Prakash Adhikari March 13, 2023

 

लसएञ्जल्स(क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका), २९ फागुन(बीबीसी) । तेलुगू भाषामा बनेको चलचित्र ‘आरआरआर’ मा समाविष्ट बहुचर्चित गीत ‘ नाटू-नाटू’ ओस्कर पुरस्कार जित्ने भारतीय चलचित्रको पहिलो गीत बनेको छ।

पन्चानब्बेऔँ अक्याडमी अवार्ड्समा लेडी गागा र रिहानाजस्ता हस्तीका सिर्जनालाई पछि पार्दै उक्त गीतले ‘उत्कृष्ट मौलिक गीत’को उपाधि हात पारेको हो।

चित्ताकर्षक लय र कोरिओग्राफीका कारण उक्त गीतले विश्वभरि दर्शक र श्रोताहरूलाई मन्त्रमुग्ध पारेको छ।

भारतमा निर्मित वृत्तचित्र ‘दि एलिफन्ट विस्परर्स’ ले पनि ‘बेस्ट डक्यूमेन्टरी शर्ट’ विधामा अर्को ओस्कर हात पार्‍यो।

उक्त वृत्तचित्रमा बथानबाट छुट्टिएको एउटा घाइते छावाको स्याहारसुसार गर्ने एउटा जोडीको कथा प्रस्तुत गरिएको छ। ‘दि एलिफन्ट विस्परर्स’ सो विधामा ओस्कर जित्ने भारतबाट पहिलो वृत्तचित्र हो।

भारतको मनोरम नीलगिरि पर्वतशृङ्खलामा छायाङ्कन गरिएको उक्त वृत्तचित्रमा मानिस र हात्तीबीच विकसित आत्मीय सम्बन्ध देखाइएको छ।

यद्यपि ‘नाटू-नाटू’ले हात पारेको उपाधिलाई विशेष मानिएको छ।

गीतको लयमा भाषण
यसअघि ‘नाटू-नाटू’ले ज्यानुअरी महिनामा विभिन्न कीर्तिमान बनाएको थियो। उक्त गीतले गोल्डन ग्लोब र क्रिटिक्स चोइस अवार्ड पनि हात पारिसकेको छ।

ओस्कर पुरस्कार ग्रहण गर्दै सङ्गीत संयोजक एमएम कीरवानीले उक्त गीत “प्रत्येक भारतीयका लागि गौरवको विषय” भएको टिप्पणी गरे।

आफू अमेरिकी जोडी ‘द कार्पेन्टर्स’का गीतहरू सुन्दै हुर्केको बताउँदै उनले उक्त जोडीको चर्चित गीत ‘टप अफ द वर्ल्ड’ को लयमा आफ्नो बाँकी सम्बोधन गरे।

‘आरआरआर’ले आफूलाई उक्त गीतको शीर्षकमा भनिए जस्तै “विश्वको सर्वोच्च स्थानमा” पुर्‍याइदिएको भनेपछि दर्शकदीर्घामा हाँसो गुन्जिएको थियो।

उक्त गीतले हात पारेको सम्मानप्रति धेरै भारतीयहरूले सामाजिक सञ्जालमा प्रसन्नता व्यक्त गरेका छन्।

तेलुगूभाषी प्रभावशाली नेता एन चन्द्रबाबु नाइडूले ट्विटरमा लेख्दै उक्त गीतले “इतिहासमा आफ्नो स्थान सुरक्षित पारेको” टिप्पणी गरेका छन्।

“यो भारतीय चलचित्रका लागि सम्भवतः सबैभन्दा राम्रो क्षण हो अनि तेलुगूभाषीहरूले हात पार्दा यो अझ विशेष बनेको छ,” उनले लेखेका छन्।

 

समारोहमा पनि गुन्जियो ‘नाटू-नाटू’
पुरस्कार वितरण समारोहमा आइपुगेपछि उक्त गीतका एक गायक काल भैरवले ‘द हलीवुड रिपोर्टर’ लाई नाटू-नाटू मौलिक भएकाले उपाधि पाउन योग्य भएको बताए।

“विश्वभरिका मानिसहरू एक ठाउँमा भेला हुनु, आफ्नो संस्कृति र कलाको प्रतिनिधित्व गर्नु र अरू देश र समुदायका मानिसबाट तिनको प्रशंसा हुनु ओस्करको सबैभन्दा उत्कृष्ट पक्ष हो,” उनले भने।

समारोहमा काल भैरव र अर्का गायक राहुल सिपलीगुन्जले उक्त गीत प्रस्तुत गर्दा दर्शकहरूले उभिएर उनीहरूप्रति सम्मान व्यक्त गरे।

