Prakash Adhikari May 3, 2023

 

काठमाडौं, २० वैशाख । घट्दो क्रममा रहेको शेयर बजारले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक आज ९.१८ अङ्कले घटेर १८५७.२३ अङ्कमा कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको विवरण अनुसार २ सय ६५ वटा कम्पनीको २१ लाख ५५ हजार छ सय ८६ कित्ता शेयर १८ हजार ८ सय ७६ पटक खरिद बिक्री हुँदा कारोबार रकम रू ६२ करोड २ लाख ६६ हजारमा खुम्चिएको छ ।

यस दिन उत्पादन तथा प्रशोधन समूह०.५६ र म्युचुअल फन्ड ०.०३ अङकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह ५९.६९ र होटल तथा पर्यटन समूह ५२.६० अङ्कले घटेको छ ।

त्यसैगरी, बैंकिङ समूह १.९८, विकास बैंक समूह ८.०१, वित्त समूह १२.२९, जलविद्युत् समूह २९.२३ र लगानी समूह ण्.०९ अङ्कले घटेको छ । लघुवित्त समूह २१.४१, निर्जीवन बीमा समूह १४.५९, व्यापार समूह ३.६६ र अन्य समूह १४.५२ अङ्कले घटेका छन् ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ६.०९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा एनआइबिएल ग्रोथ फन्डको शेयर मूल्य ५.३५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ३ करोड ५ लाख ३ हजार ४ सय ९८ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको १ लाख १४ हजार ५ सय ९२ कित्ता शेयर किनबेच भएको छ ।

Share Now

Leave a comment.