Prakash Adhikari May 14, 2023

काठमाडौं, ३१ वैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उक्त चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएर उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बङ्गलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको छ ।

भारतको मौसम विज्ञान विभागका अनुसार ‘मोचा’ नाम दिइएको चक्रवातले २२० किलोमिटर प्रतिघण्टा (१३६ माइल प्रतिघण्टा) को गतिमा हावा चलिरहेको बताइएको छ ।

करिब १० लाख रोहिङ्ज्या शरणार्थीहरू बस्ने कमजोर आश्रयस्थल कोक्स बजार र म्यान्मारको पश्चिमी रखाइन तटमा रहेको सिट्वेको बीचमा आइतबार बिहान आँधी कमजोर हुने अनुमान गरिएको छ ।

एएफपीका संवाददाताका अनुसार शनिबार सिट्वेका बासिन्दाले कार, ट्रक र तीन पाङ्ग्रे (टेम्पो)मा आफ्नो सम्पत्ति र घरपालुवा जनावर जम्मा गरी सुरक्षित स्थलतर्फ हिँडेका छन् ।

“हाम्रो परिवारमा हजुरआमा हुनुहुन्छ र हामीले उहाँको हेरचाह गर्नुपर्छ,” खिने मिनले राज्यको राजधानीबाट बाहिरिने बाटोमा आफ्ना नातेदारहरूले भरिएको ट्रकबाट एएफपीलाई बताउनुभयो ।

“हाम्रो घरको हेरचाह गर्न सिट्वेमा एक जना मात्र मानिस बाँकी छन् ।

करिब एक लाख ५० हजार मानिसहरूको बसोबास रहेको यस शहरमा पसल र बजारहरू बन्द गरिएका थिए र धेरै स्थानीयहरू अग्ला स्थानमा रहेका गुम्बाहरूमा आश्रय लिएका थिए । आँधीका कारण सबै जना सुरक्षितस्थलतर्फ भागेको बताउँदै चालीस वर्षीय क्याव टिनले आफ्नो छोरा स्थानीय अस्पतालमा रहेकाले त्यहाँबाट बाहिर जान नसक्ने बताए ।

“यो चक्रवात हाम्रो राज्यमा आउनेछैन भन्नेमा हामी आशावादी छौँ । तर यदि यस्तो नियति भयो भने हामी यसलाई नजरअन्दाज गर्न सक्दैनौं,” उहाँले भन्नुभयो ।

सन् २००८ मा दक्षिणी म्यान्मारमा एक लाख ३० हजारभन्दा बढी मानिसको ज्यान जाने गरी आएको आँधीलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, “मलाई चिन्ता छ कि यो चक्रवातले ‘नरगिस’ले जस्तै हाम्रो राज्यलाई पनि असर गर्नेछ ।”

म्यान्मारको जुन्टा अधिकारीहरूले राखिन तटमा रहेका गाउँहरूबाट स्थानान्तरणको निगरानी गरिरहेको सरकारी सञ्चार माध्यमहरूले शुक्रबार जनाएका छन् ।

म्यान्मार एयरवेज इन्टरनेसनलले रखाइन राज्यका लागि आफ्ना सबै उडान सोमबारसम्मका लागि स्थगन गरिएको जनाएको छ ।

बङ्गालको खाडीमा एक दशकभन्दा लामो समयदेखिको सबैभन्दा शक्तिशाली चक्रवातका कारण म्यानमारको पश्चिमी तटबाट हजारौं मानिस भागेका छन् भने छिमेकी देश बङ्गलादेशका अधिकारीहरू शनिबार रोहिंग्या शरणार्थीलाई बाहिर निकाल्न दौडेका छन् ।

नेपालमा भने  देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

Share Now

Leave a comment.