कीर्तिपुर(काठमाडौं), २९ फागुन । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तरगत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीमाथि ९ विकेटको शानदार विजय हासिल गरेको छ ।
खेलमा पपुवा न्युनिगीबाट पाएको ९६ रनको सामान्य लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेटको क्षतिमा १०० रन जोडेर हासिल गर्यो ।
खेलमा नेपालका लागि ओपनर आशिफ शेखले ५३, अर्का ओपनर कुशल भुर्तेलले ३३ र कुशल मल्लले १२ रनको योगदान गरे ।
नेपाललाई रोक्ने क्रममा पपुवा न्युगिनीका चाल्र्स सुपरले ३.३ओभरमा कुशल भूर्तेललाई आउट गरेका थिए ।
आज नेपालको बलिड. राम्रो रह्यो । खेलमा नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए भने कुशल मल्ल र ललितसिंह राजवंशील २।२ तथा सोमपाल कामीले एक विकेट लिए ।
आजको खेलमा नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । उनले ३२ ओभरको अन्तिम बलमा सेमो कामियाको विकेट लिएर पपुवा न्युगिनीलाई ९५ रनमा सीमित गरिदिए ।
यस पहिले नेपाललाई नवौं विकेटको सफलता कुशल मल्लले दिलाएका थिए । उनले ३०.३ ओभरमा पपुवा न्युगिनीका कावुआ मोरेयालाई १ रनमै आउट गरे ।
नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाललाई आठौं विकेटको सफलता दिलाएका थिए ।
उनले २९.५ ओभरमा पपुवा न्युगिनीका हिला भारेलाई ७ रनमा आउट गरेका हुन् ।
यस पहिले बलर कुशल मल्लले नेपाललाई सातौं विकेटको सफलता दिलाएका थिए । उनले २६.४ ओभरमा पपुवा न्युनिगीका १० बलमा खेलेका नर्मन भानुलाई शून्य रनमा आउट गरे ।
यस पूर्वकप्तान सन्दीपले थप ३ र ललित राजवंशीले अर्को २ विकेट लिएका थिए । नेपालका सोमपाल कामीले एक विकेटको सफलता दिलाएका थिए ।
ललितले पछिल्लोपटक रिले हाकुरेको विकेट लिए भने सन्दीप लामिछानेले २३.१ मा चाल्र्स अमिनी र १९.१ ओभरमा असल भालाको विकेट लिए ।
यसपहिले नेपालका बलर ललित राजवंशीले पीएनजीका ओपनर किप्लिड. डोगोरालाई चौथो ओभरको चौथो बलमा २ रनमा आउट गरे भने अर्का बलर सोमपाल कामीले अर्का ओपनर हिरिहिरिलाई सातौं ओभरको पाँचौ बलमा १४ रन बनाएको अवस्थामा आउट गरे ।
१४ औं ओभरको अन्त्यमा नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले पीएनजीका बलर सेसे बौलाई २८ बलमा १८ रन जोडेको अवस्थामा आउट गरे ।
खेलमा पपुवा न्युगिनीका असद भालालले २०, सेसे बौले १८, चाल्र्स अमिनिले १६, हिरिहिरिले १४, चाल्र्स सुपरले ८, हिला भारेले ७ किप्लिड. डोरिगाले २,कवुआ मोरयाले १ रन जोडे ।
आईसीसी लिग अन्तरगतको १ सय ३८ औं खेलमा शानदार विजय हासिल गरेको नेपाल ३८ अंकसहित अंकतालिकाको चौथो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको नामिबियाको ३९ अंक छ । नामिबियाले लिगका सबै ३६ वटै खेल खेलिसकेको छ भने नेपालले अब एक खेल युएईसंग खेल्न बाँकी छ ।
बाँकी खेलमा विजयी भएमा नेपाल सीधै आईसीसी पुरुष विश्वकप क्रिकेटको छनोट खेल्न योग्य हुने छ ।
लिगका पछिल्ला तीन श्रृखलामा उत्कृष्ट प्रदर्शन गरेको नेपाल अब युएईसंगको एक खेल जित्न केन्द्रित हुनेछ ।
युएई नेपालसंग पराजित भएको र हालै एक दिवसीय मान्यता पनि गुमाउन पुगेकोले उसको मनोबल खस्केको अवस्था छ भने एकदिवसीय मान्यता जोगाएको हालैका तीन श्रृखलामा उत्कृष्ट प्रदर्शन गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिदै छ ।
लिग २ अन्तर्गत सिरिजकै अन्तिम खेल नेपालले चैत २ गते युएईविरुद्ध खेल्नेछ ।


















