Prakash Adhikari March 7, 2023

चेन्नाई(तामिलनाडु,भारत), २२ फागुन(बीबीसी) । दक्षिणी भारतीय राज्य तमिलनाडुमा बिहारका मजदुरमाथि “हिंसा भइरहेको” अफवाह फैलिएपछि उक्त राज्यका विभिन्न ठाउँमा कार्यरत नेपाली कामदारहरूले पनि “चिन्तित बनेको” बताएका छन्।

त्यस क्षेत्रमा नेपालीहरूलाई पनि “हिन्दीभाषी”का रूपमा व्यवहार हुने भएकाले आफूहरू “त्रासमा बसिरहेको” केही नेपाली कामदारले बीबीसीलाई बताउनुभएको छ।

प्रवासी नेपाली सम्बद्ध एउटा संस्थाका नेताले हालसम्म नेपालीहरूमाथि “कुनै पनि खालको हिंसा नभएको” भन्दै “नडराउन” नेपालीहरूलाई अपिल गर्नुभएको छ ।

भारतस्थित नेपाली राजदूत डा. शंकर शर्माले उक्त क्षेत्रका नेपाली नागरिकहरूसँग दूतावास निरन्तर सम्पर्कमा रहेको र “कुनै अप्रिय घटना भए दूतावासलाई तुरुन्तै जानकारी गराउन” नेपाली समुदायलाई आग्रह गरिएको बताउनुभएको छ।

तमिलनाडुलाई जोडेर फैलाइएको अफवाह के हो?

चेन्नईमा काम गर्दै कामदारहरू
चेन्नईमा काम गर्दै कामदारहरू

पछिल्ला केही दिनमा तमिलनाडुमा कार्यरत उत्तर भारतीय विशेषगरी बिहारका मजदुरहरूमाथि कुटपिट भएका विवरण सामाजिक सञ्जालबाट सार्वजनिक भइरहेका छन्।

सामाजिक सञ्जालमा बिहारका मजदुरहरूलाई कुटपिट गरिएको भन्दै पुराना भिडिओहरू पनि प्रसारित गरिएको तथ्य जाँच गर्ने कतिपय भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उक्त विषयलाई लिएर बिहार र तमिलनाडु राज्यका मुख्यमन्त्रीहरूले कुराकानी गरेको खबर पनि आएको छ।

बीबीसी हिन्दीले जनाएअनुसार विशेषगरी बिहारमा केन्द्रको सत्ताधारी भारतीय जनता पार्टी भाजपाले तमिलनाडुमा त्यस्तो हिंसा भएको भन्दै त्यहाँको सरकारको आलोचना गरिरहेको छ।

तमिलनाडु सरकार र बिहार सरकारले समेत उक्त विषयलाई “गलत अफवाह” भनेका छन्।

बिहार र तमिलनाडु दुवै राज्यमा भाजपा सत्तामा छैन र त्यहाँ अन्य दलका सरकार छन्।

त्यसले गर्दा ती राज्यका सरकारहरूले भाजपातर्फ लक्षित गर्दै “जानाजना” कतिपयले अफवाह फैलाएको आरोप लगाएका छन्।

बिहार विधानसभामा विपक्षी दलका नेताले दुवै सरकारले झूट बोलिरहेको आरोप लगाएको बीबीसी हिन्दीले जनाएको छ।

नेपाली कामदारमा ‘डर’

गणेश रोकाया

भारतभित्र तमिलनाडु राज्यमा प्रवासी मजदुरहरूमाथि हिंसा भएको भन्ने विषयमा आरोपप्रत्यारोप चलिरहँदा त्यसको मारमा आफूहरू पनि पर्ने डर पैदा भएको उक्त राज्यमा रहेका नेपाली मजदुरहरूले बताएका छन्।

सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला घर भई हाल तमिलनाडुको चेन्नईस्थित केके नगरमा सुरक्षा गार्डको काम गर्ने गणेश रोकायाले भन्नुभयो, “बिहारका मान्छे मात्र होइन नेपालीहरूलाई पनि कुटिएको भन्दै भिडिओहरू आइरहेका छन्। के सत्य हो थाहा भएन, तर हामीलाई निकै डर लागेको छ।”

“नेपालमा घरपरिवारका मानिसहरूले पनि त्यस्तै भिडिओहरू हेरेर हामीलाई चिन्तित हुँदै फोन गरिरहेका छन्। डरले म त काम गर्ने ठाउँबाट बाहिर निस्केको पनि छैन।”

उहाँले आफ्नो सम्पर्कमा रहेका कतिपय नेपालीहरूले पनि त्यस्तै चिन्ता व्यक्त गरेको बताउनुभयो ।

चेन्नईमै एउटा होटलमा कार्यरत डोटीकै तेजबहादुर रोकायले पनि उक्त क्षेत्रबारे भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएको हल्लाले आफूमा डर पैदा भएको बताउनुभएको छ।

“अब यहाँ हिन्दीभाषीलाई आक्रमण भइरहेको भन्ने भिडिओ आइरहेका छन्। नेपालीमाथि पनि कुटपिट भएको भिडिओ आएको छ,” उहाँले भन्नुभयो।

“कतिले त्यो भिडिओ सही होइन भनिरहेका छन्, तर हामीलाई सही हो कि होइन भन्ने थाहा छैन। साँच्चै हो जस्तो देखिन्छ। डर लागिरहेको छ।”

प्रवासी नेपालीका नेता के भन्छन् ?

