Prakash Adhikari April 25, 2018

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), १२ बैशाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी एमानुएल माक्रोंले इरानको पारमाणविक कार्यक्रमबारे एउटा नयाँ सम्झौता हुन सक्ने बताएका छन्।

सन् २०१५ मा भएको सम्झौताप्रति शंका व्यक्त गर्दै आएका ट्रम्पले माक्रोंसँगको वार्तापछि ‘केही ठूलो, सम्भवतः सम्झौता हुन सक्ने’ बताए।

माक्रोंले नयाँ सम्झौताले इरानको बलिस्टिक क्षेप्यास्त्र तथा मध्यपूर्वमा उसको भूमिकासम्बन्धी विषयलाई पनि समेट्नुपर्ने बताए।

इरानले सन् २०१५ मा भएको अन्तर्राष्ट्रिय सम्झौताबाट अमेरिका बाहिरिए त्यसले ‘गम्भीर परिणाम निम्त्याउने’ चेतावनी दिएको छ।

चेतावनी
सन् २०१५ मा इरानले आफूविरूद्धका प्रतिबन्धहरू खुकुलो पारिने बदलामा आफ्ना पारमाणविक कार्यक्रम स्थगित गर्ने सहमति जनाएको थियो।

तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा इरान र विश्व शक्ति राष्ट्रहरूबीच मे १२ सम्म लागू रहने गरी भएको सम्झौताको म्याद नथप्ने विषयमा सहमति नजानाउने ट्रम्पले चेतावनी दिँदै आएका छन्।


इरानी विदेशमन्त्री जवाद जारिफ
तर माक्रोंले उक्त सम्झौताप्रति प्रतिबद्ध रहन ट्रम्पलाई मनाउने प्रयास गरिरहेका छन्।

उनले उक्त सम्झौताभन्दा अरू कुनै राम्रो विकल्प नभएको तर्क गर्दै आएका छन्।

शान्तिपूर्ण
इरानसँगको सम्झौता विफल नतुल्याउन ट्रम्पलाई मनाउने प्रयासमा जर्मन चान्सलर एंगेला मर्केलले शुक्रवार अमेरिकाको भ्रमण गर्दैछिन्।

इरानी विदेशमन्त्री जवाद जारिफले उक्त सम्झौताबाट अमेरिका बाहिरिए तेहरानले पनि त्यसलाई ‘त्याग्ने सम्भावना’ रहेको बताएका छन्।

यसअघि सोमवार इरानी राष्ट्रपति हसन रूहानीले पारमाणविक सम्झौताबाट अमेरिका अलग भए त्यसले ‘गम्भीर परिणाम निम्त्याउने’ चेतावनी दिएका थिए।

इरानले आफ्नो पारमाणविक कार्यक्रम नितान्त शान्तिपूर्ण र गैरसैनिक प्रयोजनका लागि भएको बताउँदै आएको छ।

 

Share Now

Leave a comment.