ओन्टारियो(टोरन्टो,क्यानडा), ७ असोज । आइसीसी विश्व कप लिग २ को क्यानडामा जारी खेलमा नेपालको प्रदर्शन सन्तोषजनक देखिएको छैन् । आइतबार सम्पन्न तेस्रो खेलको नतिजा पनि नेपालले आफ्नो पक्षमा पार्न सकेन । नेपाली राष्ट्रिय टोली घरेलु टोली क्यानडासँग नेपाल ५ विकेटले पराजित हुन पुगेको छ ।
क्यानडाको टोरन्टो शहरको ओन्टारियोस्थित किड.सिटी खेल मैदानमा टस जितेर ब्याटिड. गर्दै नेपालले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाएर लक्ष्य हासिल गरेको थियो ।
क्यानडाका लागि नाभिनित धालिवा र प्रगत सिंहले उत्कृष्ट प्रदर्शन गरे ।
क्यानडाका ओपनर आरोन जोन्सन पाँचौ ओभरको दोस्रो बलमा खाता नखोल्दै आउट भएका थिए । त्यसपछि अर्का ओपनर धालिवाल र प्रगत सिंहले दोस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।
धालिवालले टोलीका लागि सर्वाधिक ८७ रन बनाएका थिए । प्रगतसिंहले ६४ रन बनाएका थिए । खेलमा हर्ष ठाकरले १३ रन जोडेका थिए भने निकोलस र्कितनले नटआउट ११ रन बनाएका थिए ।
क्यानडालाई रोक्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले २ तथा करण केसी, गुलशन झा र ललित राजवंशीले समान १ विकेट लिएका थिए ।
ब्याटरहरुको फितलो प्रदर्शन
यस अगाडिका खेलमा ओमान र क्यानडासंग एक एक खेलमा पराजित भैसकेको नेपाल दोस्रो खेलमा पुनरागमन गर्ने आशा गरिएको थियो । तर टस जितेर आफ्नो सबल पक्ष भएको ब्याट वा बल चयन गर्ने मौका पाउदा पनि नेपाली ब्याटरहरुले आफूलाई सम्हालेर राख्न सकेनन् ।
खेलको सुरुआतमा त खेल्नेलाई भन्दा पनि हेर्नेलाई लाज जस्तो अवस्था आएको थियो । खेलमा ओपनर आशिफ शेख पाँचौ ओभरको दोस्रो बलमा २ रन बनाएर आउट भए ।क्यानडाको कसिलो बलिड.ले रन जोड्न नसकिरहेको नेपाललाई दोश्रो झट्का सातौं ओभरको अन्तिम बलमा लाग्यो । भीम सार्की जम्मा ४ रन बनाएर आउट भए । आठौं ओभरको पाँचौ बलमा नेपाललाई तेस्रो झड्का लाग्यो । ओपनर अर्जन साउद १० रन जोडेको अवस्थामा आउट भए । एघारौं ओभरको दोस्रो बलमा जब कप्तान रोहित पौडेल रन लिन अग्रसर हुँदा ४ रनमा रन आउट परे नेपालको मनोबल लगभग खस्कियो । त्यतिञ्जेलसम्म नेपालले जम्मा ३० रन जोडेको थियो ।
नेपालको विकेट झर्ने क्रम त्यतिमै थामिएन । कप्तानको बहिर्गमनपछि १२ औं ओभरको अन्तिम बलमा अनिल साह एक रन जोडेर बिदा हुनुपर्ने अवस्था आयो । नेपालले १२ औं ओभरमा ३६ रन जोड्दा ५ विकेट गुमाई सकेको थियो ।
५० ओभरको खेलमा आशा गरिएका शीर्षतहका सबै ब्याटरहरु फ्लप भैसकेकोले नेपालले एक दिवसीय खेलमा १०० रन कटाउला कि नकटाउला भन्ने अवस्था सिर्जना भएको थियो । तर त्यसपछि ब्याटिड.मा उत्रेका गुल्शन झा मैदानमा टिके । तर यही बिचमा २३ औं ओभरको तेस्रो बलमा १० रन जोडेको अवस्थामा आरिफ शेख आउट भए ।
