पोखरा(कास्की), ३ कात्तिकः सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा ल्याइएको छ ।
जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ पर्नुुभएका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइएको हो ।
लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ ।
लामिछानेलाई आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।
पार्टी कार्यालयबाटै पक्राउ गरियो रविलाई
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले शुक्रबार अपरान्ह नियन्त्रणमा लिएको थियो । बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै प्रहरीले पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई नियन्त्रणमा लिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभएको थियो ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उहाँविरुद्ध अनुसन्धानका लागि पक्राउ गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएको थियो ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने बताउनुभयो । उहाँले आफूलाई पक्राउ गरेको घटनालाई देशको आशा र भरोसामाथि प्रहार भएका रुपमा लिएको जिकिर गर्नुभयो ।
रास्वपाले न्यायिक प्रक्रियालाई सघाउने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको घटनालाई ‘नयाँ पुस्ताको राजनीतिक अभ्यास’ लाई सिध्याउनका लागि चालिएको परिपञ्चका रुपमा लिएको प्रतिक्रिया दिएको छ ।
पार्टी सभापति पक्राउ परेपछि राससलाई प्रतिक्रिया दिँदै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टी सभापति पक्राउ परेको घटनालाई जोडेर जनतालाई अप्ठ्यारो पर्ने तथा अर्थतन्त्रलाई हानी नोक्सानी पुग्ने खालका कुनै गतिविधि नगर्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “प्रहरी, अदालत र कानुनप्रति हाम्रो कुनै द्वेष छैन, सहज रुपमा प्रक्रिया स्वीकार गरेका छौँ, न्यायिक प्रक्रियालाई सघाउँछौँ, यस घटनालाई भद्ररुपमा राजनीतिक परितर्वनको लडाइँ सुरुआतका रुपमा लिएका छौँ ।”
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उहाँविरुद्ध अनुसन्धानका लागि पक्राउ गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएको थियो ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । यसै प्रकरणमा गोर्खा मिडियाका सञ्चालक पूर्व प्रहरी नायबमहानिरीक्षक छविलाल पोखरेललाई पनि प्रहरीले पक्राउ गरेर हिराशतमा राखी अनुसन्धान गरिरहेको छ ।