Prakash Adhikari March 10, 2023

 

सौराह(चितवन), २६ फागुन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका कर्मचारी, हात्तीका माउते र सुसारेलाई यतिबेला सुत्केरी हात्तीको स्याहारसुसार गर्न भ्याइनभ्याइ छ।

बुधबार खोरसोरमा रहेकी गण्डकीकली नाम गरेको हात्ती सुत्केरी भएको थियो। कर्मचारीलाई अन्य हात्तीको भन्दा यतिबेला गण्डकीकलीको विशेष स्याहारसुसार गर्नुपर्ने जिम्मेवारी छ।

गण्डकीकलीले व्यथा लागेको लामो समयसम्म बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएको थियो। शल्यक्रियापश्चात हात्ती र छावा दुवैको स्वस्थ्य अवस्था राम्रो छ। प्रजनन तथा तालिम केन्द्र र राष्ट्रिय प्राकृतिक तथा संरक्षण कोषका चिकित्सक र प्राविधिकले नियमितरूपमा सुत्केरी हात्ती र छावाको स्वास्थ्य जाँच गरिरहेका छन्।

छावालाई माउले दूध खान नदिएपछि आफैँले हात्तीको दूध दोएर खुवाएको केन्द्रका नायबसुब्बा मनपुरन चौधरीले बताउनुभयो।

‘माउले छावाको वास्तै गरेको छैन, दूध पनि खान दिएको छैन,’ चौधरीले भन्नुभयो, ‘चिकित्सकको सल्लाहअनुसार दुई–दुई घण्टामा आधा लिटर पानी उमालेर ५० ग्राम पाउडर दूध राखेर खान दिएका छौँ।’

जबसम्म माउले दूध चुसेर खाँन दिँदैन तबसम्म छावाको विशेष स्याहार गर्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ।

चौधरीका अनुसार शल्यक्रिया गरेका कारण गण्डकीकलीको विशेष स्याहारसुसार गर्नुपरेको छ। सुत्केरी हात्तीलाई एक–दुई दिनसम्म बिहान–बेलुका मान्छेलाई जस्तै तेल लगाएर जिउको मालिस गरिने बताइएको छ।

तेलले मालिस गर्दा हात्तीलाई आराम हुनुका साथै कीरा–फट्याङ्ग्रासमेत नलाग्ने चौधरीको भनाई छ।

नेपालमै पहिलोपटक शल्यक्रिया गरेर हात्तीको छावा जन्माइएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठले जानकारी दिनुभएको छ।

पच्चीस वर्ष उमेरकी गण्डकीकलीलाई मङ्गलबार बिहानैबाटै व्यथा लाग्न थालेको थियो। व्यथा लागेको लामो समयसम्म पनि बच्चा जन्माउन नसकेपछि बुधबार दिउँसो शल्यक्रिया गरेर छावा जन्माइएको हो।

‘हात्तीलाई सामान्यरूपमा सुत्केरी गराउन सकिने अवस्था देखिएन । माउ र बच्चाकै ज्यान जानसक्ने खतरा भएपछि शल्यक्रिया गर्ने निर्णयमा पुग्यौँ,’ उहाँले भन्नुभयो।

“नेपालमा अहिलेसम्म कुनै पनि जङ्गली जनावरको शल्यक्रिया गरेर बच्चा जन्माइएको थिएन । यो नै पहिलो हो,” डा. श्रेष्ठले भन्नुभयो, “बच्चा पेटमै अड्किएपछि हामीले हात्तीको पुठो र योनीको बीचमा करिब २० सेन्टिमिटर चिरेर बच्चा निकालेका हौँ ।”

केही दिन पाठेघरबाट फोहोर पानी निस्किएपछि चिरिएको घाउ दुईरचार दिनमा सिलाइने चिकित्सकले जनाएका छन् । डा. श्रेष्ठले शल्यक्रिया गर्ने क्रममा हात्तीलाई चिर्ने ठाउँमा नदुख्ने र लट्ठ्याउने औषधि दिइएको पनि जानकारी दिनुभयो ।

