Prakash Adhikari May 4, 2023

 

काठमाडौं,२१ वैशाख। नेपाल धितोपत्र बोर्डले थप १३ वटा नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र दिएको छ। बोर्डको बुधबार बसेको संचालक समितिको बैठकले थप १३ वटा कम्पनीलाई ब्रोकरलाई आशय पत्र दिएको हो।

बोर्डले आवेदन दिएका अरु कम्पनीलाई पनि चरणबद्ध रुपमा आशय पत्र दिने जनाएको छ। बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनु अघि धमाधम ब्रोकरको आशयपत्र दिन थालेको छ।

बुधबार आशय पत्र दिएको कम्पनीमा सनराइज सेक्युरिटिज, जेबिएनएल सेक्युरिटीज, शेयर प्रो सेक्युरिटीज, स्टक्स्कार्टस सेक्युरिटीज,प्रोपर्टी विजार्ड, क्यापिटल हब, मिल्की वे सेयर ब्रोकर, ब्लु चिप सेक्युरिटी, गरिमा सेक्युरिटीज, कलश स्टक मार्केट, मनि वर्ल्ड सेयर एक्सचेन्ज, शुभकामना सेक्युरिटीज र मियो सेक्युरिटीज रहेका छन्।

बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि गत असोज २ गते एक सूचना जारी गर्दै ३० दिन भित्र आवेदन पेस गर्न आह्वान गरेको थियो।
बोर्डले धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावलीलाई पाँचौ पटक संशोधन गरी थप नयाँ ब्रोकर कम्पनीहरुका लागि दर्खास्त आह्वान गरेको थियो।

संशोधित नियमावली अनुसार बोर्डले ब्रोकर कम्पनीहरुलाई तीन तहमा विभाजन गरेको छ। सोही अनुसार चुक्ता पुँजी पनी फरक छ। जसमध्ये सीमित कार्य गर्ने ब्रोकर कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ, पूर्ण कार्यलाई ६० करोड रुपैयाँ र स्टक डिलरलाई डेढ अर्ब रुपैयाँ निर्धारण गरेको छ ।

बोर्डले नयाँ ब्रोकर कम्पनीलाई आयश पत्र दिएपछि कम्पनीहरुले बोर्डले तोकेको मापदण्ड अनुसार पूर्वाधार तयार पार्नुपर्छ । पूर्वाधार तयार पारेपछि सेबोनले अनुगमन गर्ने छ ।

अनुगमन गर्दा मापदण्ड पुरा गरेको पाएमा ब्रोकर लाईसेन्स पाउने छन् ।

नयाँ ब्रोकरका लागि ४५ वटा कम्पनीले आवेदन दिएका छन् ।

Share Now

Leave a comment.