-समीक्षा कोइराला
बीबीसी न्यूज नेपालीका लागि, ढाका, बाङ्ग्लादेश
देशैभर राजनीतिक उथलपुथल ल्याइदिएको यो तीन सातामा मैले बाङ्ग्लादेशी युवाहरूको परिपक्व रूप देख्ने मौका पाएँ।
ठूलो हिंसात्मक आन्दोलनपछि निरन्तर चौथो कार्यकालका लागि सत्तामा आएकी अवामी लीगकी नेतृ शेख हसिना नेतृत्वको सरकारको अन्त्य भयो र उनले देश नै छोडेर भाग्नुपर्यो।
विद्यार्थीहरूको नेतृत्वमा विभेदपूर्ण आरक्षण व्यवस्था विरुद्ध सुरु भएको विरोध प्रदर्शन एक हप्तामा नै ठूलो देशव्यापी आन्दोलनमा परिणत भयो।
राजनीतिक विचारधाराबाट माथि उठेर उनीहरूले तानाशाही सरकारविरुद्ध साहस, प्रतिबद्धता, र इमानदारीका साथ एक भएर यो आन्दोलनको नेतृत्व गरे।
सन् १९७१को बाङ्ग्लादेशको स्वतन्त्रता सङ्ग्राममा विद्यार्थी आन्दोलनको ठूलो भूमिका रहेको थियो।
बाङ्ग्लादेशी युवाहरूले निरन्तर उत्पीडनविरुद्ध लड्ने तत्परता देखाउँदै आएको इतिहास छ।
तर पनि धेरै अर्थमा यो आन्दोलन विगतको भन्दा फरक थियो।
यस पटक आन्दोलनकारी पुस्ता पुरानो पुस्ताले खासै नपत्याएको समूह थियो।
राजनीतिबाट प्रायः टाढै रहेका युवा, सहरका युवा, सम्भ्रान्त परिवारका युवा सँगसँगै आन्दोलनमा होमिएका थिए।
राजनीतिमा चासो नहुने विद्यार्थी कसरी आन्दोलनमा?
बाङ्ग्लादेशको विश्वविद्यालयमा मिडिया र पत्रकारिता अध्यापन गराउने व्यक्तिको नाताले प्रत्येक सेमेस्टरको पहिलो दिनमा म विद्यार्थीहरूलाई कस्ता समाचारहरू फलो गर्छौ? भनेर सोध्छु।
उनीहरूमध्ये धेरैले आफूले एउटा पनि अखबार नपढेको बताउने गरेका थिए।
कारण सोध्दा त्यस्ता समाचारपत्रमा उनीहरूले चासो नदिने राजनीतिक समाचारको बाहुल्यता हुनु थियो।
“वी डन्ट अन्डरस्ट्यान्ड पोलिटिक्स” (हामी राजनीति बुझ्दैनौँ)उनीहरू प्रायःले भन्ने गरेको कुरा यही हो।
मेरा विद्यार्थीहरूले जिन्दगीमा पहिलो पटक मेरो कक्षाको तयारीका लागि मात्रै समाचार पढेको अथवा ध्यान दिएर सुनेको, हेरेको प्रसङ्ग मैले उनीहरूबाट बारम्बार सुन्दै आएकी थिएँ।
उनीहरूको प्रतिक्रियापछि मैले प्रायः भन्ने गर्थेँ, समाचार नियमित रूपमा हेर्ने गर है, सामाजिक सञ्जालमा भिडिओ बनाउने र गेम खेल्ने मात्रै होइन।
समाचारका लागि सामाजिक सञ्जालमा मात्रै भर पर्दा हुने जोखिमका बारेमा पनि हाम्रो छलफल हुने गर्छ।
यो आन्दोलनपछि मलाई उनीहरूले एक अर्थमा गलत प्रमाणित गरिदिएका छन्।
आवश्यक परेको अवस्थामा उनीहरू राजनीतिक समाचार हेर्ने मात्रै होइन आन्दोलनको नेतृत्व पनि गर्ने खुबी राख्छन् भन्ने मैले बुझ्न सकेकी रहेनछु।