शल्यक्रिया गरेर हात्तीको बच्चा जन्माउनु दुर्लभ रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौलाले बताउनुभयो।

‘शल्यक्रिया गरेर हात्तीको बच्चा जन्माउनु नेपालमा मात्रै नभएर विश्वमै दुर्लभ हो,’ उहाँले भन्नुभयो, ‘नेपालमा त पहिलो हो नै तर शल्यक्रिया गरेर हात्तीको बच्चा जन्माउने घटना विश्वमै न्यून छन्।’

राष्ट्रिय प्रकृति संरक्षण केन्द्रका भेटेरेनरी प्राविधिक किरणराज रिजालले गण्डकीकली र छावाको स्वास्थ्यमा सुधार देखिएको बताउनुभएको छ।

सुरुआतमा श्वास फेर्न थाले पनि उठ्न नसकेको छावा बिहीबार बिहान आफैँ उठेर हिँडडुल गर्न थालेको छ। ‘सुरुमा छावा कमजोर थियो । राति भिटामिन र औषधि खुवायौँ। अहिले स्वास्थ्यमा सुधार भइरहेको छ,’ उहाँले भन्नुभयो।

छावालाई विस्तारै माउसँग लगेर दूध खुवाउने प्रयास गरिरहेको उहाँले बताउनुभयो।

शल्यक्रिया गरेर बच्चा जन्माइएको गण्डकीकली २५ वर्षकी हो । यो उसको दोस्रो बेत हो । यसअघि करिब तीन वर्षअघि पनि हात्तीको छावा अड्किएर डोरी लगाई निकालिएको थियो । त्यस बेला छावा बचाउन नसकिएको डा. श्रेष्ठले बताउनुभयो ।

“बच्चा उल्टो रैछ । अगाडिको खुट्टा पहिला आउनुपर्नेमा पछाडिको खुट्टा पहिला निस्कँदा समस्या भयो,” डा. श्रेष्ठले भन्नुभयो । यो बच्चा ठीक ‘पोजिसन’मा नहुँदाको समस्या हो । अहिले नयाँ जन्मिएको छावाले पनि तत्काल श्वासप्रश्वास नगरेपछि चिकित्सकले केहीबेर सुँडबाट कृत्रिम श्वास दिएर बचाइएको थियो।

यसअघि प्रजनन केन्द्रमा २०५८ सालमा छावा जन्माउन नसकेर एक हात्तीको माउबच्चा नै मरेका थिए । कुनै पनि ढोई गर्भवती भए उसले २२ देखि २४ महिनामा छावा जन्माउँछे ।

२०४२ मा स्थापना भएको हात्ती प्रजनन केन्द्रमा २०५४ सालयता ६२ वटा छावाछावी जन्मिएका छन् । हात्ती गर्भवती भए पत्ता लगाउने पनि प्रजनन केन्द्रका कर्मचारीमा आफ्नै ज्ञान छ । २० वर्षदेखि प्रजनन केन्द्रमै माउते पदमा कार्यरत चतुरलाल चौधरीले भन्नुभयो, “गर्भवती हात्ती भाले लागेको तीन÷चार महिनामै स्तन बढेर आउँछ । शरीर मोटाउँछ अनि २२ देखि २४ महिनामा बच्चा जन्मन्छ ।”

अहिले जन्मिएको छावाको बाह्र दिनपछि न्वारन गरिदने रिजालले जानकारी दिनुभयो।

प्रमुख संरक्षण अधिकृतसहित प्राविधिकको उपस्थितिमा छावाको नाम राख्ने चलन छ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले संरक्षणमा लागेका मानिसका लागि हात्तीको छावा जन्मिनु खुसी र गर्वको क्षण भएको बताए। विसं २०५४ यता यस प्रजनन केन्द्रमा ६२ वटा छावा जन्मिएका छन्। (रासस/गोरखापत्र अनलाइन)

Share Now

Leave a comment.