुभयो ।
मुख्यमन्त्री शाहले चौधरीकी आमा र परिवारका अन्य सदस्यलाई भेटेर काठमाडौंको डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीको रिहाइका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । मुख्यमन्त्री शाहले टीकापुर घटना राजनीति आन्दोलनका क्रममा घटेको घटना भएकाले यसले सामाजिक सद्भावमा ठेस पुगेको बताउनुभयो ।
टीकापुर घटनालाई राजनीतिक रूपमा हेरिनुपर्ने भन्दै मुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन पहल गर्ने आश्वासन दिनुभयो । मुख्यमन्त्री शाहले भन्नुभयो ‘टीकापुर घटनालाई राजनीतिक रूपमा हेरिनुपर्छ र त्यही हिसाबले समाधान हुनुपर्छ, छिटो भन्दा छिटो रेशमको रिहाइ र टीकापुर घटनाका बन्दीहरुलाई छुटाउने अभियानमा म आजैदेखि लागिसकें ।’
उहाँले आफू पदमा बहाल नरहँदापनि राजबन्दीहरु रिहाइ हुनुपर्नेमा जोड दिँदै आएको बताउनुभयो । शाहले भन्नुभयो, ‘यसअघि कुनैपनि पदीय जिम्मेवारीमा थिइन तरपनि मैले यस सन्दर्भमा आवाज उठाउँदै आएको थिएँ । अब मेरो काँधमा थप जिम्मेवारी थपिएको छ । त्यसैले मैले गर्न सक्ने पहल म गर्छु ।’
रेशम चौधरी रिहाइलाई नै प्रमुख माग र मुद्दा बनाउँदै आएको नागरिक उन्मुक्ति पार्टीले यसअघि मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको सरकारलाई विश्वासको मत नदिएपछि सरकार ढलेको थियो ।
प्रदेशमा निर्णायक शक्ति मानिएको नागरिक उन्मुक्ति पार्टीलाई साथमा लिन मुख्यमन्त्री शाहले छलफललाई अघि बढाउनुभएको हो ।
प्रदेशमा बहुमत जुटाउन २७ सांसदको समर्थन चाहिन्छ । यसअघि नेकपा एमाले नेतृत्वको सरकार नागरिक उन्मुक्तिले साथ नदिएपछि एक महिनामै ढलेको थियो ।
शाहले शुक्रबार पदभार ग्रहण गर्दै विश्वासको मत पाउने दाबी गर्नुभएको छ।
सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका उपसभामुखबाहेक ९, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन् ।


















