ग्रेम बेकर /बीबीसी न्यूज
तेलअभिभ(इजरायल), २ कार्तिक । इजरेली सेनाले हमासका प्रमुख याह्या सिन्वार मारिएको पुष्टि गरेको छ।
“एक वर्षको प्रयासपछि” गाजाको दक्षिणी भेगमा आफ्नो फौजको कारबाहीमा सिन्वार बुधवार मारिएको सेनाले जनाएको छ।
“गाजाका सर्वसाधारण मानिसहरूभन्दा पछाडि अनि गाजा स्ट्रिपमा रहेका हमासका सुरुङभन्दा माथि तथा मुनि एक वर्षसम्म लुकेपछि याह्या सिन्वारको नाश गरिएको छ,” इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) ले भनेको छ।
इजरेलका राष्ट्रपति आइज्याक हर्गजले सिन्वारलाई मारेकामा आफ्नो सेनाको प्रशंसा गरेका छन्। सिन्वारले “रक्तपात र आतङ्कका लागि” आफ्नो जीवन समर्पण गरेको उनको भनाइ छ।
त्यसै गरी त्यहाँका विदेशमन्त्री इजरेल काट्जले विश्वका विभिन्न देशका आफ्ना समकक्षीलाई एक सन्देश पठाउँदै यस घटनालाई “महत्त्वपूर्ण उपलब्धि”का रूपमा व्याख्या गरेका छन्।
यसअघि आईडीएफले गाजामा ‘मारिएका तीनजना आतङ्ककारी’को पहिचान हुन बाँकी रहेको बताएको थियो। आईडीएफले भनेको थियो, “आतङ्ककारीहरू मारिएको भवनभित्र बन्धकहरू रहेको सङ्केत छैन।”
समाचारसंस्था एएफपीका अनुसार मारिएकामध्ये सिन्वार भएनभएको निश्चित गर्न डीएनए परीक्षण जारी रहेको इजरेलका एक सुरक्षा अधिकारीले बताएका थिए।
उक्त समाचारपछि इजरेली रक्षामन्त्री योआभ गलान्टले सामाजिक सञ्जालमा “हाम्रा शत्रुहरू लुक्न सक्दैनन्” भनी लेखेका थिए।
याह्या सिन्वार को हुन्?
सिन्वारलाई गत वर्षको अक्टोबर ७ तारिखमा दक्षिणी इजरेलमा हमासले गरेको आक्रमणको प्रमुख योजनाकारको रूपमा लिइन्थ्यो।
यसअघिका हमास प्रमुख इस्माइल हानियाको मृत्यु भएपछि नेतृत्व चयन गर्न हमासले दोहामा दुई दिन सघन बैठक गरेको थियो।
सन् २०१७ देखि गाजा स्ट्रिपमा हमास समूहका नेता रहेका सिन्वारलाई सर्वसम्मतिमा उक्त समूहको राजनीतिक विभाग नेतृत्व गर्ने जिम्मेवारी दिइएको हमासका एक वरिष्ठ नेताले बीबीसीलाई बताएका थिए।
हानियाको हत्या भएपछि मध्यपूर्वमा तनाव चुलिएको छ। इरान र उसका सहयोगीहरूले इजरेललाई दोष लगाउँदै प्रतिशोध लिने बताएका छन्।
हमासमा सिन्वारलाई चरमपन्थी नेता मानिन्छ।
यसअघि गाजा क्षेत्रमा हमासको राजनीतिक एकाइ प्रमुख थिए। सन् १९६२ मा जन्मेका सिन्वार हमासको सुरक्षा सेवा ‘मज्द’का संस्थापक पनि थिए।
मज्दले गाजामा आन्तरिक सुरक्षा हेर्छ। त्यसमा सन्दिग्ध इजरेली गुप्तचरहरूको अनुसन्धान गर्ने जस्ता कार्यहरू पर्छन्। उनी आफैँले पनि इजरेली गुप्तचर र सुरक्षा सेवाका अधिकारीहरूमाथि दृष्टि राख्ने गरेको बताउने गरिन्छ।
सिन्वार तीन पटक पक्राउ परेका थिए। सन् १९८२ मा इजरेली सैनिकले उनलाई पहिलो पटक पक्राउ गरेको थियो। त्यतिबेला उनलाई चार महिना जेलमा राखिएको थियो।
सन् २०११ मा इजरेलले आफ्ना एक सैनिकको रिहाइको बदलामा हमास र फतहका कैदीहरूलाई रिहा गरेको थियो। त्यसमा याह्या सिन्वार पनि परेका थिए।
इजरेली कैदबाट मुक्त भएपछि उनी हमासमा आफ्नो पुरानो स्थानमा फर्किए। सन् २०१७ मा सिन्वार गाजा क्षेत्रमा हमासको राजनीतिक विभाग प्रमुख बने।
अमेरिकाले उनलाई सन् २०१५ मा “अन्तर्राष्ट्रिय आतङ्ककारी” को सूचीमा राखेको छ।
सिन्वार कसरी मारिए?
