काठमाडौं, १३ फागुन । राष्ट्रपति निर्वाचन अन्तर्गत दलहरूले शनिवार भावी राष्ट्रप्रमुखका लागि आआफ्ना उम्मेदवारहरूको मनोनयन दर्ता गराउँदै छन्।
उक्त महत्त्वपूर्ण संवैधानिक पदका लागि हुने निर्वाचनले झन्डै दुई महिनाअघि निर्माण भएको वर्तमान सत्ता गठबन्धनको भविष्य सङ्कटतर्फ धकेलिदिएको कतिपय विश्लेषकहरूले टिप्पणी गरिरहेका छन्।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससहितका आठ दलले शुक्रवार कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका थिए।
त्यसप्रति प्रतिक्रिया दिँदै एमालेका नेताहरूले माओवादी केन्द्रले आफ्नो दलसँगको सहमति पालना नगरेर धोका दिइरहेको बताएका छन्।
राष्ट्रपतिका उम्मेदवार तय गर्न कांग्रेस र एमाले दुवै दलका बैठक बस्दैछ।
एमालेका नेता एवं पूर्व मन्त्री गोकर्ण विष्टले बीबीसीसँग भन्नुभएको छ, “राष्ट्रपतिको उम्मेदवार र सबै सन्दर्भमा पार्टीको पदाधिकारी बैठकमा समीक्षा गर्छौँ र एउटा निर्णयमा पुग्छौँ।”
सामाजिक सञ्जाल फेसबुकमा एमालेका अर्का नेता गोकुल बास्कोटाले सरकारमा ‘कथित वामपन्थी सहकार्य’ समाप्त भएको भन्दै एमाले अब आफ्नै लयमा अघि बढ्नुपर्ने टिप्पणी गर्नुभएको छ।
अबको प्रक्रिया कस्तो छ ?
निर्वाचन आयोगले राष्ट्रपति पदका उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने समय शनिवार १० बजेदेखि ३ बजेसम्मका लागि तय गरेको छ।
निर्वाचन आयोगका अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरूको सूची शनिवार नै प्रकाशित गरिनेछ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्नुहुन्छ, “शुक्रवार नै हामीले मतदाताहरूको अन्तिम नामावली प्रकाशित गरिसकेका छौँ। उम्मेदवार मनोनयन र निर्वाचन प्रयोजनका लागि कार्यालय स्थापना गरेर हामी तयार अवस्थामा छौँ।”
आयोगले प्रकाशित गरेको मतदाताको सूचीमा राष्ट्रिय सभा र प्रतिनिधिसभाका गरी ३ सय ३२ जना र प्रदेश सभाका ५ सय ५० जना सदस्य रहेका छन्।

राष्ट्रपतिको कार्यालय :गणतन्त्र स्थापना भएयता नेपालमा दुई जना राष्ट्रपति निर्वाचित भएका छन्
उम्मेदवारको विरुद्धमा उजुरी दिन १४ गते र त्यसबारेमा जाँचबुझ गरी निर्णय गर्नका लागि १५ गते सम्मको समय तोकिएको छ।
त्यसपछि प्रकाशित हुने उम्मेदवारहरूको नामावलीबाट कसैले नाम फिर्ता लिन चाहेको खण्डमा फागुन १६ गते समय दिइएको छ। त्यही दिन उम्मेदवारहरूको अन्तिम नामावली पनि प्रकाशित गरिनेछ।
मतदान गर्नका लागि भने फागुन २५ गते १० बजेदेखि ३ बजेसम्मको समय तय गरिएको छ।
मतदान सम्पन्न भएको केही घण्टाभित्रै परिणाम सार्वजनिक गर्ने लक्ष्य आफूहरूको भएको निर्वाचन आयोगका प्रवक्ता पौडेलले बताउनुभएको छ ।
निर्वाचन आयोगले राष्ट्रपति चुनावका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा निर्वाचन कार्यालय स्थापना गरेको छ।
प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका सदस्यले त्यहाँ आएर फागुन २५ गते मतदान गर्नेछन्।
कानुनले निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेखमा राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन गराउनुपर्ने व्यवस्था गरेकाले सबै प्रदेशसभा सदस्य पनि भोट खसाल्न काठमाडौं आउने प्रवक्ता पौडेलले बताउनुभयो।
राष्ट्रपतिको निर्वाचन प्रक्रिया
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ।
संविधानअनुसार नेपालको राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रहन्छन्। राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिको कार्यभारसमेत सम्हाल्ने जिम्मेवारी उपराष्ट्रपतिले पाउँछन्।
संविधान तथा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी कानुनअनुसार मतभार निकाल्न नेपालको ताजा जनगणनाको नतिजा आवश्यक पर्छ।

