सञ्जय ढकाल / बीबीसी न्यूज नेपाली
काठमाडौं, १८ बैशाख । अनुभवी पर्वतारोही फुर्वा तेन्जिङ शेर्पा हालैका वर्षहरूमा हिमालयको बदलिँदो रूप देखेर चिन्तित हुनुहुन्छ।
हिमालयको काखमा रहेको रोल्वालिङस्थित आफ्नो घरको झ्याल खोल्दा विगतमा देखिने सेतो हिउँले ढाकिएको हिमालको दृश्य उहाँको स्मरणमा ताजै छ।
“हरेक जाडो मौसममा त्यहाँ पटकपटक ठूलो हिमपात हुन्थ्यो। हिउँको थुप्रोले मानिसनै पुर्ला जस्तो हुन्थ्यो। तर अहिले त्यस्तो हुँदैन। हिउँददेखि लिएर वैशाखसम्मै सेताम्मे हुने हिमालहरू अचेल काला चट्टानजस्ता देखिन्छन्,” उहाँले भन्नुभयो।
अर्का अनुभवी आरोही छिरिङ पेम्बा शेर्पा यस हिउँदमा पर्याप्त हिमपात नभएकाले सगरमाथा आरोहणमा अप्रत्याशित जोखिम हुन सक्ने चिन्ता व्यक्त गर्नुहुन्छ।
“यसपालि वसन्त आरोहणको मौसममा हिउँको खाडल खर्पास (क्रिभास)माथि पातलो हिउँ मात्र होला, त्यसमा खस्ने जोखिम बढ्छ”, उहाँले भन्नुभयो।
गत वर्ष खुम्बु आइसफल क्षेत्रमा ज्यान गुमाएका आफ्ना तीन शेर्पा साथीलाई सम्झँदा उहाँको अनुहार मलिन हुन्छ।
ती तीन जना त्यहीँको खर्पासमा खसेको उहाँको अनुमान छ। बढ्दो तापक्रमको प्रभावका कारण हरेक वर्ष खर्पास अर्थात् बरफमा परेका चिरा फराकिलो र अझ खतरनाक हुँदै गइरहेका ठानिन्छ।
छिरिङ पेम्बा शेर्पाले १० र फुर्वा तेन्जिङ शेर्पाले १५ पटक सगरमाथा आरोहण गरिसक्नुभएको छ।
दुवै जना यो वसन्त याममा पनि सगरमाथा चढ्ने सुरमा हुनुहुन्छ। तर उहाँहरू चिन्तित पनि हुनुहुन्छ। उहाँहरूको चिन्ताको एउटा ठूलो कारण हिमालय क्षेत्रमा यस हिउँदमा कम मात्रामा हिमपात हुनु हो।
आरोहीहरूको विचारमा यसले आरोहीहरूको काम अझ कठिन र जोखिमपूर्ण बनाउन सक्छ।
‘आरोहण जोखिमपूर्ण’
आङ सार्की शेर्पा अनुभवी आइसफल डाक्टर हुनुहुन्छ।
उच्च दक्षता भएका अनुभवी आरोहीहरू हिमालमा डोरी मिलाउन र प्रत्येक मौसममा आरोहणको बाटो तय गर्न खट्नुहुन्छ। उहाँहरू अन्य आरोहीहरूभन्दा धेरै अगाडि सगरमाथा क्षेत्र पुग्नुहुन्छ। उहाँहरू नै आइसफल डाक्टर हुनुहुन्छ।
“हरेक वर्ष हामीले खर्पासहरू अझ फराकिलो हुँदै गएको र खतरा बढ्दै गएको पाउँँछौँ “, उहाँले भन्नुभयो।
दुवै आरोही छिरिङ पेम्बा शेर्पा र फुर्वा तेन्जिङ शेर्पा यसमा सहमत हुनुहुन्छ।
“जब हिउँदमा हिउँ कम परेको हुन्छ, खर्पासहरू एकदम पातलो गरी ढाकिएका हुन्छन्। त्यसमा गल्तीले टेकिने र खसिने सम्भावना धेरै हुन्छ। खुम्बु आइसफल क्षेत्रमा यस्तो खतरा बढी देखिन्छ,” छिरिङ पेम्बा शेर्पाले भन्नुभयो, “वास्तवमा आइसफलको एउटा क्षेत्र जसलाई हामीले फराकिलो र समतल भएकाले फुटबल मैदान भन्थ्यौँ, त्यो निकै सङ्कुचित भएको छ। अब त त्यहाँ मुस्किलले १० २० पर्वतारोहीहरू मात्र अट्ने ठाउँ बाँकी छ।”
खुम्बु आइसफल क्षेत्रमा सेराक भनिने ठूलाठूला आइसटावरहरू अस्थिर बन्दै गएका अनि खाल्डाहरू फराकिलो बन्दै गएको फुर्वा तेन्जिङ शेर्पा बताउनुहुन्छ।
“परिणामस्वरूप आइसफल क्षेत्रमा वसन्त याममा पनि पानी बगिरहेका स-साना खोल्सा देख्न सकिन्छ ( विगतको तुलनामा अनौठो दृश्य।”
हिउँ पग्लने उच्च दरका कारण ‘चिप्लो र पग्लँदो हिउँ’ माथि हिँड्नुपर्ने भएकाले आरोहणमा कठिनाइ थपिएको उहाँ बताउँनुहुन्छ।
