काठमाडौं, २५ बैशाख । नेपाल धितोपत्र बोर्डले बैशाख २६ र २७ गते काठमाडौंको भृकुटी मण्डपमा पुँजी बजारको प्रदर्शनी आयोजना गर्ने भएको छ ।
प्रर्दशनीमा नेप्से, सिडीएस एण्ड क्लियरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर, क्रेडिट रेटिङ लगायत १ सय ७० वटा स्टल रहने आयोजक धितोपत्र बोर्डले जनाएको छ । स्टल मार्फत लगानीकर्ताले धितोपत्र बजारबारे जानकारी पाउनेछन् । प्रदर्शनीमा धितोपत्र सम्बन्धी अध्ययन सामग्री निःशुल्क प्रदान गरिने बोर्डले जनाएको छ ।
सिआश्वा र कारबाही नौ महिनाका उपलब्धि
पत्रकार सम्मेलनका अवसरमा बोर्डले आफ्नो ९ महिने कार्य प्रगति विवरण सार्बजनिक गरेको छ । प्रगति विवरणमा उल्लेख भए अनुसार फागुन ११ गतेदेखि सी(आश्वा अनिवार्य गरिएको छ र यसले शेयर निष्काशनदेखि कारोबारको अवधि ६ महिनाबाट ५० दिनमा झारेको छ ।
त्यस्तै बोर्डले कम्पनीको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशनमा हरेक आवेदकलाई न्युनतम १० कित्ता अनिवार्य शेयर बाँडफाड गर्नु पर्ने नियम लागु गरेको छ भने जलविद्युत कम्पनीको शेयरको निष्काशनमा थप विवरण खुलाउनु पर्ने ब्यबस्था गरिएको छ ।
बोर्डले मार्जिन ट्रेडिङ सम्बन्धी कार्याविधि अन्तिम चरणमा पुगेको तथा इन्टरनेटबाट शेयर खरिद बिक्रि आदेश दिन सकिने ब्यबस्था गरिएकोको बिषय पनि प्रगति विवरणमा समेटेको छ ।
यस्तै मर्चेन्ट बैंकरको चुक्ता पूँजी तीन गुणाभन्दा बढीले बृद्धि गर्नुका साथै संगठित संस्थाको संरचनामा हेरफेर, व्यावसायिक योजना, लोन सिण्डिकेसन, वर्किङ कयापिटल फाइनान्सिङ, भेन्चर क्यापिटल, हेज फण्ड लगायत कार्य गर्न सक्ने गरी कार्यक्षेत्रको विस्तार गरिएको विषयलाई पनि बोर्डले पूँजी बजारको विकास र विस्तारमा गरिएको उल्लेख्य कामको रुपमा लिएको छ ।
बोर्डले सूचिकृत जलविद्युत कम्पनीको नक्कली सेयर कारोबार गरेको भन्दै दुइ ब्रोकर कम्पनीलाई जरिवाना गरेको बिषय पनि प्रगति विवरणमा अटाएको छ ।