Prakash Adhikari April 24, 2023

काठमाडौं, ११ वैशाख । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आन्तरिक स्टेशनहरुमा रही कार्यरत कार्यालय प्रमुखहरुलाई सेवाग्राहीसंग मुस्कानसहितको व्यवसायिक सेवा दिन निर्देशन दिनुभएको छ ।

आइतबार निगमको प्रधान कार्यालयमा सम्पन्न गत वर्षको समीक्षा तथा आगामी वर्षको योजना तथा कार्यक्रमसम्बन्धी बैठकका अवसरमा उहाँले सो निर्देशन दिनुभएको हो ।

समीक्षा बैठकमा बोल्दै कार्यकारी अध्यक्ष युबराज अधिकारीले सवै स्टेशन प्रमुखहरुलार्इ यात्रुलाई टिकटसम्बन्धी आवश्यक सूचना समयमै दिन, सहयोग गर्न र मुस्कान सहितको व्यावसायिक व्यवहार गर्न निर्देशन दिनुभयो ।

उहाँले आगामी आ. व. २०८०र८१ मा स्टोल एअरपोर्टमा उडान गर्ने तीन वटा जहाज खरिद प्रक्रियामा रहेकोले सोलाई ध्यानमा राखेर आगामी वर्षको कार्यक्रम बनाउन समेत निर्देशन दिनुभयो ।

बिगत चार वर्षदेखि हुन नसकेको यो क्षेत्रीय बैठक कार्यकारी अध्यक्षको बिशेष निर्देशन र वाणिज्य विभागका निर्देशकको बिशेष पहलमा सम्पन्न भएको हो ।
यसबाट केन्द्र र बाह्य स्टेसनले प्रत्यक्ष बिचार बिमर्श राख्ने वातावरण बनेकाले सम्पूर्ण कर्मचारीहरुमा थप उत्साह र मनोबल बढेको छ ।

कार्यक्रम अन्तरक्रियात्मक भएकोले धेरै प्रभावकारी रहेको थियो ।

Share Now

Leave a comment.