मुम्बई, २५ बैशाख । बलिउड अभिनेत्री मनीषा कोइराला राजकुमार हिरानीको नयाँ फिल्म ‘सञ्जु’ मा पाएको भूमिकामा निकै सन्तुष्ट देखिएकी छन् ।
सञ्जुमा मनिषालाई संजय दत्तकी आमा तथा अभिनेत्री नर्गिस दत्तको भूमिका दिइएको थियो । यो फिल्ममा उनको भूमिका निर्वाह गर्नु सम्मानको कुरा रहेको मनीषाले बताएकी छिन् ।
यूसुफ मर्चेटको किताब ‘ह्याप्पीनेस-लाइफ लेसन फ्रम ए क्रिएटिभ एडिक्ट’ सार्वजनिक गर्दै उनले ‘सञ्जु’ मा निर्वाह गरेको भूमिकाको विषयमा पत्रकारसंग कुराकानी गरेकी हुन् ।
उनी भन्छिन्, “यो कुनै पनि अभिनेत्रीका लागि एक ‘ड्रिम रोल’ हो । फिल्ममा मेरो छोटो रोल छ । म अतिथि भूमिकामा छु । तर म फिल्म र आफ्नो भूमिकालाई लिएर निकै उत्साहित छु ।”
‘सञ्जु’ अभिनेता सञ्जय दत्तको जीवनमा आधारित छ । यो फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । विधू विनोद चोपडा उक्त फिल्मका निर्माता हुन् ।
फिल्ममा रणवीर कपूरले संजय दत्तको भूमिका निर्वाहा गरेका छन् ।
यो फिल्म २९ जूनमा रिलिज हुँदैछ ।
‘सञ्जु’ मा अनुष्का शर्मा, सोनम कपूर, परेश रावल, मनीषा कोइराला, जिम सरभ, विक्की कौशल, बोमन ईरानी, दीया मिर्जा र करिश्मा तन्ना प्रमुख भूमिकामा छन् ।