कीर्तिपुर(काठमाडौं), २५ फागुन ।आइसीसी पुरुष विश्वकप क्रिकेट लिग २ को अन्तिम त्रिकोणात्मक एकदिवसीय अन्तराष्र्टिय श्रृखला अन्तर्गत आज नेपाल र आज पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल बिहान ९ः३० मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपाल यो श्रृखलाका चारै खेल जितेर सिधै विश्वकप छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रिने भएको छ ।
नेपालले पपुवा न्युगिनी र युएईलाई दुई दुई खेल हराएमा आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सिधै खेल्न पाउनेछ । नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ कका साथ पाँचौं स्थानमा छ ।
लिग २ का शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाउँछन् । स्कटल्यान्ड ५० अंकका साथ च्याम्पियन र ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका छन् ।
नेपालले सबै खेल जितेको खण्डमा ४० अंक हुनेछ । ४० अंक हुँदा नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्नेछ । नेपाल एक खेलमा पराजित भएमा भने प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ ।
नेपालमा नै भएको नेपाल, स्कटल्याण्ड र नामिवियाको त्रिदेशीय श्रृखलामा क्लिन स्वीप गरेको र दुबाईमा भएको युएई तथा पपुवा न्युनिगीसंगको श्रृखलामा तीन खेल जितेकोले नेपालको मनोबल उच्च छ ।
बुधबार साँझ भएको खेलपूर्वको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले बाँकी सबै खेलमा सुखद नतिजा निकाल्ने तयारी रहेको बताएका छन् । घरेलु मैदान र घरेलु दर्शकको समर्थन नेपाली राष्ट्रिय टिमको मनोबल बढाउने अर्को कारण पनि हो ।
विगतमा भन्दा नेपालको ब्याटिड. स्तर सुधारिएको र बलिड.को स्तर झनै निखारिएकोले नेपाल यो श्रृखलाका चारै खेल जित्नेमा निकै विश्वस्त रहेको छ । युएई भ्रमणमा ब्याटिड.मा केही समस्या देखिए पनि काठमाडौंमा नेपालले सो समस्या दोहोरिन नदिने अपेक्षा गरिएको छ ।
खेलमा नेपालको नेतृत्व राष्ट्रिय टिमका कप्तान रोहित पौडेल र पिएनजीको असद भालाले गर्ने बताईएको छ ।
पपुवा न्युगिनी ३२ खेलमा ४ मा जित र २७ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ। पिएनजी पुछारमा रहँदै प्लेअफ खेल्ने पक्का भएको छ । प्लेअफ अघि राम्रो तयारी चाहन्छ ।
नेपालले स्कटल्यान्ड र नामिबियाविरुद्ध घरेलु मैदान तीन खेलमा लगातार २ सय ७० माथिको योगफल पूरा गरेको थियो ।
नेपालको टोलीः
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख (विकेटकिपर), करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी. ।
अंक तालिका
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३२ खेलमा ४ मा जित र २७ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ।


