रविन्द्र ओखेडारविन्द्र ओखेडा

तमिलनाडुको तिरुपुरमा कार्यरत प्रवासी नेपाली एकता मञ्चका केन्द्रीय सङ्गठन प्रमुख रविन्द्र ओखेडाले चाहिँ उक्त राज्यमा नेपालीहरूमाथि कुनै हिंसा नभएको र अफवाहको पछि नलाग्न नेपालीहरूलाई आग्रह गर्नुभएको छ।

“यहाँ नेपाली दाजुभाइहरू सुरक्षित छन्। यहाँ अवस्था शान्तिपूर्ण छ। तिरुपुरमा रहेका सबैजसो नेपालीले आफूलाई हिंसा भएको छैन भनेका छन्। यसबारे डराउनुपर्ने अवस्था छैन।”

“यसलाई कसैले यही भारतभित्र अजेन्डा बनाइरहका होलान्। तर हामीले त्यस्तो अनुभव गरेका छैनौँ र डराउनुपर्ने अवस्था पनि छैन।”

ओखेडा सम्मिलित मञ्च नेपालका कम्युनिस्ट पार्टीहरू निकट मानिन्छ।

उहाँका भनाइमा तमिलनाडुका मानिसहरूले सकेसम्म अन्य राज्य वा बाहिरका देशबाट आएकालाई भन्दा आफूहरूलाई रोजगारीमा प्राथमिकता दिनुपर्छ भनेर अभियान चलाउने गरेको सत्य भएको बताउनुभयो।

“तर त्यो विषयलाई लिएर हिंसा भएको भन्ने त अहिलेसम्म थाहा भएको छैन,” उहाँले भन्नुभयो।

नेपाली राजदूतको भनाई

भारतस्थित नेपाली राजदूत डा. शङ्कर शर्माले तमिलनाडुमा रहेका नेपालीहरूसँग दूतावास सम्पर्कमा रहेको बताउनुभएको छ।

कतिपय नेपालीले अनौपचारिक रूपमा पछिल्लो परिस्थितिबारे दूतावाससँग कुराकानी गरेको शर्माको भनाइ छ।

उहाँले भन्नुभयो, “नेपालीहरूलाई कुनै अप्ठ्यारो परेमा दूतावासले पूर्ण सहयोग गर्छ। दूतावास त्यहाँस्थित नेपाली समुदायसँग निरन्तर सम्पर्कमा छ।कुनै त्यस्तो परिस्थिति उत्पन्न भएमा हामीलाई सम्पर्क गर्न नेपाली समुदायलाई हामीले भनेका छौँ। आवश्यक परेको खण्डमा दूतावासले नेपाली नागरिकको सहयोगका लागि आवश्यक सबैखाले पहल गर्छ।”

OHW Nepal Advisory Board — One Heart Worldwide - Making pregnancy safer in  Nepal.

तमिलनाडुमा कति छन् नेपाली ?

तमिलनाडु राज्यका विभिन्न स्थानमा नेपालीहरू सुरक्षा गार्ड, निर्माण, होटल तथा रेस्टुराँ, पसलहरू तथा विभिन्न उद्योगमा पनि कार्यरत रहेको त्यहास्थित नेपालीहरू बताउनुहुन्छ।

तर उक्त राज्यमा नेपाली कामदारको सङ्ख्या कति छ भन्ने यकिन विवरण पाउन सहज नभएको दूतावासका अधिकारी तथा प्रवासी नेपाली सङ्घ संस्थाहरूको भनाइ छ।

ओखेडाका भनाइमा उक्त राज्यमा हजारौँको सङ्ख्यामा नेपाली रहेका छन्।

तिरुपुर तथा आसपास क्षेत्रमा मात्र आफू ७०० भन्दा बढी नेपालीको सम्पर्कमा रहेको उहाँको दाबी छ।

“यहाँ हजारौँको सङ्ख्यामा नेपाली काम गर्छन्”, उहाँले भन्नुभयो, “कतिले वर्षौँदेखि यो राज्यमै बसेर काम गरिरहेका छन्।”

Share Now

Leave a comment.