काठमाडौं, २५ वैशाख । अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा।.स्वर्णिम वाग्लेले सर्जरी गर्नुपर्ने अवस्थामा पुगेको अर्थतन्त्रलाई झारफूकले नहुने बताउनुभएको छ ।
सांसद वाग्ले अर्थमन्त्रीले प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको आगामी बजेटका सिद्धान्त, नीति र कार्यक्रमका सम्बन्धमा प्रतिनिधि सभाको बैठकमा बोल्दै सो कुरा बताउनुभएको होे ।
उहाँले वित्त नीतिमा लचिलो बन्ने स्पेस छैन भन्दै मौद्रिक उपकरणबाट अगाडि जान्छौं भन्ने अर्थमन्त्रीको भनाइ गलत भएको बताउनुभयो ।
आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद वाग्लेले खोज्न सक्ने हो र सिर्जनशील हुने हो भने लचिलो बन्ने पर्याप्त ठाउँ रहेको बताउनुभयो ।
उहाँले बजेटको सिद्धान्त तथा प्राथमिकतामा दीगो विकास र जलवायु परिवर्तनका कुरा आउनु सकारात्मक भएको बताउदै त्यसबाट अर्थतन्त्रमा कसरी अगाडि लैजाने भन्ने रोडम्याप नदेखिएको उल्लेख गर्नुभयो ।
‘अर्थमन्त्रीले वित्त नीतिमा लचिलो र रचनात्मक हुने अवस्था छैन, मौद्रिक उपकरणबाट मात्रै अगाडि जान्छौं भनेको सुनियो । यो गलत हो,’ अर्थविद् सांसद डा.वाग्लेले भन्नुभयो, ‘वित्त नीतिमा खोज्न सक्ने हो र सिर्जनशील हुने हो भने पर्याप्त ठाउँ छ । यसको लागि जलवायु परिवर्तन र दीगो विकासको मुद्दाबाट पनि अगाडि बढ्न सक्नुहुन्छ ।’
डा. वाग्लेले अब पहिलो जेनेरेसनको विकासको चुनौतीमा रुमलिनेभन्दा पनि दोस्रो जेनरेसनको विकास चुनौतीसँग अगाडि बढ्नु पर्ने बताउनुभयो ।
‘हिजोको धुले सडक, विद्यालय भवन र खानेपानी अहिलेको प्राथमिकता होइन। अब कसरी गुणस्तरीय शिक्षा र पूर्वाधार दिने भन्ने प्राथमिकता हुनपर्छ । जुन कुरा नीति तथा कार्यक्रम र बजेटमा कन्भिन्स हुनेगरी प्रतिविम्बित हुनुपर्छ,’ सांसद वाग्लेले भन्नुभयो, ‘बजेटको सिद्धान्त तथा प्राथमिकतामा त्यो पाइएन । यसमा सुधार गर्नुहोला भन्ने आग्रह छ ।’
बजेटको सिद्धान्त तथा प्राथमिकतामा निजी क्षेत्रको मनोबल बढाउने कुरा आउनु सकारात्मक भएको बताउदै डा. वाग्लेले भन्नुभयो ‘नेपाली कांग्रेसको घोषणापत्रमा ओम्नीबस आर्थिक सुधारको कुरा गरिएको छ । २४ देखि ४८ वटा ऐनको खारेजी र संशोधनको कुरा छन । आफ्नै घोषणापत्र पढेर कार्यान्वयन गरिदिनुहोला ।
उहाँले भन्नुभयो, ‘निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयमा न्याय गरिदिनुहोला। अब हैरानी र झन्झट्को दुष्चक्रबाट नेपाली अर्थतन्त्रलाई बाहिर ल्याउनुछ ।’
सरकारको बजेटको सिद्धान्त तथा प्राथमिकताबाट धेरै उत्साह हुने अवस्था नरहेको र नीति तथा कर्याक्रम र बजेटसम्म आउँदा उत्साह जगाउनेछ भन्ने विश्वास रहेको बताउदै डा. वाग्लेले भन्नुभयो, ‘सर्जरी खोजेको अर्थतन्त्रमा झारफुक गरेर उम्कने अवस्था छैन’ उनले भने।


