त्यही सामाजिक सञ्जाल मार्फत् उनीहरू आफ्नो सुनौलो भविष्यको लडाइँ लड्न लाखौँ विद्यार्थीहरूलाई एकसाथ ल्याउन सफल भए।
क्षमतामा आधारित प्रणालीको माग
आफ्नो पाठ्यक्रमको विषयमाथि छलफल गर्नका लागि बनाइएको सामाजिक सञ्जालको पेजबाट उल्टै आन्दोलनका समयमा उनीहरूले ठूला सञ्चारगृहले सेन्सरशिपका कारण प्रस्तुत नगरेका सूचना पनि शेअर गरे।
यो समयभर मैले मनमनै भनिरहेँ-आजबाट तिमीहरू मेरो गुरु र म विद्यार्थी।
सन् १९७१मा बाङ्ग्लादेशको स्वतन्त्रताको आन्दोलनमा भाग लिने व्यक्तिहरू अर्थात् ुमुक्ति योद्धाुका सन्तानका लागि निजामती सेवाको एक तिहाइ पदहरू आरक्षित गरिएको थियो।
सत्तारुढ सरकारले आफ्नो राजनीतिक दलका सदस्य भर्ना गर्न त्यस्तो आरक्षण प्रणालीको प्रयोग गर्दै आएको तर्क गर्ने गरिएको छ।
स्वतन्त्रता सङ्ग्रामको ५० वर्षपछि आरक्षण प्रणाली पुरानो भइसकेको र यसको सट्टा त्यस्तो सुविधा विपन्न समुदायमा केन्द्रित हुनुपर्ने तर्क पनि थियो।
यसअघि सन् २०१८ मा खारेज गर्ने निर्णय गरिएको त्यस्तो आरक्षण पुनस्स्थापना हुन पुगेपछि बाङ्ग्लादेशमा गत जुलाई १ देखि आन्दोलन सुरु भएको थियो।
देशभरका विश्वविद्यालयका विद्यार्थीहरूले यो आरक्षण प्रणालीमा सुधारको माग सहित क्षमतामा आधारित प्रणाली हुनु पर्ने भन्दै यसलाई आरक्षण सुधार आन्दोलनको संज्ञा दिएका थिए।
तत्कालीन प्रधानमन्त्री हसिनाले प्रदर्शनकारीहरूलाई “राजाकार“ अर्थात् राष्ट्रघाती भनेपछि निजी विश्व विद्यालयका विद्यार्थीहरू पनि विरोध प्रदर्शनमा सहभागी भए र त्यसमा सुरक्षाकर्मीले चर्को बल प्रयोग गरेसँगै शान्तिपूर्ण आन्दोलन हिंसात्मक बन्न पुग्यो।
आन्दोलन के का लागि?
म कार्यरत विश्वविद्यालयको बैठकमा प्रशासनका केही कर्मचारीहरूले अचम्मित भएर प्रश्न गर्ने गरेका थिए, सरकारी जागिरका लागि आवेदन नदिने निजी विश्वविद्यालयका विद्यार्थी पनि किन आन्दोलनमा सहभागी छन्?
मलाई उनीहरूका प्राध्यापकको हैसियतले यो प्रश्नको उत्तर थाहा भइसकेको थियो।
यो आन्दोलन जागिरको लागि मात्रै थिएन।
यो अन्यायको विरुद्ध र शान्तिपूर्ण आन्दोलन गर्दा मारिएका उनीहरूका साथीहरूलाई न्याय दिलाउनका लागि पनि थियो।
स्वतन्त्रताको उपभोग गर्न नसकेकोमा र चुनावमा भाग लिन नपाएकोमा उनीहरूको आक्रोश थियो।
राजनीतिक विषयवस्तुमा छलफल गर्दा उनीहरूलाई मैले प्रायः सशङ्कित पाउने गर्छु।
“कतै सरकारले हामीमाथि विश्वविद्यालय भित्र पनि निगरानी त गरिरहेको छैन नि?”
