Prakash Adhikari August 8, 2024

काठमाडौं, २४ साउन । एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौर जङ्गलमा दुर्घटनाग्रस्त भएर पाँच जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न सरकारले एउटा आयोग गठन गरेको छ।

बुधवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त दुर्घटनाको छानबिन गर्न एउटा आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराउनुभएको छ।

आयोगका संयोजकमा नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापालाई नियुक्त गरिएको छ ।

आयोगलाई दुर्घटनाको कारणसहित नेपाली आकाश सुरक्षित गर्न अपनाउनु पर्ने उपायको बारेमा सुझाव सहितको प्रतिवेदन दिन ३० दिनको समय दिइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि बुधवार दिउँसो उडेको उक्त हेलिकप्टरमा नेपाली चालक अरुण मल्ल र चार चिनियाँ नागरिक थिए।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बीबीसीलाई बताएअनुसार दिउँसो १ः५४ मिनेटमा काठमाडौंबाट उडेको तीन मिनेटमै उक्त हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

प्राधिकरणका अनुसार पाँचै जनाका शव घटनास्थलमा फेला परेका थिए। मृतकमध्ये एक महिला छिन्।

सबै शव पोस्टमोर्टमका लागि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइसकिएको प्राधिकरणले जनाएको छ।

दुर्घटनाको कारण खुलिसकेको छैन। तर नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार खराब मौसमका कारण दुर्घटना भएको हुन सक्छ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँले नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका ७ मा पर्ने सूर्यचौर जङ्गलमा हेलिकप्टरजस्तो वस्तु जलेर धुवाँ आइरहेको जानकारी आएपछि सुरक्षाकर्मीहरू त्यता गएको बताएका थिए।

को हुन् चालक अरुण मल्ल  ?

राष्ट्रिय समाचार समितिका अनुसार हेलिकप्टर चालक मल्लको पुर्ख्यौली थलो म्याग्दी हो।

उनको परिवारमा पत्नी र दुई छोरी छन्। मल्लको परिवार ललितपुरमा बस्दै आएको छ।

उनका एक साथी कर्णबहादुर भण्डारीले मल्ल “म्याग्दीमा बिरामीलाई आकस्मिक रूपमा अस्पताल पुर्‍याउन, धौलागिरि, अन्नपूर्ण हिमालमा हुने दुर्घटना तथा विपद्को समयमा हेलिकप्टर आवश्यक पर्दा सम्झने व्यक्तिू भएको राससलाई बताउनुभएको छ।

उहाँ अनुभवी पाइलट हुनुहुन्थ्यो। उहाँले विगत तीन दशकदेखि हेलिकप्टर उडाउँदै आएको राससले जनाएको छ।

यसअघि पनि उहाँ दुई पटक हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ।

प्रधानमन्त्री दुःखी ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा हेलिकप्टर दुर्घटना भएकोमा दुःख व्यक्त गर्नुभएको छ।

उहाँको सचिवालयका अनुसार सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्वनिर्धारित भेटघाटमा रहेकै बेला ओलीले दुर्घटनाको खबर थाहा पाउनुभयो। त्यसपछि भेटघाट छोट्याइएको थियो।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाई दुर्घटना हुनु दुःखद भएको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ।

उक्त दुर्घटनाका सम्बन्धमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसी एक छानबिन आयोग गठन गरिएको छ।

हेलिकप्टर दुर्घटनाको शृङ्खला 

अहिलेसम्मको अभिलेखमा नेपालमा ४१ वटा हेलिकप्टर दुर्घटनामा परेका छन् भने ९८ जनाको ती दुर्घटनामा परी मृत्यु भएको छ।

सन् २०१९ मा ताप्लेजुङमा एअर डाइनेस्टीकै हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा तात्कालिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो।

केही वर्षअघि नेपालमा हेलिकप्टर उडानहरूको खराब रेकर्ड भन्दै युरोपेली सङ्घ (ईयू) ले आफ्नो हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको थियो।

नेपालमा हेलिकप्टर उडानहरू हिमाली उद्धार र उच्च भेगमा पारवहनजस्ता जटिल काममा प्रयोग हुने गरेका छन्।

अहिले पर्यटकहरूमाझ हेलिट्रेक पनि लोकप्रिय भएको पाइन्छ। पर्यटकहरू हेलिकप्टर चढेर हिमाली भेग जाने गरेका छन्।

गत वर्ष सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका ४ सिप्रुङमा सिम्रिक एअरको हेलिकप्टर दुर्घटनाा परेको थियो ।

केही हेलिकप्टर दुर्घटना

मे २०२३ः सङ्खुवासभाको सिप्रुङमा सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा पर्दा एक यात्रुको उद्धारका क्रममा मृत्यु

जुलाई २०२३ः सोलुखुम्बु जिल्लामा मनाङ एअरको हेलिकप्टर दुर्घटनामा पर्दा मेक्सिकोबाट सगरमाथा हेर्न आएका एकै परिवारका पाँच जनासहित छ जनाको मृत्यु

फेब्रुअरी २०१९ः एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु

सेप्टेम्बर २०१८ः गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु

मे २०१५ः भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त, छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु

जुन २०१५ः सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

सेप्टेम्बर २००६ः सङ्खुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, वनविभागका महानिर्देशक दामोदर पराजुली, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के लगायतका उच्चपदस्थ व्यक्तिहरुको निधन ।

मे २००२ः मकालु आधारशिविरबाट चालकदलका चार र सात यात्रुसहित लुक्लाका लागि उडेको हेलिकप्टर बेपत्ता

डिसेम्बर १९८९ः लाङ्टाङमा भीभीआईपी हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु।

Share Now