हेटौडा(मकवानपुर), १४ फागुन ।बागमती प्रदेश सरकारमा रहेका राप्रपाका तीन मन्त्रीले पदबाट राजीनामा दिएका छन्।
शनिबार साँझ प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसमक्ष राप्रपाका तीनै मन्त्रीले राजीनामा बुझाएका हुन्।
शनिबारै साँझ बसेको प्रदेश सभाको विशेष समयमा राप्रपाका तीन मन्त्रीले राजीनामा दिने घोषणा गरेका थिए। प्रदेशसभा सकिएलगत्तै उनीहरुले राजीनामा बुझाएका हुन्।
राप्रपा बागमती संसदीय दलका नेतासमेत रहेका खानेपानी उर्जा तथा सिँचाइमन्त्री उद्धव थापा, पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउनुभएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रको निर्देशन अनुसार बागमती प्रदेशका मन्त्रीहरुले पनि पदबाट राजीनामा दिएका हुन्। बागमती प्रदेशसभाका १ सय १० सदस्यमध्ये राप्रपाका १३ सांसद छन्।


