‘डिजिटल सर्भेइलेन्स’को विषयमा छलफल गर्दा एक छात्राले मलाई दुई महिनाअघि मात्रै यस्तो प्रश्न गरेकी थिइन्।
बाङ्गलादेशमा एक दशकयता वाक र प्रेस स्वतन्त्रतामा दमन भएका धेरै घटना सार्वजनिक भएका छन्।
दुर्भाग्यवश, शान्तिपूर्ण आन्दोलनमा उनीहरूले सुरक्षा बलको कठोर क्रूरताको सामना गर्नुपर्यो।
यस आन्दोलनमा धेरै प्राध्यापक र नागरिक समाजका सदस्यहरू तथा विपक्षी दलहरू जस्तै बीएनपी र जमात–ए–इस्लामी पनि एकसाथ सामेल भए।
क्रमशः सबैको एक मात्रै माग बन्न पुग्यो, प्रधानमन्त्री शेख हसिनाको राजीनामा।
पछिल्ला तीन हप्तामा सयौँको मृत्यु भएको छ, हजारौँ घाइते भएका छन्।
यसै साता सोमवार मात्रै १४ सुरक्षाकर्मीसहित ९० जनाको ज्यान गएको थियो।
स्थानीय मिडिया डेली स्टारका अनुसार मृत्यु भएकाहरूको कुल सङ्ख्या ४ सय ४० भन्दा बढी अनुमान गरिएको छ।
विगत तीन सातादेखि विश्वविद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द रहेका थिए।
कक्षाहरू सञ्चालन भएपछि कति विद्यार्थीहरूलाई प्राध्यापकहरूको राजनीतिक पूर्वाग्रहको सिकार हुनुपर्छ भन्ने पीर पनि छ।
साथै यस्तो तनावपछि कक्षाकोठामा सामान्य हिसाबले पठनपाठन गराउन पनि चुनौतीपूर्ण हुन्छ।
सरकारको कडा निगरानीको कारण सामाजिक सञ्जालमा पोस्ट गर्दा वा कुराकानी गर्दा पनि सचेत रहन हामीलाई सरकारी अधिकारीहरूले सावधान बनाएका थिए।
धेरै कुरा लेख्न मन भए पनि मैले सामाजिक सञ्जालको प्रयोग गरिनँ।
मेरा धेरै विद्यार्थीहरूले आफ्ना विचार सामाजिक सञ्जालमा पोस्ट गरेकै कारण गिरफ्तारीको सामना गर्नुपर्यो।
केही दिन अघिसम्म पनि प्रहरीहरूले बाटो बाटोमा विद्यार्थीका फोन जाँच गरिरहेका थिए।
उनीहरूले आन्दोलनमा सहभागीहरूको घरघरमा गएर छापा मारिरहेका थिए।
यो बीचमा मलाई केही मिडियाकर्मीहरूले ठूलो सेन्सरशिपको सामना गरिरहेको बताएका थिए। तर जमुना टिभी जस्ता केही मिडिया आन्दोलनकारीका साथमा निडर भएर उभिए।
हाम्रा अन्तर्राष्ट्रिय विद्यार्थीहरू सहित बाङ्ग्लादेशमा काम गर्ने धेरै विदेशीहरूले घर छोडे।
अन्तर्राष्ट्रिय विद्यार्थीहरू र मेरो विश्वविद्यालयका अन्तर्राष्ट्रिय प्राध्यापकहरूलाई सहयोग गर्ने मेरो प्रशासनिक दायित्वका कारणले मैले भने नेपाल नफर्कने निर्णय गरेँ।
मैले नेपालमा जनआन्दोलन देखेकाले होला, म सुरुदेखि नै परिवर्तनको बारेमा आशावादी थिएँ।
तर धेरै सहकर्मीहरू सकारात्मक थिएनन्।
किनभने उनीहरूले अवामी लीग सरकारको शक्ति र उनीहरूले प्रहरी, प्रशासन र न्यायपालिकालाई कसरी कब्जा गरेका छन् भन्ने १५ वर्षदेखि देखेका थिए।
सामाजिक सञ्जालमा प्रहरी क्रूरता देखा परेपछि आन्दोलनले झन् चर्को रूप लियो।
अगस्ट ४ सोमवारको दिन उनीहरूले प्रधानमन्त्रीको निवास घेर्न जानेभन्दा मलाई उनीहरूको चिन्ताले पनि सताएको थियो।
म हरेक पाँच मिनेटमा समाचार हेर्दै थिएँ।
फेरि करिब दुई घण्टा इन्टरनेट बन्द भयो र त्योसँगै मेरो आशा पनि धरमराउँदै गएको थियो। शायद मेरा सहकर्मीहरू सही नै रहेछन् कि जस्तो पनि लाग्यो।
तर इन्टरनेट आएसँगै सेना प्रमुखको सम्बोधन र हसिनाको राजीनामाको समाचार आयो।
आन्दोलनमा छात्राहरूको सहभागिता
इन्टरनेट बन्द गरिएपछि हामीलाई देशमा के भइरहेको छ भन्ने थाहा थिएन।
अन्तर्राष्ट्रिय फोन कल स्पष्ट नसुनिने थियो त्यसैले मैले मेरो परिवारका सदस्यहरूसँग नेपालमा फोनमा कुरा गर्न पनि सम्भव भएन।
त्यो चार दिन, एक महिनाभन्दा बढी लामो लाग्यो।
त्यो बिन्दुमा म नेपाल फर्कन चाहन्थेँ तर कसरी? इन्टरनेट बिना कर्फ्यूको अवस्थामा हवाई टिकट कसरी प्राप्त गर्ने, इन्टरनेट बिना ट्याक्सी कसरी बुक गरेर विमानस्थल जाने?
