Prakash Adhikari February 27, 2023

निरञ्जन राजवंशी
काठमाडौं, १५ फागुन(बीबीसी) । नेपाली राष्ट्रिय क्रिकेट टोलीले कीर्तिपुरस्थित घरेलु मैदानमा बनाएको लयलाई यूएईमा पनि निरन्तरता दिएको छ।

आईसीसी विश्वकप लिग(२ शृङ्खलाअन्तर्गत दुबईमा सुरु भएको पहिलो खेलमा सोमवार नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ४ विकेटले पराजित गरेको हो।

नेपालको यो लिग २ मा लगातार पाँचौँ जित हो।

टस हारेर ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायो।

जबाफमा नेपालले ४५.२ ओभरमा ६ विकेटको क्षतिमा २ सय ७ रन जोडेर लक्ष्य प्राप्त गर्‍यो।

विश्वकप लिग २ अन्तर्गत अहिले नेपाल, पीएनजी र यूएई सम्मिलित त्रिकोणात्मक शृङ्खला चलिरहेको छ, जहाँ नेपालले दुवै राष्ट्र सँग २ । २ खेल खेल्नेछ।

सहज ब्याटिङ
सुरुवाती बलिङ गरेर २ सय ४ रनको लक्ष्य पाएको नेपालले आफ्नो ब्याटिङ गर्ने पालोमा राम्रो सुरुआत गर्‍यो।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ७६ रनको प्रारम्भिक साझेदारी गरे।

शेख (४४ रन) र त्यसपछि ज्ञानेन्द्र मल्ल (४ रन)मा आउट हुँदा टोली केही समय समस्यामा परेको जस्तो देखिएको थियो।

कप्तान रोहित पौडेल २० रन बनाएर आउट भए।

त्यसपछि आरिफ शेख (रन) र दीपेन्द्र सिंह ऐरी (२२ रन)ले इनिङ उकासेका थिए।

कुशल मल्लले अविजित २२ र सोमपाल कामीले अविजित ५ रन जोडेर खेल जिताए।

क्रिकेट

नेपालको कसिलो बलिङ
तेज गतिका बलर गुलशन झा चम्केको खेलमा नेपालले कसिलो बलिङ गर्दै विपक्षीलाई रोकेको थियो।

उनन्तीस रन बनाएर खेलिरहेका ओपनर किप्लिङ डोरिगालाई आउट गर्दै विकेट लिन सुरु गरेका झाले शेशे बाउ (३१ रन) र चार्ल्स अमिनी (६ रन)लाई आउट गरेका थिए।

नौ ओभर बलिङ गरेका उनले २८ रन खर्चेका थिए।

नेपाली बलरहरूले सुरुआतमा राम्रो बलिङ गरेपछि डेथ ओभरमा पीएनजीले धेरै रन जोडेको थियो।

पीएनजीले अन्तिम पाँच ओभरमा ४३ रन जोडेको थियो।

नेपालका लागि स्पिनर कुशल मल्लले पनि २ विकेट लिए।

त्यस्तै सोमपाल कामी, करण केसी र प्रतिश जिसीले १ ।१ विकेट लिए। सोमपालले ६ ओभरमा १ मेडन राख्दै १७ रन मात्र खर्चिए। करणले ९ ओभरमा २ मेडन राख्दै ३० रन खर्चिए।

उच्च अदालतको आदेशले विदेश जान नपाएका लेग स्पिनर सन्दीप लामिछानेको अनुपस्थितिमा टोलीका अन्य खेलाडीहरूमा उनको अभाव महसुस हुन दिएको देखिएन। सर्वोच्च अदालतले आज सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमति दिएको छ । यसैले आउदा ३ खेल नेपालले झन सुधार्ने संभावना बढी छ ।

क्रिकेट

प्रतिश जिसीको डेब्यू
राष्ट्रिय टोलीमा पहिलो पटक समावेश प्रतिश जिसीले राष्ट्रिय टोलीमा परेको पहिलो खेलमै डेब्यू गर्ने मौका पाए।

बायाँ हाते युवा तेज बलर उनलाई सिनियर खेलाडी सोमपाल कामीले ३७ औँ डेब्यु क्याप प्रदान गरे।

अन्य खेलाडीको दाँजोमा महँगो साबित भए पनि उनले डेब्यू खेलमा एक विकेट लिन सफल भए।

चौतीसऔँ ओभरमा उनले पीएनजीका हिरीहिरीको विकेट लिएका हुन्।

प्युठानमा जन्मिएका १८ वर्षीय बलर जिसीले यू १६ र यू १९ मा नेपालको प्रतिनिधित्व गरिसकेका छन्। तल्लो क्रममा ब्याटिङ पनि गर्ने उनी बागमती प्रदेशका खेलाडी हुन्।

टोलीमा अरू दुई खेलाडी परिवर्तन भएका छन्। अर्का तेज गतिका बलर आरिफ शेख टिममा फर्किएका छन् भने गुलशन झा पनि प्लेइङ ११ मा छन् ।

Share Now

Leave a comment.