मस्को(रुस), ८ वैशाख । मस्कोस्थित रक्षा मन्त्रालयले रुसी लडाकु विमानले दुर्घटनावश युक्रेनसँगको सीमा नजिकै बियेलग्रटमा बम खसालेको जनाएको छ।
क्षेत्रीय गभर्नर भ्याचेस्लाभ ग्ल्याडकोभले उक्त विस्फोटनले शहरको केन्द्रमा ६० फिट गहिरो खाडल बनाएको बताउनुभयो।
उहाँका अनुसार घटनामा दुई जना महिला घाइते भएका छन् भने कैयौँ भवनहरूमा क्षति पुगेको छ।
एउटा एसयू ३४ बम खसाल्नसक्ने लडाकु विमानले दुर्घटनावश विस्फोटक पदार्थ खसालेको भनिएको छ। कुन खालको अस्त्र खसेको भन्नेबारे उसले खुलाएको छैन्।
के भएको हो ?

विस्फोटनबाट दुई जना महिला घाइते भएका छन् र घरहरूमा क्षति पुगेको छ
स्थानीय समय अनुसार रातिको १०ः१५ बजे उक्त घटना भएको रुसी समाचार संस्थाहरूले जनाएका छन्। त्यसबारे अनुसन्धान भइरहेको छ।
सामाजिक सञ्जालमा राखिएका फोटो र भिडिओहरूमा विस्फोटनले ध्वस्त अपार्टमेन्ट भवन देख्न सकिन्छ। एउटा तस्बिरमा घरको छानोमा कार रहेको जस्तो देखिन्छ।
बियेलग्रट युक्रेनी सीमा भन्दा २५ माइल वरै छ र त्यहाँ लगभग साढे ३ लाख मानिसहरूको बसोबास छ।

उक्त नगरका मेयरले विस्फोटपछि प्रभावितका घरको भ्रमण गर्नुभएको थियो
उक्त स्थान युक्रेनको दोस्रो ठूलो शहर खार्किभको उत्तरमा पर्छ।
अघिल्लो वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँका मानिसहरूमा युक्रेनी गोलाबारीमा परिने भय व्याप्त छ।
युक्रेनतर्फ जाने क्रममा रुसी जेट पनि नियमित रूपमा त्यहाँको आकाशमा उड्ने गर्छन्।


















