Prakash Adhikari February 26, 2023

दुबाई(युएई), १४ फागुन(एजेन्सी) । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्न अब बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने भएको छ । अन्तिम खेलमा नामिबियाले युएईलाई ७ विकेटले हराएसँगै उक्त समीकरण बनेको हो।

आइसीसी विश्वकप लिग–२ का शीर्ष तीन टोलीले आगामी जुन जुलाईमा जिम्बावेमा हुने सोझै विश्वकप छनोट खेल्न पाउनेछन् ।

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारसहित ५० अंकका साथ च्याम्पियन बन्दै विश्वकप छनोटमा पुगेको छ ।

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेको छ । अव नेपाल, नामिबिया र युएई मध्य एक टोली शीर्ष तीनमा रहँदै विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।

नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित छैटौं स्थानमा छ । युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ । नामिबियाले ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकमा अन्त्य गरेको छ ।

नेपालले अब युएईसँग चार र पपुवा न्युगिनीसँग चार खेल खेल्नेछ ।

युएईले नेपाल र पपुवा न्युगिनीसँग ४ ४ खेल खेल्ने छन् । नेपाल, पपुवा न्युगिनी र युएईबीच दुबईमा सोमबार त्रिकोणात्मक ओडिआई सिरिज चल्नेछ । त्यसपछि यी तीन टोलीबीच टियु मैदानमा लिग २ को अन्तिम त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।

नेपालले नामिबियालाई पछि पार्न ८ मध्य ७ खेल जित्नुपर्ने हुन्छ । नेपालले सबै खेल जित्दा ४२, ७ खेलमा जित्दा ४० र ६ खेल जित्दा ३८ अंक हुनेछ ।

३८ अंक शीर्ष तीनमा पर्न पर्याप्त हुनेछैन । किनभने नामिबियाको ३९ अंक छ । त्यसैले नेपालले ८ मध्ये ७ खेल जितेको खण्डमा शीर्ष तीनमा पर्नेछ । नेपालले कम्तिमा युएईलाई अब चार मध्य तीन खेलमा हराउनु पर्ने हुन्छ ।

युएई नेपालसँग तीन खेलमा हार र बाँकी सबै पाँच खेलमा जित निकाल्दा ३९ अंकमा मात्रै पुग्नसक्छ । नेपालले युएईसँग एक खेलमा हार र बाँकी सबै खेलमा जित निकाल्दा ४० अंक हुनेछ । जुन शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्न पर्याप्त हुनेछ ।

यदि नेपाल अब दुई खेलमा पराजित भएमा सोझै विश्वकप छनोटको सम्भावना समाप्त हुनेछ । र क्वालिफायर प्लेअफको खेल्ने चरणमा पुग्ने छ ।

सोझै अ‍ोडीआई मान्यता जोगाउन पाँच जित आवश्यक

नेपालले अब सोझै ओडिआई मान्यता जोगाउन ८ मध्य ५ खेल जित्नुपर्ने हुन्छ । नेपालले ५ खेल जित्दा ३६ अंक हुनेछ । शीर्ष पाँचमा पर्न ३६ अंक पर्याप्त हुनेछ । किनभने चौथो स्थानमा रहेको अमेरिकाको ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंक छ । नेपाल शीर्ष पाँचमा पर्न अमोरिकालाई पछि पार्नुपर्ने हुन्छ । अमेरिकालाई पछि पार्न नेपालले ५ खेल जित्नुपर्ने हुन्छ । पाँच खेल भन्दा कम जितेको खण्डमा भने प्लेअफमा ओडिआई मान्यता निर्भर रहनेछ ।

लिग २ का पुछारका चार टोलीले क्वालिफायर प्ले अफ खेल्नेछन् । क्वालिफायर प्लेअफमा लिग २ का पुछारका चार टोली र क्यानडा र जर्सी रहनेछन् ।

क्वालिफायर प्लेअफमा शीर्ष चारमा रहने दुई टोलीले ओडीआई मान्यता प्राप्त गर्नेछ । लिग २ मा शीर्ष पाँच र क्वालिफायर प्लेअफमा शीर्ष चारमा पर्न नसके चार वर्षको लागि ओडिआई मान्यता गुम्नेछ ।

 

Share Now

Leave a comment.