केही स्थानहरूमा, बरफ पग्लँदा मुनिका चट्टानहरू देखिन्छन्।
“हाम्रा आरोहणका सरसामान प्रायस् बरफको सतहमा चढ्नका लागि उपयुक्त छन्। हामीले लगाउने क्र्याम्पन्स (हिमाल चढ्नका लागि लगाइने विशेष जुत्ताहरू( वा हामीले राख्ने डोरीहरू सबै कडा बरफमा काम गर्न डिजाइन गरिएका हुन्। ती अस्थिर हुँदा हाम्रो आरोहण पनि जोखिमपूर्ण बन्छ ?, सगरमाथाको उचाइ मापनको सरकारी अभियानमा संलग्न सर्वेक्षक खिमलाल गौतम भन्नुहुन्छ।
“यसले आरोहणमा दुर्घटनाको जोखिम बढाउन सक्छ किनभने बरफ पर्याप्त कडा नभएको खण्डमा क्र्याम्पनले राम्रो पकड पाउँदैन”, दुई पटक सगरमाथा आरोहण गरिसकेका गौतमले भन्नुभयो।
अधिकारीहरू पनि यस क्षेत्रमा बढ्दो जोखिमलाई लिएर चिन्तित देखिन्छन्।
“सन् २०१४ र २०१५ मा आएका ठूला हिमपहिरोपछि हामीले यस क्षेत्रलाई सुरक्षित बनाउन आरोहण मार्ग अलि दक्षिणतर्फ सारेका थियौँ,” नेपाल सरकारको पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले भन्नुभयो।
हिमनदीहरूको अध्ययन गर्ने विधा ग्लेसिओलजीका विज्ञ एवं हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अध्ययन तथा पर्वतीय उचाइमा रहेको मौसम केन्द्र स्थापना गर्ने कार्यमा संलग्न प्राध्यापक पोल मेयुस्की आगामी दिनहरूमा आरोहण कार्य अझ कठिन हुने ठान्छन्।
“हिमनदीहरू सङ्कुचित हुन थालेपछि झन् खतरनाक हुने छन् र हिमनदीहरूबाट बग्ने धाराहरू बढ्दै जाने छन्। उदाहरणका लागि, सगरमाथा आधारशिविरजस्ता ठाउँमा थप सिङ्कहोल (भ्वाङ) हुने छन्”, अमेरिकाको मेन यूनिभर्सिटीका क्लाइमेट चेन्ज इन्स्टिट्यूटका निर्देशक प्राध्यापक मेयुस्कीले भन्नुभयो।
आङ सार्की शेर्पाजस्ता आइसफल डाक्टरहरू को भूमिका झनै महत्त्वपूर्ण र अझ खतरनाक हुने उनको अनुमान छ। किनभने नाङ्गा चट्टानहरू देखिँदै जाँदा आरोहणको मार्ग परिवर्तन गर्नुपर्ने थप सम्भावनाू हुन्छ।
कठोर भूभाग
सगरमाथा आरोहणमा सधैँ जोखिम हुन्छ( जलवायु परिवर्तन हुँदा वा नहुँदा पनि।
सन् २०२३ सम्ममा ८,००० जनाभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेका छन् भने ३०० जनाभन्दा बढीले ज्यान गुमाएका छन्।
कुनैकुनै वर्षमा मौसमसँग सम्बन्धित विपद्का घटनाहरूका कारण पर्वतारोही हताहत हुने सङ्ख्यामा वृद्धि भएको देखिन्छ।
सन् २०१४ मा ठूलो हिमपहिरोमा १६ आरोहीको मृत्यु भएको थियो भने २०१५ मा गएको ठूलो भूकम्पका कारण त्यहाँ आएको हिमपहिरोमा परी २२ जनाको मृत्यु भएको थियो।
सन् २०२३ मा त्यस्ता ठूला घटनाहरू नभए पनि खुम्बु आइसफलमा बेपत्ता भएका तीन शेर्पासहित १७ आरोहीको मृत्यु भएको वा बेपत्ता भएको देखियो।
सगरमाथाको चुचुरोमा पुग्ने सबैभन्दा चल्तीको मार्ग केही सबैभन्दा कठिन भूभाग हुँदै जान्छ। खुम्बु आइसफल तीमध्ये एक हो।
खुम्बु आइसफल मन्द गतिमा बगिरहेको हिमनदी हो। त्यहाँ खतरनाक खर्पासहरू तथा अस्थिर बरफका ढिक्काहरू हुन्छन्।
प्रत्येक पर्वतारोहीले आधारशिविरबाट चुचुरोमा पुग्नको लागि यो भूभाग पार गर्नुपर्छ। अनि आरोहीहरूका निम्ति झन्झन् खतरनाक बन्दै गएको ठाउँ पनि यही हो।
खै त हिउँ ?