अक्टोबर ७ को हमलाको मुख्य योजनाकार रहेका हमास नेता याह्या सिन्वारलाई इजरेली फौजले एक वर्षभन्दा बढी समयदेखि खोजिरहेको थियो। उनी इजरेलविरुद्ध एक वर्षअघि हमला गरेयता गाजामा देखिएका थिएनन्।
६१ वर्षीय सिन्वार आफ्नो अधिकांश समय गाजा स्ट्रिपका सुरुङमा आफ्ना सुरक्षाकर्मीसाथ र इजरेलबाट बन्धक बनाएर लगिएका मानिसहरूलाई ‘मानव ढाल’का रूपमा राखेर बसेको ठानिन्थ्यो।
तर उनको अन्त्य भने दक्षिण गाजामा गस्ती गरिरहेको एक इजरेली सेनासँग संयोगवश आमने सामने हुँदा भएको देखिन्छ।
उनलाई पहरेदारी गर्नेहरू थोरै थिए। कुनै बन्धकहरू भेटिएनन्।
त्यसबारे विस्तृत विवरणहरू आउने क्रम जारी छ। तर अहिलेसम्म सिन्वारको हत्याबारे थाहा भएका कुरा यस्ता छन्।
नियमित गस्ती
इजरेल डिफेन्स फोर्सेसले बुधवार आफ्नो ८२८औँ बिस्लमाच ब्रीगेडले रफाहको तल अल-सुल्तान क्षेत्रमा गस्ती गरिरहेको थियो।
इजरेली फौजले तीन जना लडाकुहरूको पहिचान गर्दै उनीहरूसँग भएका लडाइँमा ती मारिए।
बिहीवार बिहान त्यस ठाउँमा पुनः सैनिकहरू नफर्कँदासम्म अघिल्लो दिनको उक्त लडाइँलाई खासै उल्लेख्य ठानिएको थिएन।मृतकहरूको खानतलासी गर्ने क्रममा एउटा शव हमास नेताको जस्तो देखियो।
तर सन्दिग्ध ‘बुबी ट्र्याप’का कारण त्यो प्रस्ट बुझिने अवस्थामा थिएन। जसका कारण शवको औँलाको एउटा भाग काटेर परीक्षणका लागि इजरेल पठाइयो।
उक्त क्षेत्रलाई सुरक्षित पारिएपछि त्यसैदिन ढिलो गरी उनको शवलाई इजरेल ल्याइयो।
आईडीएफ प्रवक्ता ड्यान्यल हेगारीले आफ्ना फौजलाई “उनी त्यहाँ भएको थाहा नभए पनि कारबाही जारी राखेको” बताए।
उनले आफ्ना फौजले तीन जना मानिसहरू घर-घर भागिरहेको देखेपछि उनीहरूसँग लडाइँ भएको बताए।
पछि सिन्वारका रूपमा पहिचान गरिएका ती व्यक्ति “एक्लै एउटा भवनमा कुदिरहेको” र ड्रोनका सहायताले अवस्थिति पहिचान गर्दै मारिएका थिए।
सिन्वारले मानव ढाल बनाएको ठानिएका कोही पनि बन्धकहरू त्यहाँ थिएनन्।
उनीसँग सानो सङ्ख्यामा अन्य लडाकु हुनुले कि त उनी कसैको ध्यानमा नपर्ने गरी कतै जान लागेको वा उनलाई सुरक्षा दिने अधिकांश मारिइसकेको हुनसक्छ।
इजरेली रक्षामन्त्री योअफ गालान्टले भने: “सिन्वारको मृत्यु प्रताडित, भयभीत र भाग्ने क्रममा भयो – उनी कमान्डरका रूपमा नभईकन स्वयंको मात्र मतलब गर्ने व्यक्तिका रूपमा मरे। यो हाम्रा सबै शत्रुहरूलाई प्रष्ट सन्देश हो।”
सिन्वार ‘मारिए’
बिहीवार इजरेलले स्थानीय समय अनुसार मध्याह्नमा सिन्वार गाजामा मारिएको “सम्भावनाबारे अनुसन्धान गरिरहेको” घोषणा गरेको थियो।
