Prakash Adhikari October 21, 2024

 

काठमाडौँ, ५ कार्तिक । नेपाल प्रहरीको जनपद समूहतर्फ एक जना डीआईजीलाई एआईजी (अतिरिक्त महानिरीक्षक)मा बढुवा सिफारिस गरिएको छ ।

आइतबार साँझ बढुवा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत किरण राणालाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोमा दरबन्दी भएर विमानस्थलको सुरक्षा प्रमुखमा कार्यरत राणा आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गर्नुभएको थियो । उहाँ ५६ वर्षे उमेर हदका कारण कार्तिक १५ मा अवकाशमा जाँदै हुनुहुन्छ । प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पूरा भएमा अवकाशमा जान्छन् ।

अतिरिक्त महानिरीक्षकको बढुवा सिफारिस मन्त्रिपरिषद्बाट सदर हुनुपर्छ । तर, बढुवा सिफारिस सदर भए पनि उनको अवकाश रोकिँदैन । उहाँलाई विशिष्ट श्रेणीबाट अवकाश हुने गरी बढुवा सिफारिस गरिएको जानकारहरू बताउँछन् । विशिष्ट श्रेणीबाट अवकाश हुनेहरू भविष्यमा विभिन्न आयोग तथा सरकारी नियुक्तिका लागि योग्य हुन्छन् ।

 

Share Now