“यसपालि जाडोमा हामीले निकै कम हिउँ परेको देख्यौँ,” सगरमाथा रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका बासिन्दा ‘आइसफल डाक्टर’ आङ सार्की शेर्पाले भन्नुभयो।
यस वर्षको जाडो निकै सुक्खा भएकोमा मौसमविद्हरू सहमत छन्।
“डिसेम्बरदेखि फेब्रुअरीसम्मको समयमा स्वाभाविकभन्दा २०.८ प्रतिशत मात्र पानी पर्यो। उही मौसम प्रणालीका कारण तल्लो क्षेत्रमा वर्षा गराउने र माथिल्लो क्षेत्रमा हिउँ पर्ने हुनाले हिमपातको प्रवृत्ति पनि उस्तै रहेको भन्न सकिन्छ” जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले बताउनुभयो।
हिमनदीसम्बन्धी विज्ञ मोहनबहादुर चन्द भन्नुहुन्छ, “गएको नोभेम्बरदेखि फेब्रुअरीसम्म जाडो वर्षा र हिमपात लगभग २०(३०५ मात्र भएको छ।”
विभागसँग हिमालयमा भएको हिमपात मापन गर्ने र त्यसको अभिलेख राख्ने उपयुक्त प्रणाली छैन। त्यसैले स्थानीय बासिन्दाले आफ्नो अनुभवका आधारमा भन्ने गरेका कुरालाई समर्थन गर्ने डेटा उससँग छैन।
यद्यपि हालैका वर्षहरूमा हिमपात वास्तवमै अनियमित भएको पुष्टि गर्ने केही सङ्केतहरू देखिन्छन्।
विगत चार वर्षको तुलनामा यस वर्ष हिमपात कम भएको सगरमाथास्थित निकै उचाइमा जडान गरिएको मौसमसम्बन्धी जानकारी सङ्कलन गर्ने एउटा उपकरणले देखाएको छ।
संसारकै सबभन्दा उचाइमा रहेको उक्त मौसम केन्द्रबाट प्राप्त डेटालाई ुएभरेस्ट वेदर अप्डेट्सुले उपलब्ध गराउने गर्छ। सन् २०१९ मा न्याश्नल जिओग्राफिक र ुरोलेक्स पर्पेचूअल प्लानेट एभरेस्ट एक्स्पिडिशनुले उक्त केन्द्र स्थापना गरेका हुन्।
पूर्वमा म्यान्मारदेखि पश्चिममा अफगानिस्तानसम्मका अग्ला हिमालहरू फैलिएको हिन्दुकुश हिमालय क्षेत्रको हिमाली पर्यावरणमा विशेषज्ञता हासिल गरेको काठमाण्डूस्थित ‘इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलप्मन्ट’ (इसिमोड) का विज्ञहरूले पनि यस्तै निष्कर्ष निकालेका छन्।
“यस क्षेत्रका हिमाल चुचुराहरू जो सामान्यतया जाडोमा हिउँको सेतो कम्बलले ढाकिएका हुन्छन्, यो वर्ष विशेष गरी पश्चिमी हिमालय क्षेत्रमा उल्लेखनीय रूपमा नाङ्गा देखिए। यसपालिको जाडो मौसम निकै असामान्य रह्यो किनकि यो क्षेत्रभरि थोरै मात्र वा शून्य हिमपात भयो”, इसिमोडको एउटा लेखमा भनिएको छ।
इसिमोडमा कार्यरत क्रायोस्फिअर (पृथ्वीमा ठोस स्वरूपमा पानी पाइने ठाउँ) विशेषज्ञ शेर मुहम्मदले जाडो याममा कम हिउँ परेको विषय इङ्गित गर्दै केही समयअघि चेतावनी दिनुभएको थियो। उहाँका अनुसार जाडो सकिने चरणमा र तापमान बढ्न थालेपछि जतिसुकै हिउँ परे पनि त्यसले अभाव पूर्ति हुन सक्दैन।
“विगत १०(१२ वर्षदेखि हामीले हिमपात कम हुने गरेको देखेका छौँ। जतिखेर आवश्यक हुन्छ त्यतिखेर हिउँ पर्दैन। यस वर्ष पनि त्यस्तै भयो,” खुम्बु क्षेत्रमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामा काजी शेर्पाले भन्नुभयो।
