काठमाडौं, २३ असोज । एरिका गुरुङले कराँतेमा पाइला अगाडि बढाएको धेरै भएको छैन। उनी राष्ट्रिय कराँते टोलीकी ‘नयाँ’ अनुहार हुन्।
अन्तर्राष्ट्रिय सफलता पाउन खेलाडी वर्षौँ तपस्या गर्छन्। विजय/पराजयका लामो अनुभवबाट निखारिएपछि बल्ल पदकका लागि योग्य बन्छन्। त्यस्ता ‘स्टार’ खेलाडीहरू पदकका दाबेदार पनि हुन्छन्।
तर एरिका गुरुङले सफलताको परिचय नै बदलिदिएकी छिन्।
न एरिकाले यसअघि कुनै दक्षिण एसियाली खेलकुदमा खेलेकी थिइन्, न त यसअघि कहिल्यै राष्ट्रिय टिममा नै परिन्।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको कुरा गर्ने हो भने हालै मात्र उनी पहिले इन्डोनेसियामा विश्व कराँते च्याम्पियनशिप खेलेर उतैबाट चीन पुगेकी थिइनन् ।
र, पहिलो पटक राष्ट्रिय टोलीमा परेकी उनले पहिलो सहभागिता (इन्डोनेसियासहित दोस्रो) मा नै यस्तो परिपक्व खेल पस्किइन् कि नेपालले एशियाली खेलकुदमा कराँतेबाट ऐतिहासिक रजत पदक प्राप्त गर्यो।
जितपछि उनले सहज रूपमा भनिन्, ” राम्ररी खेल्ने हो भने त एशियाली खेलकुदमा पनि स्वर्ण पदक जित्न सकिने रहेछ।”
भर्खर १९ वर्ष पुगेकी एरिका नेपाली खेलकुदको नयाँ ‘स्टार’का रूपमा उदाएकी छिन्।
‘आमाले देखाएको बाटो’

कैयौँ आमाबुबा अझै पनि आफ्ना छोरी खेलकुदमा नलागून भन्ने चाहन्छन्।
एरिकालाई भने उनकी आमा रत्न गुरुङले हात समाउँदै आफ्नो डेराबाट १० मिनेट टाढा रहेको मनमैजु डोजाङमा पुर्याएकी एरिका बताउँछिन्।
धादिङ जिल्ला, नीलकण्ठ गाउँपालिका-१३ लाहुरे गाउँकी एरिका सानैदेखि मनमैजुमा हुर्किएकी हुन्।
आमाले डोजाङमा पुराउँदासम्म एरिकालाई कराँतेको विषयमा धेरै थाहा थिएन।
डोजाङमा आफ्ना साथीहरू पनि रहेकोले सुरुमा उनलाई त्यहाँको वातावरण मन परेछ।
खेल्न थालेपछि भने उनलाई कराँते राम्रो लाग्दै गयो। के राम्रो लाग्यो त कराँते खेलमा ? उनी भन्छिन्, “हार नमान्ने कला।”
उनी थप्छिन्, ” हार्यो भने जित्न मन लाग्ने, जित्यो भने अर्को खेल पनि जित्न मन लाग्ने हुन्थ्यो।”
तर प्रतिस्पर्धाको मैदानमा उत्रिएर जित हात पार्न भने उनले मेहनत गर्नु पर्यो।
उनलाई याद छ- सुरुमा खेलेको एउटा डोजाङ प्रतिस्पर्धामा उनी तेस्रो भएकी थिइन्। त्यसपछि त्यस्ता प्रतियोगिताहरूमा हार जितको शृङ्खला चलिरह्यो।
६ वर्ष अगाडि उनी पहिलो पटक ५० औँ राष्ट्रिय कराँते च्याम्पियनशिपमा उनी ठूलो कोर्टमा उत्रिएकी थिइन्। त्यसमा उनले हारको सामना गरिन्।
कराँतेमा मज्जाले भिजिसकेकी एरिकाको खेलमा निरन्तरता नै शक्ति रहेको मान्छिन्।
त्यसपछि उनले दाङमा भएको आठौँ राष्ट्रिय प्रतियोगितामा भाग लिइन्। तेस्रो भइन्। स्व. कृष्ण प्रसाद स्मृति कराँते खेलिन्। हारिन्।
दोस्रो कृष्ण प्रसाद स्मृति कराँतेमा भने उनले स्वर्ण पदक जितेकी हुन्। त्यसपछि ६८ केजी तौल समूहमा उनको जितको क्रम सुरु हुन थाल्यो। नवौँ राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितिन्।
यद्यपि १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा उनी कम उमेर (१८ वर्ष मुनी)का कारण क्याम्प पनि परेकी थिइनन्। भन्छिन्, ” खै त्यो बेलासम्म त म कहाँ थिएँ थिएँ। ”
तर उनलाई साग खेल्ने कराँते खेलाडीहरू र उनीहरूको प्रदर्शन भने कण्ठ नै थियो।
एशियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरुङका अबका योजना के छन्?