राष्ट्रपतिको निर्वाचन गराउने संवैधानिक जिम्मेवारी निर्वाचन आयोगको हो
पछिल्लो जनगणनाको अन्तिम विवरण सरकारलाई बुझाउन बाँकी नै रहेको भन्दै यसपाली विसं २०६८ सालको जनगणनालाई नै आधार बनाइएको छ।
अहिले सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ।
संविधानअनुसार सङ्घीय र प्रदेशसभातर्फका तत्काल कायम रहेका कुल सदस्य सङ्ख्याको बहुमत अर्थात् ५० प्रतिशत मत ल्याउने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ।
यदि पहिलो निर्वाचनमा कसैले ५० प्रतिशत मत नल्याए सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन्छ र बहुमत ल्याउने व्यक्ति राष्ट्रपति बन्छन्।
दोस्रो निर्वाचनमा पनि ५० प्रतिशत कसैले ल्याउन नसकेमा पुनः मतदान हुनेछ र त्यसमा कुल सदर मतको सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति हुनेछ।
सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच लगभग १ हजार मतभारको अन्तर रहेको आँकडाहरूले देखाउँछ।
निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेका व्यक्ति राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने संवैधानिक व्यवस्था छ।
राष्ट्रपति निर्वाचनका क्रममा उम्मेदवारी दर्ता गर्दा उम्मेदवारको पाँचजना प्रस्तावक र पाँचजना समर्थक हुनुपर्ने व्यवस्था छ।
त्यस्ता प्रस्तावक र समर्थकको नाम मतदाता नामावलीमा भने हुनुपर्नेछ।
राष्ट्रपति हुनका लागि कस्ता छन् योग्यता?
संविधानको धारा ६४ मा कस्तो व्यक्ति नेपालको राष्ट्रपति बन्न हुन सक्छ भन्ने योग्यता तोकिएको छ। उक्त धाराअनुसार सङ्घीय संसद्को सदस्य हुन योग्य भएको व्यक्ति राष्ट्रपति हुन सक्छ।
राष्ट्रपति हुनका लागि ४५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्छ। कुनै कानुनले अयोग्य ठहर नगरेको व्यक्ति मात्र नेपालको राष्ट्रपति हुनसक्छ।

यद्यपि योग्यता पुगे पनि नेपालको संविधानअनुसार दुई पटक राष्ट्रपति भइसकेको व्यक्ति तेस्रो पटक राष्ट्रपतिको उम्मेदवार बन्न पाउँदैन।
उपराष्ट्रपतिका हकमा पनि सोही योग्यता लागु हुने संविधानको धारा ६९ मा व्यवस्था छ। संविधानको धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिङ्ग वा समुदायको हुने व्यवस्था गरेको छ।
त्यसको अर्थ महिला राष्ट्रपति भए पुरुष उपराष्ट्रपति वा पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्छ। समुदायका हकमा नेपालको जातीय समुदाय अनुसार फरकफरक समूहको हुनुपर्छ।
त्यस्ता समुदायलाई राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी कानुनले समुदायका रूपमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू वा मुस्लिम समुदाय रहेको व्याख्या गरिएको छ।
उक्त प्रावधान लागु भएको प्रत्याभूति गर्नका लागि नेपालमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरकफरक समय गर्ने अभ्यास छ।
निर्वाचन आयोगले उपराष्ट्रपति पदको चुनाव चैत्र ३ गते गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ।
राष्ट्रपति निर्वाचनमा के नेपाली कांग्रेसले माओवादीको साथ पाउला
नेपालको संविधानको धारा २८९ ले राष्ट्रपति र उपराष्ट्रपतिसहित सङ्घीय र प्रदेशतर्फका उच्च पदहरूमा वंशजका आधारमा नेपालको नागरिकता पाएका व्यक्ति मात्र उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ।
प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र सुरक्षा निकायका प्रमुख पदमा पनि निर्वाचित, मनोनीत वा नियुक्ति हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने व्यवस्था उक्त धारामा गरिएको छ।
राष्ट्रपति हुनका लागि कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र कुनै लाभको पदमा नरहेको हुनुपर्ने व्यवस्था पनि छ।
लाभको पद भन्नाले निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पद बाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने पदलाई मानिएको छ।
तेस्रो राष्ट्रपतिको खोजी

डाक्टर रामवरण यादव : नेपालको पहिलो राष्ट्रपति डाक्टर रामवरण यादव संविधान जारी नभएसम्म उक्त पदमा हुनुहुन्थ्यो
नेपालमा २०६२र२०६३ को जनआन्दोलनपछि भएको राजनीतिक परिवर्तनका क्रममा गणतन्त्रात्मक शासन व्यवस्था अङ्गीकार गरिएको थियो।
संविधानसभाको पहिलो बैठकले रामवरण यादवलाई पहिलो राष्ट्रपतिका रूपमा निर्वाचित गरेको थियो।
दोस्रो संविधानसभाले नयाँ संविधान जारी गरेपछि यादव राष्ट्रपतिबाट बिदा हुनुभएको थियो।
गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी संविधानसभाले नयाँ संविधान जारी गरेपछि निर्वाचित भएकी पहिलो राष्ट्राध्यक्ष हुनुहुन्छ।
विक्रम सम्वत २०७२ सालको कार्तिकमा उहाँ राष्ट्रपति निर्वाचित हुनुभएको हो।
नेपालको पहिलो महिला राष्ट्रप्रमुख रहनुभएकी भण्डारी विक्रम सम्वत २०७४ फागुनमा दोस्रो कार्यकालका लागि चुनिनुभएको थियो ।
दुवै राष्ट्रपतिहरू आफ्नो कार्यकालमा कैयौँ राजनीतिक र क्षेत्राधिकारसम्बन्धी विवादहरूमा तानिएका थिए।(बीबीसीबाट)


