छैठौं विकेट पतन भएपछि मैदानमा खेल्ने ५ जनामात्र बाँकी रहेको अवस्थामा खेल नेपालप्रति सद्भाव हुने दर्शकहरुका लागि पट्यार लाग्दो र निराशाजनक बनिसकेको थियो । छैठौ विकेटको पतन हुँदा नेपालले जम्मा ७० रन जोडेको थियो । अब मैदानमा अलराउण्डर मानिएका गुल्शन झा र ४ बलरहरुमात्र बाँकी थिए । २८ औं ओभरको पहिलो बलमा गुल्शन झा ३४ रनको योगदान गरेर विदा भए । सातौं विकेट पटनहुँदा नेपालले जम्मा ८७ रन जोडेको थियो । अब मैदानमा सोमपाल कामी,सन्दीप लामिछाने, करन के.सी. र ललित राजवंशी मात्र रहेका थिए । खेलमा बलरहरु जमेर टिके । ३९ औं ओभरको ४ बलसम्म सोमपाल मैदानमा खेले र उनले २१ रनको योगदान दिए । आठौं विकेट पतनपछि उनले ब्याट छोड्दा नेपालले १ सय ४२ रन जोडेको थियो । अब मैदानमा सन्दीप, करन र ललित राजवंशी मात्र बाँकी रहे ।
४५ औं ओभरको चौथो बलमा ४९ रन बनाएको अवस्थामा सन्दीप पनि क्याच आउट भए । त्यतिखेर नेपालले १ सय ८१ रन बनाएको थियो । त्यसपछि ब्याट थाम्न नेपालका अन्तिम खेलाडी ललित राजवंशी आए । उनले दुई बलको सामाना गरेका थिए । त्यसपछि नेपालले थप रन जोड्न सकेन । ४७ औं ओभरको पहिलो बलमा नै करन के.सी. क्याच आउटमा परे ।
ब्याटरहरु धराशायी भएर बलरहरुले धानेको खेलको नतिजा नेपालको पक्षमा किन आउन सकेन भने बलरहरुमाथि दोब्बर भार पर्यो । यता ब्याटिड.मा थाकेका बलरहरुले तुरुन्तै बलिड. गर्नुपर्यो । ब्याट नसम्हालिकन बलिड. गर्दा जुन एक्युरेसी बलिड.मा हुन्थ्यो, त्यसो हुन पाएन र प्रतिद्धन्द्धी क्यानडाले रन जोड्ने मौका पायो ।
नेपाली ब्याटरहरु एकदिवसीय खेलमा धेरै आत्तिएको देखिन्छ । शीर्ष तहका ब्याटरहरु रन लिन दौडिनै पर्दैन । सुरुमा रन जोड्न नसके बलरहरु थाकेको बेला फ्याकिएका बलमा रन जोड्न सकिन्छ । अप्ठ्यारा बलमा जोगिएर बस्ने, सजिला बलमा चौका ठोक्ने गरेमा नेपालको खेलमा सुधार आउन सक्छ । ५० ओभरमा ३ सय बलको सामना गर्दा सबैले गरेर ७५ चौका ठोके त खेल सजिलै जितिन्छ । ५० वटा चौका ठोके २ सय माथि रन कट्छ । हाम्रो जस्ता होचो कदका खेलाडीले छक्का हान्दा भने विचार गर्नु पर्छ किनकी फिल्डिड.मा अग्ला खेलाडी छन भने उनीहरुले क्याच आउट गर्ने जोखिम बढी हुन्छ ।
नेपालका ब्याटरहरु जस्तो बलमा पनि सकिनसकी छक्का हिर्काउने ध्याउन्नमा आउट हुने गरेको देखिएको छ । एक दिवसीय खेलमा मैदानमा टिक्नु ठूलो कुरा हो । कम्तिमा निर्धारित ५० ओभरको खेलका ३ सय बलको सामाना गर्ने सामाथ्र्य विकसित नहुँदासम्म एक दिवसीय खेल जित्न सकिन्न भन्ने यथार्थलाई नेपालका मुख्यप्रशिक्षक,प्रशिक्षक,व्यवस्थापक,खेलका क्याप्टेन र खेलाडीहरु सबैले आत्मसात गर्न जरुरी छ ।
नेपालले रणनीति बदलेर खेलेमा सोमवार हुने नेपाल र ओमानबीचको खेलको नतिजा नेपालको पक्षमा पर्न सक्छ । आइतबारको खेलपछि ८ टोलीको सहभागिता रहेको लिग टुमा १४ अंकका साथ क्यानडा शीर्ष स्थानमा छ । ७ खेलमा २ अंकका साथ नेपाल अंकतालिकाको पुछारबाट दोस्रोमा छ । ६ खेलमा ओमानको ५ अंक छ ।
नेपालका खेलाडीको मनोबल उकास्न र खेल रणनीतिमा सुधार ल्याउन सकिएन भने लिग २ को अमेरिका श्रृखलामा पनि चमत्कारिक नतिजा निकाल्न कठिन हुने देखिन्छ । यसतर्फ क्यानको ध्यान जान आवश्यक छ ।


















