Prakash Adhikari June 17, 2018

सानफ्रान्सिस्को(संयुक्त राज्य अमेरिका), ३ असार । अमेरिकाको पर्यटकीय शहर सानफ्रान्सिस्कोमा गैर आवासीय नेपाली संघ र एनआरएनए अमेरिकाद्वारा आयोजित विज्ञ सम्मेलन सम्पन्न भएको छ । विज्ञ भेला शनिबारसम्म चलेको थियो। आज आइतवार एनआरएनए अमेरिकाको सातौं वार्षिक साधारण सभा हुँदैछ।

ैगैर आवासीय नेपाली विज्ञ भेलाको शनिवार सानफ्रान्सिस्कोमा उद्घाटन गर्दै पर्यटन मन्त्री रविन्द्र अधिकारी एकपटकको नेपाली सधैको नेपाली हुने भएकोले भुतपूर्व वा वर्तमान नेपालभित्र बस्ने र कामका लागि विदेशिएको भन्ने विभेदजन्य भावना त्याग्नुपर्ने बताएका छन्।

‘हामी नेपाली जहाँ बसे पनि नेपाली नै हौं,’ मन्त्री अधिकारीले भने, ‘देश बनाउने क्षमता नेपालकोले मात्र पुग्दैन गैरआवासीय नेपालीको सहयोग र सकृयता पनि चाहिन्छ।’

अब देशलाई समृद्ध बनाउन स्वदेश र विदेशमा रहेका नेपालीको हातेमालो अनिवार्य रहेको उनले बताए।

‘अब तपाईँ यता (विदेश) र उता (नेपाल) बस्ने सवै नेपाली हातेमालो गरेर अगाडि बढ्ने हो। तपाईँहरू सबै धनी र सम्पन्न हुनुभयो तर देश सम्पन्न हुन सकेन भने सुखी र खुसी हुन सक्नुहुन्न। त्यसैले देशलाई समृद्ध बनाउने काममा हामी सबै लाग्नु जरूरी छ,’ उनले भने।

वर्तमान सरकारकै एक मन्त्रीले केही समयअघि विदेशमा स्थायी रुपमा बस्ने नेपालीलाई ‘भूतपूर्व नेपाली हुन्’ भनेका थिए।

‘सरकारले विदेशमा बस्ने नेपालीको दक्षता र दक्षतालाई राम्रोसँग बुझेको छ,’ मन्त्री अधिकारीले भने, ‘हामी संविधानमा उल्लेखित एनआरएन नागरिकता दिने प्रावधान प्रति प्रतिवद्ध छौं यो आउने वर्ष भित्र आवश्यक कानुन तयार भएर आउँछ।’

उनले सरकार एनआरएनलाई साथ लिएर हिड्न तयार रहेको पनि स्पष्ट पारे।

नेपाली जनसम्पर्क समितिका पूर्व संयोजक विष्णु सुवेदीले वर्तमान सरकारका मन्त्रीले विदेशमा बस्ने नेपालीलाई पूर्वनेपाली भनेकोमा आपत्ति जनाउँदै सरकारको धारणा राख्न भनेका थिए। सहभागीले पनि यस विषयमा बोल्न मन्त्री अधिकारीलाई आग्रह गरेका थिए।

पूर्वपरराष्ट्र तथा अर्थ मन्त्री डा. प्रकाशचन्द्र लोहनीले एनआरएनलाई कुन प्रकृयाबाट उपयोग गर्ने यो स्पष्ट गरेर जाँदा नेपाललाई फाइदा हुने बताए।

पूर्वमन्त्री लोहनीले देशको स्वतन्त्रता, नेपालमा भएका मानवअधिकारका हनन जस्ता विषयमा पनि आवाज उठाएर विदेशमा बस्ने नेपालीले विगतमा पनि दवाव दिदै आएको र आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए।

पूर्वपर्यटन राज्यमन्त्री रेवती प्रसाद भुसालले नेपाली कुनै पद होइन जुन पूर्व र वर्तमान हुन सकोस् यो त भावना र संस्कृति भएकाले कानूनी जस्तो हैसियत फेरिने कुरै नभएको बताए।

अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले सम्बोधनका क्रममा आफू अमेरिकाको अस्थायी राजदूत भएको तर यहाँ बस्ने गैरआवासीय नेपालीहरु स्थायी राजदूत भएको बताए।

उनले नेपालीहरुले विभिन्न देशको विकास र समृद्धिमा योगदान दिइरहनु भएको छ भने नेपालको समृद्धिमा योगदान दिन सक्ने कुरामा कुनै शंका नभएको जिकिर गरे।

एनआरएनएका अध्यक्ष भवन भट्टले सबै हात एकै साथको भावना अनुसार बढ्ने वेला भएको बताउँदै यसको सुरुवात सरकारले प्रधानमन्त्रीको राजकीय भ्रमणहरुमा एनआरएनएलाई सहभागी गराएर गरेको बताए। ‘नेपाल समृद्धि तर्फ अघि बढिरहेको छ यसमा हामी विदेशमा बस्नेले पनि आफ्नो भूमिका खोजेर सहयोगी बन्नुपर्छ। नेपाललाई समृद्ध बनाउन देशभित्रको स्रोत साधनले मात्रै पुग्दैन त्यसैले बाहिरको प्रविधि र स्रोत साधन भित्र्याउन सक्नुपर्छ,’ उनले भने, ‘नेपालमा विदेशी लगानी भित्र्याउनका लागि धेरै देशहरुसँग द्वेत्य कर सम्झौता लगायतका सन्धिहरु गर्नु आवश्यक छ।’

राज्यको जिम्मेवार व्यक्तिवाट गैरआवासीय नेपालीप्रति लक्ष्यित अभिव्यक्ति नआएको भए राम्रो हुने एनआरएनएका पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछानेले भने।

उनले एक जना मन्त्रीबाटै यस्तो अभिव्यक्ति आयो भनेर चिन्ता पनि नगर्नु भन्दै हामीलाई संविधानले नै हाम्रा हक अधिकारको संरक्षण गरेकोमा विश्वस्थ दिलाए।

कार्यक्रममा प्रवासी नेपाली मञ्चका कृष्ण लामिछाने जनसम्पर्क समिति अमेरिकाका विष्णु सुवेदी एनआरएनए क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्ले अमेरिकाका उपाध्क्ष उमाकान्ति थापाले पनि सम्बोधन गरेका थिए।

अमेरिकाजका क्षेत्रीय संयोजक गौरी जोशीको सभापतित्वमा भएको उद्घाटन समारोहमा अमेरिकाका अध्यक्ष केशव पौडेलले स्वागत र आइसिसि सदस्य डिल्ली भट्टराईले धन्यवाद ज्ञापन गरेका थिए।

शनिवार दिनभर विभिन्न विषयका ३० जना विज्ञले शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास, समाजिक क्षेत्र लगायतका विषयमा विदेशमा बसेर प्राप्त ज्ञानलाई कार्यपत्रका रुपमा प्रस्तुत गरेका थिए।

नेपालले विदेशका नेपालीहरुले आर्जित यी दक्षता र क्षमतालाई कसरी नेपालीमा लैजान सकिनेबारे छलफल भएका थिए ।

Share Now

Leave a comment.