उक्त घोषणाको केही मिनेटमै सोसल मिडियामा प्रेषित तस्बिरमा ती हमास नेतासँग मिल्दाजुल्दा तस्बिरहरू राखिएका थिए।
भयावह रूपमा टाउकोमा चोट लागेका कारण विचलित पार्न सक्ने भएकाले तिनलाई पुनः प्रकाशित गरिएको छैन।
यद्यपि अधिकारीहरूले “उक्त अवस्थामा” ती तिनैजना मानिसहरूको पहिचान पुष्टि गर्न नसकिएको भन्दै सजग गराएका थिए।
त्यसपछि बीबीसीसँग धेरै ढिलो नगरीकनै इजरेली स्रोतहरूले सिन्वारलाई मारिएको कुरामा नेताहरू “बढ्दो रूपमा आश्वस्त” बनिरहेको बताए।
तर मृत्यु पुष्टि गर्नुअघि सबै आवश्यक परीक्षणहरू गर्न आवश्यक रहेको उनीहरूले बताएका थिए।
ती परीक्षण गर्न धेरै समय लागेन।
बिहीवार साँझसम्म ती पूरा भएको भन्दै इजरेलले सिन्वार “मारिए”को पुष्टि गर्यो।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले “दुष्ट”ले “झट्का बेहोरेको” बताए। तर उनले “गाजामा इजरेली युद्ध पूरा नभएको” बताए।
कडा निगरानी
योजनाबद्ध रूपमा निशानामा पारेर गरिएको कारबाहीमा सिन्वार मारिएको नभए पनि आईडीएफले कैयौँ सातादेखि गुप्तचरी सूचनाका आधारमा उक्त क्षेत्रमा उनी रहेको भन्दै कारबाही चलाएको थियो।
इजरेली फौजले दक्षिणी सहर रफाहमा सिन्वार भएको अस्पष्ट आकलन गर्दै बिस्तारै उनलाई खोज्न काम जारी राखेका थिए।
सिन्वार एक वर्षदेखि लुकिरहेका थिए। मोहम्मद डेफ र इस्माइल हानियासहितका हमास नेताहरू मारिएपछि उनले स्वाभाविक रूपमा दबाव खेपिरहेका थिए।
उनले अक्टोबर ७ को हमला कार्यान्वयन गर्ने क्रममा प्रयोग गरेको पूर्वाधार समेत इजरेलले ध्वस्त पारिदिएको थियो।
आफ्नो एक विज्ञप्तिमा आईडीएफले दक्षिणमा पछिल्ला सातामा गरिएका कारबाही आफ्ना “फौजले खोज्दै याह्या सिन्वारलाई कारबाही सञ्चालन गर्ने गरी हिँड्डुल गर्न रोक्दै उनलाई मार्न सकेको” जनाएको छ।
मुख्य लक्ष्य, तर अन्त्य होइन
अक्टोबर ७ को हमलापछि सिन्वारको हत्या इजरेलको एउटा मुख्य लक्ष्य थियो। तर उनको मृत्युसँगै गाजा युद्ध अन्त्य हुँदैन।नेतन्याहूले अक्षम्य अपराधका लागि दण्ड दिएको बताए पनि हमासले बन्धक बनाएका १०१ जना मानिसहरूलाई नछुटाएसम्म युद्ध जारी रहने जनाएका छन्।
“प्रिय बन्धकका परिवारहरू, म भन्छु: यस युद्धमा यो एउटा महत्त्वपूर्ण क्षण हो। तपाईँहरूका प्रियजन, हाम्रा प्रियजन घर नफर्केसम्म हामी पूरा बलसाथ लागिरहने छौँ।”
इजरेललमा बन्धकहरूका परिवारले अब युद्ध विराममा पुग्न सकिने र त्यसले बन्धकहरूलाई घर फर्काउने आशा राखेका छन्।


