अमेरिकाको म्यासचूसिट्सस्थित निकोल्स कलेजका पर्यावरण विज्ञानका प्राध्यापक तथा ग्लेसिओलजिस्ट माउरी पेल्टोले हिमालय क्षेत्रमा हुने हिमपातको प्रवृत्ति पछ्याइरहनुभएको छ।
केही वर्षयता जाडो याममा पनि हिमरेखा माथि माथि सर्ने गरेको उहाँले बताउनुभयो।
“सन् २०१७-१८, २०२०-२१ र २०२३-२४ सहित हालैका वर्षहरूमा अक्टोबरदेखि मध्यजाडोको अवधिसम्म पनि सगरमाथामा हिमरेखा उल्लेखनीय रूपमा माथि सरेको छ,” हालै आफ्नो ब्लगमा उहाँले लेख्नुभएको छ। तापमान वृद्धि हुँदा हिउँ जमिरहने भूभाग छुट्याउने हिमरेखा माथि सर्ने गर्छ।
“हिउँको आवरणको अभावले बाटोलाई चढ्न गाह्रो वा सजिलो पनि बनाउन सक्छ। उदाहरणका लागि, हिमस्खलन कम हुन सक्छ अनि खर्पासहरू भने अझ फराकिला बन्न सक्छन्”,उहाँले बीबीसीलाई भन्नुभयो।
के यो जलवायु परिवर्तनको प्रभाव हो?
नेपाल जलवायु परिवर्तनको प्रभावको अत्यधिक जोखिममा रहेको मानिन्छ।
ग्लोबल क्लाइमेट रिस्क इन्डेक्सको जोखिम सूचकाङ्कमा सन् २००० देखि २०१९ सम्म नेपाल विश्वमा १०औँ सबैभन्दा प्रभावित देशको रूपमा सूचीबद्ध भएको थियो।
जलवायु परिवर्तनसम्बन्धी सरकारको राष्ट्रिय अनुकूलन योजना अनुसार नेपाल भित्र पनि हिमालय क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ।
उक्त प्रतिवेदनले उच्च पर्वतीय क्षेत्र अन्य क्षेत्रको तुलनामा धेरै गतिमा तात्दै गएको जनाएको छ। विश्वव्यापी रूपले अँगालिएका जलवायु परिवर्तन नियन्त्रणका लक्ष्यहरू हिमालय क्षेत्रका लागि पर्याप्त नहुन सक्छन्।
“विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सिअसमा सीमित गरिए पनि उचाइका कारण हिन्दुकुश हिमालय क्षेत्रमा तापक्रम कम्तीमा १.८ डिग्री सेल्सिअस देखि २.२ डिग्री सेल्सिअससम्म बढ्ने छ,” प्रतिवेदन भन्छ।
सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेका असरहरू विज्ञहरूले यसअघि नै औँल्याइसकेका छन्।
“हिमनदीहरू खुम्चने, हिमताल विस्फोटन हुने, प्रदूषणका कारण हिमनदीका सतहहरूमा बढी कालो कार्बन हुने (जसले एल्बेडो भनिने सूर्यको प्रकाश ऊर्जालाई परावर्तन गर्ने दर घटाइदिन्छ र जसका कारण धेरै ताप सोसिन्छ), धेरै हिउँ पग्लँदा जमिनमा हुने अस्थिरता, मौसममा फेरबदल र अरू धेरै कुरा…,” मेन विश्वविद्यालयका प्राध्यापक पल मेयुस्कीले अहिले नै परिसकेका केही प्रभाव सुनाउनुभयो।
सगरमाथाको आधार शिविर र खुम्बु आइसफल क्षेत्रमा सेराक भनेर चिनिने हिउँका अग्लाअग्ला ढिक्काहरू मासिन थालेको विषयलाई पनि तापक्रममा भइरहेको द्रुत वृद्धिसँग जोडेर हेरिएको छ।
“मैले सन् २००७ मा पहिलो पटक सगरमाथा आरोहण गर्दाको तुलनामा अचेल ठूलो भिन्नता महसुस गरेको छु। विगतमा त्यहाँ २० देखि ३० मिटर अग्ला बरफका ढिक्काहरू हुन्थे। तर आजकल ती १०देखि १५ मिटरभन्दा अग्ला छैनन्,” सगरमाथा आरोही छिरिङ पेम्बा शेर्पाले भन्नुभयो।
अबको उपाय के ?
