काठमाडौं, २५ वैशाख(बीबीसी) । यो वर्ष जेठ १८ गतेदेखि मनसुन सुरु हुने र नेपालका विभिन्न भूभागमा औसतभन्दा कम वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
नेपालमा जेठको मध्यतिर मनसुन भित्रिन्छ र असोजको मध्यसम्म रहन्छ।
यसपालि जेठको १८ गतेदेखि मनसुन सुरु हुने ठानिए पनि तत्काल उक्त समयबारे यकिन भन्न नसकिने मौसमविद् गोविन्दकुमार झा बताउँनुहुन्छ ।
“यस पटकको मनसुनबारे आवश्यक अध्ययन गरिरहेका छौँ। त्यसैले अहिले नै कहिलेदेखि सुरु हुन्छ भन्न सकिँदैन। तर प्रणालीहरूमा केन्द्रित रहित गरिएको बृहत् आकलन अनुसार यस वर्ष औसतभन्दा कम पानी पर्न सक्ने देखिएको हो,” झाले भन्नुभयो।
उहाँका अनुसार समग्रमा न्यून वर्षाको सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ।
यद्यपि वाग्मती प्रदेशको दक्षिण(पूर्वी भूभाग, मधेश प्रदेशका अधिकांश भूभाग र कोसी प्रदेशको मध्य तथा उत्तर(पूर्वी भूभागमा भने सरदर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले सार्वजनिक गरेको मनसुनको हावापानी आकलनबारे एउटा प्रतिवेदनका अनुसार ती ठाउँमा औसत वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।
मनसुन अवधिभरि देशमा गर्मी बढ्न सक्ने समेत जनाइएको छ।
कहाँबाट सुरु हुन्छ मनसुन ?
मनसुन दक्षिण हिन्द महासागरबाट सुरु हुन्छ। दक्षिण(पूर्वी वायु बिस्तारै नेपाल प्रवेश गर्दा त्यसले वायुमण्डलको तल्लो भागमा असर पुर्याउँछ र वर्षा गराउँछ।
मनसुनको समयमा पूर्वी नेपालबाट पानी पर्न थाल्छ र मध्य भाग हुँदै पश्चिमतिर सर्छ। मनसुनको समयमा बिहानैदेखि कालो बादल मडारिएर वर्षा हुन्छ र जनजीवन प्रभावित पार्छ।

पानी पर्दा छाता ओढेर हिँडिरहेका महिलाहरू
प्रिमनसुनको वर्षा स्थानीय रूपमै विकसित हुन्छ। यो नेपाल र नेपाल वरपरको प्रणालीबाट विकसित भएर पानी पर्ने हो। यसबाट बन्ने बादलमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीको सम्भावना धेरै हुने तर मनसुनको वर्षा भने समुद्रबाट बनेर आउने हुँदा तुलनात्मक रूपमा हावाहुरी, चट्याङ कम हुने जानकारहरू बताउँछन्।
नेपालको हकमा मनसुनको समयमा कृषि क्षेत्र बढी प्रभावित हुने र प्राकृतिक प्रकोपको जोखिम बढ्ने बताउँनुहुन्छ वरिष्ठ मौसमविद् शान्ति कँडेल।
कृषिमा कस्तो प्रभाव ?
मनसुनमा सरदरभन्दा कम पानी परे वर्षे बाली लगाउने, सप्रने प्रक्रियादेखि उत्पादनसम्ममा असर पर्ने बताउनुहुन्छ कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ डा. महादेवप्रसाद पौडेल।
उहाँका अनुसार पानीको मात्रा सरदरभन्दा न्यून भएमा तराईमा “पानी मन पराउने बाली” धान र पहाडी भूभागमा मकै, कोदोजस्ता बालीको उत्पादनमा ह्रास आउन सक्छ।
“वर्षामा लगाउने खाद्यान्न समयमा समयमा रोप्न पाइँदैन। त्यसो हुँदा वृद्धि विकासको क्रममा नकारात्मक असर हुन्छ र बाली उत्पादन नै कम हुन्छ,” उहाँले भन्नुभयो।

