Prakash Adhikari May 4, 2023

 

काठमाडौं, २१ वैशाख । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं ठगी आरोपमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।

बुधबार नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि यो प्रकरणले नयाँ मोड लिएको छ ।

यसअघि मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ पर्नुभएको थियो। राईलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

सचिव पाण्डेलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले बुधबार नै अनुमति दिएको छ। पाण्डेको बयान बिहीबारदेखि सुरु हुने भएको छ। उहाँलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ।

इन्द्रजित राई काठमाडौं परिसरको हिरासतमा हुनुहुन्छ। यसअघि पक्राउ परेका ५ जना भने काठमाडौं परिसर, कालिमाटी वृत्त र जनसेवा वृत्तको हिरासतमा रहेका छन्।

पूर्व सुरक्षा सल्लाहकार इन्द्रजित राईको बयान बुधबारदेखि सुरु भएको छ। राईले सुरुवाती बयानमा कसुर इन्कार गर्नुभएको छ। बुधबार सरकारी वकिल कार्यालयमा वकिल र प्रहरी समक्ष बयान दिँदै उहाँले आफूलाई फसाउनका लागि नाम जोडिएको बताउनुभयो।

 

यसअघि पक्राउ परेका सानु भण्डारीले राईले आफूलाई समेत फसाएको बताउनुभएको थियो। भण्डारीले आफूलाई समेत नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेकोले अरु पीडितबाट रकम उठाएर इन्द्रजितलाई बुझाएको बयान दिनुभएको छ।

भण्डारीको डायरीमा समेत इन्द्रजितलाई विभिन्न मितिमा रकम बुझाएको हिसाब छ। उहाँले पटकपटक गरेर ५ करोड ५० लाख रुपैयाँ बुझाइसकेको डायरीमा उल्लेख गर्नुभएको छ।

प्रहरीले भण्डारी र केशव दुलालको बयानका आधारमा इन्द्रजितलाई पक्राउ गरेको हो।

दुवैले आफूहरु शरणार्थी बनेर अमेरिका जान लागेको र पीडित भएको बताएका बताउनुभएको छ। पीडितबाट त्यसरी लिएको रकम तत्कालीन गृह मन्त्रालयकै सुरक्षा सल्लाहकार इन्द्रजित र गृहसचिव टेकनारायण पाण्डेलाई बुझाएको दुवैको जिकिर छ।

पक्राउ परेका ५ जनाले भने पूर्वगृहसचिव समेत रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी धर्मपत्नी नैनाकला थापाको समेत नाम लिएका छन्।

बयानमा उनीहरुको नाम पोलिएको भए पनि प्रहरीले अहिलेसम्म उनीहरुविरुद्ध पक्राउ पुर्जी भने जारी गराइसकेको छैन।

अनुसन्धान अधिकृतले भने, ‘बयानमा उहाँहरुको नाम पोलिएको छ। तर थप पुष्टि हुने आधार हेर्दैछौं। जजसको पुष्टि हुने आधार देखिएको छ उहाँहरुविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। थप पुष्टि भए अन्यविरुद्ध पनि पक्राउ पुर्जी लिन्छौं र कारबाहीको दायरामा ल्याउँछौं।’

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ। प्रहरीले उनको खोजी गरिरहेको छ। पूर्वगृहसचिव पाण्डे भने आफैं प्रहरी कार्यालयमा उपस्थित हुनुभएको थियो।

गृहसचिव पाण्डे र इन्द्रजित राईले भुटानी शरणार्थी बनाएर पठाउन सम्पूर्ण प्रक्रिया मिलाएको र अन्यले भने शरणार्थी बनेर अमेरिका जाने मान्छे खोजेको खुलेको छ।

नेपालमा रहेका भुटानी शरणार्थीलाई अमेरिका पठाउने प्रक्रिया चलिरहँदा त्यसमै नेपालीलाई पनि मिसाएर पठाउने गरिएको आशंका पहिलेदेखि गरिएको थियो ।

लाखौं रुपैयाँ बुझाएपछि पनि अमेरिका जान नपाएपछि पीडितहरु प्रहरी कार्यालयमा उजुरी दिएपछि यो प्रकरणको पर्दाफास भएको हो ।

उच्च तहका कर्मचारी र नेता जोडिएपछि प्रहरीले लामो समयदेखि यो मुद्दा अगाडि बढाएको थिएन। प्रहरीले डेढ महिनाअघि केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ पक्राउ परेका थिए। पछि सागर राईलाई प्रहरीले पक्राउ गर्यो। तीनै जनाको बयानका आधारमा थप विवरण खुलेपछि सन्देश शर्मा पक्राउ गर्यो।
प्रहरीले पूर्वमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी, उहाँका छोरा सन्दीप रायमाझी र बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ। प्रहरीले सन्दीप रायमाझीलाई बुधबारै बुटवलबाट पक्राउ गरिसकेको छ ।

प्रहरीले इन्द्रजित राईका छोरा निरज राईलाई पक्राउ गर्न अनुमति पाइसकेको छ। अन्य केही उच्च तहकै व्यक्ति पनि यो मुद्दामा थपिन सक्ने अनुसन्धान अधिकारी बताउँछन्।

प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान अगाडि बढाएको छ।

६० दिनभित्रमा मुद्दा अदालतमा बुझाउनु पर्ने भएकाले अब १५ दिन भित्रमा प्रहरीले अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउने छ। सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गर्ने छ।

गिरोहमा रहेका व्यक्तिहरुले पोलिसकेका तात्कालीन गृहसचिव प्रेमकुमार राई र गृहमन्त्री रामबहादुर थापा बादललाई पक्रेर प्रहरीले अनुसन्धान गर्न सक्छ कि सक्दैन यो भने हेर्न बाँकी छ ।(स्रोतः नेपालखबर)

Share Now

Leave a comment.