जलवायु परिवर्तनको असरबारे बढ्दो विश्वव्यापी चिन्तासँगै हिमाली क्षेत्रमा मानवीय हस्तक्षेप पनि उल्लेख्य रूपमा बढेको छ।
प्रत्येक वर्ष सगरमाथा आधारशिविरमा आरोही र पथप्रदर्शकसहित झन्डै २,००० मानिस भेला हुन्छन् र केही सातासम्म सो क्षेत्रलाई ‘पाल नै पालहरूको बस्ती’मा परिणत गर्छन्।
नेपाल सरकारको पर्वतारोहण शाखाका निर्देशकको हैसियतमा राकेश गुरुङ देशमा पर्वतारोहणसम्बन्धी सबै मामिलामा जिम्मेवार व्यक्ति हुनुहुन्छ।
जलवायु परिवर्तन र बढ्दो मानवीय हस्तक्षेपले हिमालयलाई एकभन्दा बढी तरिकाले असर गरिरहेको उहाँ स्वीकार गर्नुहुन्छ।
“हाम्रा हिउँले ढाकिएका हिमालहरू कालो चट्टानको चुचुरोमा परिणत हुन थालेको तथ्य हो। मौसम अप्रत्याशित भएको छ ( आवश्यक हुने बेला कुनै हिउँ पर्दैन”, उहाँले भन्नुभयो।
सरकारले आधारशिविरको दिगोपना सुनिश्चित गर्न अध्ययन गराउनुका साथै जलवायु परिवर्तनको असरसँग जुझ्न विज्ञको राय लिइरहेको पनि गुरुङले बताउनुभयो।
तर विज्ञहरू नेपालको मात्र एक्लो प्रयासबाट यस्ता असरसँग जुझ्न सकिने सम्भावना कम देख्नुहुन्छ।
“तापक्रममा भइरहेको वृद्धि हिमालयका मानिसहरूका कारण भइरहेको छैन। तर जसरी त्यहाँ भूमिको उपयोगको प्रवृत्ति परिवर्तन हुँदैछ त्यसले त्यहाँको भूगोलको अस्थिरतालाई अझै बढाइदिन सक्छ। त्यसैले सतर्क बन्न आवश्यक छ”, प्राध्यापक पल मेयुस्कीले भन्नुभयो।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पा पनि उत्तिकै चिन्तित हुनुहुन्छ।
“हामीले परिवर्तन भइरहेको अवस्था महसुस गरेका छौँ। चाहे हिमपातमा आएको कमी होस् वा हराउँदै गएका बरफका ठूल्ठूला ढिक्का, सिङ्गो पर्वतारोहण उद्योग चिन्तित छ। तर (जलवायु परिवर्तनको) प्रभावलाई न्यून गर्न र पर्वतारोहणलाई सुरक्षित बनाउन हामीले के गर्न सक्छौँ भन्ने बारे पनि हामी अन्योलमा छौँ,” शेर्पाले भन्नुभयो।
आरोहणसँग सम्बन्धित अप्रत्याशितता तथा जोखिम बढ्दै गएको भए पनि अग्रमोर्चाका पर्वतारोही तथा आइसफल डाक्टर आङ सार्की शेर्पाको धारणा भने चाखलाग्दो छः “खतराहरू वास्तवमै बढेका छन्। तर सगरमाथा आरोहण गर्न चाहने आरोहीको सङ्ख्या पनि उत्तिकै बढिरहेकोमा म चाहिँ छक्क पर्छु।”


