खेतमा महिला
देशभरि खेतीयोग्य जमिनको ४० प्रतिशत भाग मात्र सिञ्चित हुन्छ। साठी प्रतिशत भाग सिञ्चित नहुने हुँदा वर्षाको पानीमा निर्भर हुनुपर्ने बताइन्छ।
“आवश्यक वर्षा हुँदा त हाम्रो उत्पादन पर्याप्त हुँदैन। अन्यत्रबाट आयात गर्नु पर्छ। वर्षा कम हुँदा त झन् बढी आयात गर्नुपर्ने स्थिति रहन्छ,” उहाँले भन्नुभयो।
अर्थविज्ञ डा. पौडेलले वर्षाले कृषि अर्थतन्त्रमा समेत प्रभाव पार्ने बताउनुभयो। अवस्था प्रतिकूल भएको खण्डमा, तराईको तुलनामा कम सिञ्चित क्षेत्र भएकाले पहाडमा बढी असर गर्छ।
“कृत्रिम माध्यमबाट सिँचाइ गर्न सकिने भएकाले तराईमा समस्याको समाधान केही सहज ढङ्गले हुन सक्छ। पहाडमा गाह्रो छ।“
त्यसैले दीर्घकालीन रूपमा सिञ्चित जमिन प्रवर्धन गर्नु र सुक्खा क्षेत्रहरूमा बाली बदल्नु वा कम पानीमा हुर्कनेरउत्पादन हुने बाली लगाउनुलाई उहाँ समाधानको रूपमा व्याख्या गर्नुहुन्छ।
“कृषि प्रणालीमा परिवर्तन आवश्यक छ,” उहाँले भन्नुभयो ।
वर्षामा बाढी तथा पहिरोका कारण पनि कृषिजन्य उत्पादनमा क्षति हुने जानकारहरू बताउँछन्।
विपद्को पाटो
मनसुनमा वर्षा कम हुने भनिए पनि यस मौसममा सम्भावित प्राकृतिक प्रकोप र जोखिमको क्षति कम गर्न तयारी अवस्थामा रहनु पर्ने बताउनुहुन्छ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्का।
बाढी, पहिरो र अविरल वर्षा तथा डुबानले गर्दा देशका विभिन्न स्थानमा समस्या पर्न सक्ने भएकाले प्राधिकरणले हरेक वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउँछ।
मौसम विज्ञान विभागको आकलन आइसकेकाले अब प्राधिकरणका विज्ञहरूले त्यसको विश्लेषण गर्ने र सल्लाहसुझाव अनुरूप योजना बनाउने खड्काले बताउनुभयो ।
नेपालमा पछिल्लो ११ वर्षमा मनसुनका बेला भएका विपद्का घटनामा दुई हजार तीन सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन्।
२०७९ मा ५ हजार ८ सय २५ वटा पहिरो र भारी वर्षाका घटनामा २ हजार ३ सय ६२ को मृत्यु भएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ। ती घटनामा ८ सय ८० जना बेपत्ता भएका छन्।
उक्त अवधिमा सबैभन्दा धेरै १ हजार ३ सय ८७ जनाले पहिरोमा परी ज्यान गुमाएको र १ हजार १ सय ३६ घाइते भएको जनाइएको छ।
जल उत्पन्न प्रकोपका कारण ११ वर्षमा २३ सय भन्दा बढीको मृत्यु, १९ अर्ब भन्दा बढीको क्षति
बाढीका कारण ८ स ५७ जना र भारी वर्षाका कारण १ सय १८ जनाको ज्यान गएको थियो। उक्त अवधिमा बाढीका कारण १ सय ९२ र भारी वर्षाका कारण ३ सय १८ जना घाइते भएका थिए।
“प्रकोप नै न्यूनीकरण गर्न त सकिँदैन। मनसुनको समय भएकाले क्षति कम गर्न चाहिँ हामीले आवश्यक पहल गर्छौँ। पर्याप्त भएजस्तो देखिँदैन तर जोखिममा रहेका बस्तीहरूबारे अध्ययनदेखि गोताखोरलाई उद्धार कार्यको तालिमजस्ता कार्य गत हिउँद मै गरिएको छ,” खड्काले भन्नुभयो।

मनसुनको आकलनको आधार
यस वर्षको मनसुन असोजको मध्येसँग रहने आकलन गरिएको छ। यस्तो आकलन सामुद्रिक, वायुमण्डलीय, भूमण्डलीय, हिममण्डलीय र जैविक प्रणालीमा आधारित भएको मौसम विभागले जनाएको छ।
विश्व मौसम सङ्गठनले विश्वभर तथा क्षेत्रीय जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूपहरूको आकलन, जल तथा मौसम विज्ञान विभागको हावापानी आकलन गर्ने प्रविधि र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आकलनमा सार्वजनिक प्रतिवेदन सार्वजनिक गरिएको उल्लेख गरिएको छ।
विभागले ३० वर्षयता भएको मनसुन वर्षाको तथ्याङ्कलाई आधार बनाएर औसत वा सरदर वर्षा मापन गरेको मौसमविद् गोविन्दकुमार झाले बताउनुभयो।


