१९औँ एशियाली खेलकुदको लागि भएको खुल्ला छनोटमा भने राष्ट्रिय प्रतिस्पर्धाको लागि तयार बनेर आइन्। गत चैत १५ गते कराँतेको खुल्ला छनोट थियो । जसमा सहभागी ४८ खेलाडीमा उनी पनि एक थिइन्।
बन्द प्रशिक्षण पछि भएको अन्तिम छनोटमा उनले आफ्नो तौल समूहमा रहेको सबै ७ खेलाडीलाई पराजित गरी एसियाडलाई छानिइन्।
पहिलो बन्द प्रशिक्षणको अनुभव र एसियाडकै तयारीको क्रममा विश्व च्याम्पियनशिपमा भाग लिन उनी इन्डोनेसियामा पुगेकी थिइन्। जहाँ उनले फाइनलमा चाइनिज ताइपेईकी खेलाडीलाई हराउँदै स्वर्ण पदक जितिन्।
एसियाली खेलकुदमा भाग लिनु पूर्व जितेको यो स्वर्णले उनको आत्मविश्वास बलियो बनाउन मद्दत पुग्यो।

बलियो आत्मविश्वास
एरिकाको बलियो पक्ष के हो ? उनका प्रशिक्षक कुशल श्रेष्ठ भन्छन्, “एरिकाको हात चलाउने गति राम्रो छ। अनि खुट्टाले प्रहार गर्दाको टाइमिङ सही हुने गर्छ। तर त्यो भन्दा बढी उनको शक्ति भनेको आत्मविश्वास हो। उनी कोही प्रतिद्वन्द्वीसँग पनि डराउँदिनन्। ”
जब एरिकाको पहिलो प्रतिद्वन्द्वी जापानी खेलाडी विश्व वरीयताको पाँचौँ नम्बरको भन्ने थाहा भयो। कुशलले खेलाडी नर्भस हुन सक्छ भनेर प्रतिद्वन्द्वीको बारेमा लुकाएछन्।
तर आजभोलिका खेलाडीहरूलाई त्यो थाहा नहुने भन्ने कहाँ हुन्छ र। एरिकाले पहिले नै थाहा पाइसकेकी थिइन्।
तर भन्छिन्, ” गुरुहरूले यस्तरी ‘माइन्ड सेट’ गरिदिएका थिए कि अगाडि को छ भन्नेमा ध्यान नै गएन। स्कोरमा मात्र केन्द्रित भएँ।”
लक्ष्य
५ फिट ८ इन्च अग्ली गोरी एरिकालाई देख्दा नै लाग्छ – यी त पक्का खेलाडी नै हुन्।
उनीसँग एक छिन कुरा गरेपछि थाहा हुन्छ कि सामान्य विचार राख्ने उनमा सफलता पाउने भोक छ, तर घमण्ड पटक्कै छैन।
ब्ल्याकबेल्ट पहिलो डान प्राप्त गरेकी एरिका नेपाल प्रहरीमा आबद्ध छिन्।
पदक जितेर रातारात चर्चा कमाएकी एरिकाले त्यसलाई निकै सहज रूपमा लिएको देखिन्छ। उनी यसलाई सफलताको सुरुआत भन्न रुचाउँछिन्।
उनी भन्छिन्, “अझ धेरै गर्ने उत्साह जागेको छ।”
ऐतिहासिक पदक जितेसँगै बधाईको ओइरो आइरहेकोमा उनी दङ्ग नपर्ने त कुरै भएन। यो रजत पदक कस्तो लाग्यो त? यो प्रश्नमा मुस्काउँदै उनले भनिन्, ” पदक भन्दा पनि त्यसपछि पाइरहेको माया राम्रो लागिरहेको छ।”



















