मार्तडी(बझाड.), १६ असोज । बझाङको चैनपुर केन्द्रबिन्दु भएर मङ्गलवार अपराह्ण गएको ६।३ म्याग्निट्यूडको भूकम्पका कारण कम्तीमा १२ जना घाइते हुनुका साथै कैयौँ घर तथा कार्यालय भवनहरू भत्किएका अधिकारीहरूले बताएका छन्।
बझाङमा त्यसअघि ५.३ म्याग्निट्यूडको भूकम्प गएको थियो भने त्यसपछि पनि परकम्पहरू गइरहेका विवरण आएका छन्।
बझाङको छिमेकी जिल्ला बैतडीमा पनि केही मानिसहरू घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये एक जनाको खुट्टा भाँचिएको र अधिकांश घाइतेहरू विद्यार्थी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
उनीहरूमध्ये कतिपय विद्यालयबाट घर फर्कँदै गर्दा, केही विद्यालयमै ढुङ्गा खसेर, केही पहिरोमा परेर र केही भागदौडमा घाइते भएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख भरत बोहराका अनुसार ती मानिसहरू भूकम्प जाँदा खसेको ढुङ्गा, पहिरो र पर्खाल भत्किँदा घाइते भएका हुन्।
घाइतेहरूको अवस्था सामान्य भएको बताइएको छ। भूकम्पले सुदूरपश्चिमका बझाङ, बाजुरा, बैतडी, अछामलगायतका जिल्लामा केही घर, विद्यालय, वडा कार्यालय र प्रहरीका चौकीहरू भत्किनुका साथै चर्किएका छन्।
खानी तथा भूगर्भ विभागले अपराह्ण ३ः०६ मिनेट जाँदा बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निट्यूडको भूकम्प मापन गरिएको थियो।
उक्त भूकम्पको धक्का बझाङ आसपासका जिल्लाहरूसहित भारतको राजधानी दिल्लीसम्म महसुस गरिएको विवरणहरू आएका छन्।
भूकम्पको असर कर्णाली प्रदेश विभिन्न जिल्लाहरूमा परेको छ।
भूकम्प जाँदा कैयौँ स्थानीय घरबाहिर निस्कनुका साथै कतिपय ठाउँमा भगदौड पनि भएको विवरण आएका छन्।
बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले भूकम्पबाट भएको भौतिक तथा मानवीय क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभएको छ।
“हामीले मातहतका निकासहरूबाट क्षति भए नभएको बुझ्ने कोसिस गरिरहेका छौँ। हालसम्म कुनै पनि हताहतिको विवरण प्राप्त भइसकेको छैन”, उहाँले भन्नुभएको छ।
कस्तो क्षति
बझाङमा परकम्प गइरहेको विभागले जनाएको छ।
पाण्डेयका अनुसार भूकम्पका कारण आएको सुक्खा पहिरोका कारण बझाङलाई कैलालीको धनगढीसँग जोड्ने जयपृथ्वी लोकमार्ग अवरुद्ध भएको छ।
खोर्पे चैनपुर खण्डमा पहिरोले सडक अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको जानकारी प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले दिनुभएको छ।
“अहिले पनि ससाना परकम्पहरू आइरहेका कारण मशीनहरू तयारी अवस्थामा भए पनि प्रयोग गरेका छैनौँ “, उहाँले भन्नुभयो।
भूकम्पका कारण आएको पहिरोमा परी बझाङको तल्कोट गाउँपालिकाको जालेबगरमा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो।
भूकम्पले गर्दा बझाङको सदरमुकाम चैनपुरसहित, जयपृथ्वीबहादुर सिंह नगरपालिका र तल्कोट नगरपालिकाका विभिन्न ठाउँहरूमा विद्यालय भवन, वडा कार्यालयका भवन र सर्वसाधारणका थुप्रै घरहरू भत्किएको र चर्किएको विष्टले बताउनुभयो।
भूकम्पका कारण झरेका ढुङ्गा लागेर कतिपय ठाउँमा पशुचौपाया पनि मरेको उनले बताए। उनका अनुसार क्षतिको थप विवरण सङ्कलन गर्ने काम भइरहेको छ।
अरू भूकम्प पनि मापन
विभागका अनुसार ३ः४५ बजे पनि ४.० म्याग्निट्यूडभन्दा ठूलो परकम्प मापन भएको र सुर्खेत मापन केन्द्रसँगको समन्वयमा म्याग्निट्यूड निर्क्योल गर्ने काम भइरहेको छ।
त्यसअघि दिउँसो २ः४० बजे बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निट्यूडको भूकम्प गएको विभागले जनाएको छ।
प्रजिअ पाण्डेयले सदरमुकाम क्षेत्रमा भूकम्पले कुनै भौतिक तथा मानवीय क्षति नपुर्याएको प्रारम्भिक विवरण आएको बताउनुभयो।
पश्चिम नेपालमा भूकम्पको जोखिम कति ठूलो?
गत वर्ष कात्तिक महिनामा डोटी जिल्लामा लोकल म्याग्निट्यूड ६.६ को भूकम्प गएको थियो। उक्त भूकम्पका कारण धनजनको पनि क्षति भएको थियो। त्यसपछि त्यहाँ धेरै परकम्पहरू मापन गरिएको थियो।
बाजुरा र छिमेकी जिल्लाहरूमा गत वर्षदेखि अहिलेसम्म ४.० म्याग्निट्यूड वा त्योभन्दा माथिका दर्जनौँ भूकम्पहरू गएका छन्। यसबाट उक्त क्षेत्रमा भूकम्पीय गतिविधि बढेको देखिने विज्ञहरू बताउँछन्।
पश्चिम नेपालमा ५०० वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्हरू बताउँछन्।
तर अहिले गएका भूकम्पहरू भूगर्भमा सञ्चित ऊर्जा निष्कासनका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ।
गत वर्ष बीबीसीसँग कुरा गर्दै राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा भूकम्प जाने ठूलो जोखिम भएको बताउनुभएको थियो।
सन् १५०५ मा उक्त क्षेत्रमा भूकम्पका कारण ठूलो विनाश भएको थियो।
यस्तो छ पश्चिम नेपालमा भूकम्पको शृङ्खला
- कार्तिक २२, २०७९ः ५.७, डोटी
- कार्तिक २२,२०७९ः ४.१, डोटी
- कार्तिक २३,२०७९ः ६.६, डोटी
- कार्तिक २४,२०७९ः ४.१, बाजुरा
- कार्तिक २६,२०७९ः ५.४, बझाङ
- कार्तिक २९,२०७९ः ४.२, अछाम
- पौष ७,२०७९ः ४.१, दार्चुला
- पौष ८,२०७९ः ४.६, डोल्पा
- माघ १०,२०७९ः ५.९, बाजुरा
- माघ १२,२०७९ः ४.१, बाजुरा
- माघ १८, २०७९: ४.०, बाजुरा
- फागुन ११, २०७९: ५.२, बाजुरा
- फागुन २१, २०७९: ४.४, अछाम
- फागुन २९, २०७९: ४.४, दैलेख
- चैत १०, २०७९: ४.५, मुगु
- चैत १२, २०७९: ४.३, बाजुरा
- वैशाख १०, २०८०: ४.१, बाजुरा
- वैशाख १४, २०८०: ४.९, बाजुरा
- वैशाख १८, २०८०: ५.९, बाजुरा
- वैशाख २१, २०८०: ४.१, बाजुरा
- जेठ ८, २०८०: ४.१, बाजुरा
(बीबीसीबाट)


















