काठमाडौँ, २८ फागुन । राष्ट्रिय सभाको अध्यक्ष पदमा सत्ता गठबन्धनका नारायण दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्माबीच प्रतिस्पर्धा हुने भएको छ ।
नयाँ सत्ता गठबन्धन कायम गर्दा राष्ट्रिय सभाको अध्यक्ष सत्ताको नेतृत्व गर्ने नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)लाई दिने सहमति भएको थियो । नेकपा माओवादी केन्द्रको आइतबार बसेको बैठकले राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पदाधिकारी बैठकले सांसद दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले दिनुभएको छ ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि सोमबार बिहान ११ देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ । यही फागुन २९ गते मङ्गलबार राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदैछ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन ३० गते लिने विश्वासको मतका सम्बन्धमा पनि छलफल भएको थियो । प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले सोही दिन विश्वासको मत लिने कार्यक्रम छ ।
शर्मालाई उम्मेदवार बनाउँदै कांग्रेस
नेपाली कांग्रेसले यही फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्ष पदमा पार्टीका तर्फबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आज उहाँको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट शर्माको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।
बैठकले शर्माको पक्षमा मतदान गर्न राष्ट्रियसभामा रहेका अन्य राजनीतिक दल तथा सदस्यहरुसँग अनुरोध गर्ने निर्णय गरेको संसदीय दलका नेताको सचिवालयले जनाएको छ ।