चार दिनपछि ब्रोडब्यान्ड इन्टरनेट फर्केपछि बल्ल हामीले राहत महसुस गर्यौँ।
विभिन्न फेसबुक ग्रुप र इन्स्ट्राग्राम पेज मात्र हाम्रा “विश्वसनीय“ समाचार स्रोत थिए तर फेरि त्यहाँ धेरै गलत सूचनाहरू पनि आएका थिए जसले हामीलाई भ्रमित पनि तुल्याउने गर्थे।
मैले यो बीचमा मेरो निवासबाट मात्र करिब १०० मिटर पर भयानक विस्फोट भएको सुनेँ र धेरै पटक बन्दुकको गोलीका आवाज सुनेँ, जसले मलाई मानसिक रूपमा विचलित बनाएको छ।
यस्तो अनुभूति भए पनि शेख हसिनाको राजीनामा र उनले देश छाडेपछि अब बाङ्ग्लादेशमा दिगो शान्ति होला कि भन्ने आशामा छु।
विश्वकै लामो समय देश हाँक्ने महिलाको रूपमा परिचय बनाएकी शेख हसिनाले आफ्नो दलको संरचना र सरकार गठनमा महिलाको सहभागितालाई महत्त्व दिएको देखिँदैन।
धार्मिक र आर्थिक कारणले पनि राजनीतिमा महिलाहरूको उल्लेखनीय सहभागिता नभएको आकलन गर्न सकिन्छ।
तर यो आन्दोलनमा छात्राहरूको सहभागिता उल्लेखनीय थियो।
सुरक्षाकर्मीहरू सुरुवातमा महिलाप्रति धेरै क्रूर नबन्ने आशा पनि थियो जुन छिटै गलत साबित भयो। पारिवारिक दबावले घरबाट निस्किन नसकेका छात्राहरू अनलाइनका माध्यमबाट आन्दोलन चलाइरहेका थिए।
जसका कारण सरकारले लामो समय इन्टरनेट नै बन्द गरिदियो।
हसिनाको राजीनामाको ह्यासट्याग लामो समय ट्रेन्डिङ थियो।
बाङ्ग्लादेशको भविष्य
तस्बिरको क्याप्शन,अधिकांश पश्चिमा समाजले मोहम्मद युनुसलाई उनको सूक्ष्म कर्जाजस्ता अग्रगामी कार्यका लागि प्रशंसा गर्दै आएका छन् ।
अहिले पनि अवामी लीगका नेताहरू र धार्मिक अल्पसङ्ख्यकहरूलाई लक्षित गरी हिंसाका समाचारहरू चलिरहेकाले बाङ्ग्लादेशको भविष्य के हुन्छ भनेर हामीले पर्खनुपर्छ।
देशलाई धार्मिक दङ्गाबाट जोगाउनका लागि मन्दिर र गुम्बाको संरक्षणमा पनि अहिले विद्यार्थीहरूका साथै धार्मिक व्यक्तित्वहरूले आ–आफ्नो भूमिका खेलिरहेका छन्।
हिंसाका घटना पूरा रोकिएका छैनन्, जनतामा अवामी लीग प्रति आक्रोश छ।
मङ्गलवारमात्रै अवामी लीगका कम्तीमा २० नेता, तिनका सहयोगी र परिवारका सदस्यहरूको शव फेला परेको थियो।
बदलाको भावनाले स्थायी शान्ति नहुने त होइन भन्ने डर पनि छ।
भेदभावविरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूले नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको रूपरेखा घोषणा गरेका छन्।
बाङ्ग्लादेशी जनताको केही हिस्सा सेनाको नेतृत्वप्रति खासै सकारात्मक छैनन् भने अधिकांश जनता शेख हसिनाले सरकार छाड्नुलाई ठूलो जितका रूपमा मनाउन व्यस्त छन्।
मेरो विचारमा पनि उनीहरूका लागि यो ठूलो जित हो र बाङ्ग्लादेशका जनताका लागि नौलो अवसर पनि।
साथै यो आन्दोलनले तानाशाही जति बलियो भए पनि टिक्दैन भन्ने बलियो सन्देश दिएको छ भन्ने पनि म ठान्दछु।
(यो लेख समीक्षा कोइरालाले बीबीसी न्यूज नेपालीका लागि तयार पार्नुभएको हो। यसमा संलग्न अनुभव र विचार लेखकका निजी हुन्। उहाँ बाङ्ग्लादेशको ढाकास्थित नर्थ साउथ युनिभर्सिटीमा जर्नलिजम् एण्ड मिडिया पढाउनुहुन्छ ।)