तेलुगू भाषामा नाटू-नाटूको अर्थ “नाच, नाच” भन्ने हुन्छ। संयुक्त राज्य अमेरिकामा गत वर्ष सार्वजनिक भएको उक्त चलचित्रले विश्वभरि ठूलो चर्चा कमायो।

युक्रेनी राष्ट्रपति भवनमा खिचिएको उक्त गीतमा आरआरआर चलचित्रका प्रमुख पात्रद्वय राम चरण र जूनिअर एनटीआरले नाच्दै अभिनय गरेका छन्।

उक्त गीतको कोरिओग्राफीबाट प्रभावित भएर इन्स्टाग्राममा कैयौँ रील र अन्य सामाजिक सञ्जालमा नृत्यका ट्रेन्डहरू सुरु भएका थिए।

अस्कर्स समाहोरमा जूनिअर एनटीआर, एसएस राजामौली र राम चरण

अस्कर्स समाहोरमा जूनिअर एनटीआर, एसएस राजामौली र राम चरण

के हो आरआरआर
आरआरआर चलचित्रका निर्देशक एसएस राजमौलीले ‘भ्यानिटी फेअर” लाई बताएअनुसार सुरुमा नाटू-नाटू गीतमा द्वन्द्व प्रस्तुत गर्ने योजना थियो। भारतमा ब्रिटिश शासन भएको बेला स्वतन्त्रताको पक्षमा लागेका दुई पात्रले एक ब्रिटिश अधिकारीलाई “घुँडा टेकाएको” देखाउनेगरी उक्त गीतको रचना भएको थियो।

आरआरआर ‘राइज, रोअर, रिभोल्ट’ अर्थात् ‘जाग, गर्ज, विद्रोह गर’ को सङ्क्षिप्त रूप हो।

सर्वाधिक खर्च गरी निर्माण गरी बनाइएका भारतीय चलचित्रमध्ये आरआरआर पनि पर्छ।

‘नाटू-नाटू’ गीतको छायाङ्कन गर्न मात्र १५ दिन लागेको थियो। त्यसमा १५० जनाले नाचेका छन् भने छायाङ्कनका क्रममा २०० जनाले प्रत्येक दिन १२ घण्टा काम गरेका थिए।

साढे चार मिनेट लामो उक्त गीतमा भारतको तेलुगूभाषी राज्यहरूमा प्रचलित लोकधुन प्रयोग गर्नुका साथै विभिन्न किंवदन्तीका प्रसङ्गहरू उल्लेख गरिएको छ।

कसरी बन्यो नाटू-नाटू
राजामौली, कीरवानी र गीतकार चन्द्रबोसले तीन वर्षअघि यो गीतमा काम गर्न थालेका थिए।

हैदराबादस्थित एउटा कारखानामा स्थापित ‘आरआरआर’ को कार्यालयबाट काम सुरु भएको थियो।

आफ्नो गाडीमा बस्नासाथ चन्द्रबोसको मनमा गीतका बारेमा विभिन्न विचारहरू फुर्न थालेको र कारखानाबाट आफैँ गाडी चलाएर बाहिर गइरहेको बेला उनको मनमा ‘नाटू-नाटू’ बोल फुरेको बताइएको छ।

त्यसैलाई सुहाउनेगरी पछि सङ्गीत संयोजन भयो।

‘नाटू-नाटू’ को गीतमा अभिनेताहरूले आफ्नो नृत्य कौशल पनि देखाएका छन्। नाच्न सुहाउने गरेर चन्द्रबोसले त्यो गीत बनाए।

गीतको सुरुका पङ्क्ति दुई दिनमा बनाएर उनले कीरवानीसँग भेटेको र उनलाई विभिन्न लयमा ती पङ्क्तिहरू सुनाएको पनि उनले बताएका छन्।

भारतको औपचारिक मनोनयनमा परेको थिएन
भारतबाट ओस्करका लागि गरिएको औपचारिक मनोनयनमा गुजराती चलचित्र ‘चेल्लो’ले ‘आरआरआर’लाई उछिनेको थियो।

त्यसपछि निर्देशक एसएस राजामौलीले व्यापक सार्वजनिक अभियान गरेर उक्त चलचित्रलाई १४ वटा विधाका लागि प्रतिस्पर्धामा पठाए।

तीमध्ये उत्कृष्ट तस्बिर, उत्कृष्ट निर्देशन र उत्कृष्ट पटकथाका विधा पनि पर्छन्।

‘आरआरआर’ भारतमा निर्माण भएका महँगा चलचित्रमध्ये पर्छ।

यो चलचित्रलाई भारत र अन्यत्र पनि निकै सफल मानिएको छ

Share Now

Leave a comment.