Prakash Adhikari July 12, 2024

काठमाडौं, २८ आषाढ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ।

राष्ट्रपति कार्यालयबाट प्रकाशित विज्ञप्तिमा जनाइए अनुसार उहाँले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको प्रधानमन्त्रीमा दाबी गर्न आइतबार साँझ ५ बजेसम्मको समय तोक्नुभएको छ।

संविधानको धारा ७६(२) अनुसार प्रतिनिधि सभाको बहुमत पुग्न सक्ने आधारसहित प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिबाट आह्वान भएको शीतलनिवासबाट जारी सूचनामा उल्लेख छ।

धारा ७६(२) मा प्रतिनिधि सभाका दुई वा बढी दल मिलेर सरकार बनाउन सक्ने प्रावधान छ।

पदमुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि १८ महिनाअघि धारा ७६ (२) अनुसार नै नियुक्त हुनुभएको थियो। उहाँलाई त्यतिखेर नेकपा एमाले लगायत दलले समर्थन गरेका थिए।

प्रतिनिधि सभामा विश्वासको प्रस्तावमाथि छलफल चलिरहेकै बेला राष्ट्रपति पौडेलले केही कानुनविदलाई बोलाएर पनि परामर्श गरेका गर्नुभएको थियो।

राष्ट्रपति पौडेलको सचिवालयले दिएको जानकारी अनुसार सो छलफलमा कानूनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसीको सहभागिता रहेको थियो ।

छलफलमा सहभागी अधिकांश कानुनविदले ७६ (२) अनुसार संयुक्त सरकारका लागि आह्वान गर्नुपर्ने राय दिएका थिए।

ओलीको नेतृत्वमा नयाँ सरकार गठनको दाबीको तयारी

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहितका दलले तयारी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदनमा दुई वा दुईभन्दा बढी दलको सरकार गठन हुनसक्ने अवस्था रहेसम्म सर्वाेच्च अदालतको नजिरबमोजिम संविधानको धारा, ७६ (२) बमोजिम नै सरकार गठनका लागि आह्वान हुनेमा विश्वास व्यक्त गर्नुभयो । सोही दलका नेता डा प्रकाशशरण महतले आफूहरु एमालेसँगको सहमतिका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अघि सार्न स्पष्ट रहेको उहाँले अवगत गराउनुभयो ।

एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले दुई दलको सहमतिबमोजिम एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपतिसमक्ष दाबी पेस गर्ने तयारीमा आफूहरु रहेको जानकारी दिनुभयो । प्रमुख सचेतक बर्ताैलाले राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको विश्वासको मत असफल भएको जानकारी पाएपछि सम्भवतः आजै वा भोलिसम्ममा नयाँ सरकार गठनका लागि आह्वान गर्ने र उक्त आह्वानका आधारमा आफूहरु प्रक्रियामा सहभागी हुने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिमको अहिलेको सरकारले विश्वासको मत नपाएकाले अब धारा ७६ (३) बमोजिम ठूला दलका नेतृत्वमा सरकार गठनका लागि राष्ट्रपति पौडेलले आह्वान गर्नुपर्ने आग्रह गर्नुभयो ।

उहाँले ठूलो दलका नेता प्रधानमन्त्री बन्ने अवस्थामा त्यस्तो सरकारलाई आफ्नो दलले विश्वासको मत दिने तर एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन भएमा आफूहरु त्यसको विपक्षमा रहने जनाउनुभयो । उहाँले प्रधानमन्त्री दाहाल अहिले राष्ट्रपति पौडेललाई भेट्न जानुभएको पनि जानकारी पनि दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानले वर्तमान सरकारमा रहेर देश र जनताका लागि इमानदार रुपमा काम गरेको र अबका दिनमा प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्ने बताउनुभयो ।

Share Now