बेरुत(लेबनान), ५ कार्तिक(बीबीसी) । हिज्बुल्लाह समूहलाई सहयोग उपलब्ध गराएको आरोप लागेका ब्याङ्कहरूलाई लक्षित गर्दै इजरायलले दक्षिणी लेबनान र बेइरुतमा थप हवाई आक्रमण गरेको छ।
दक्षिणी लेबननस्थित हिज्बुल्लाहको नियन्त्रणमा रहेका दाहिअ क्षेत्र र बेका उपत्यकामा विस्फोटन भएको सुनिएको छ। त्यहाँ मानिसहरू हताहत भए नभएको स्पष्ट हुन बाँकी छ।
इजरायली सेनाले बेइरुतका १४ स्थानसहित लेबनानका विभिन्न २० वटा क्षेत्रमा बसोबास गरिरहेका मानिसहरूलाई रातभरि आक्रमण हुने चेतावनी दिएको थियो।
इजरायली सेनाले हिज्बुल्लाहलाई सहयोग पुर्याइरहेका ब्याङ्क र अन्य वित्तीय पूर्वाधारहरूमा आक्रमण गरिने जनाएको थियो।
आईडीएफका प्रवक्ता ड्यानिअल हगारीले आइतवार साँझ एउटा विज्ञप्ति जारी गर्दै “हिज्बुल्लाहको आतङ्क फैलाउने गतिविधिलाई आर्थिक सहयोग गरिरहेका क्षेत्रमा रहेकाहरूलाई तत्कालै त्यहाँबाट बाहिर जान” भन्नुभएको थियो।
ूहामी केही घण्टामै कैयौँ स्थानमा आक्रमण गर्दै छौँ र रातभरिमा अरू स्थानमा पनि आक्रमण गर्ने छौँ,ू उहाँले भन्नुभएको थियो।
उहाँले गैरसैनिक सङ्घसंस्था तथा गैरसरकारी संस्थाको माध्यमबाट इरानले हिज्बुल्लाहलाई आर्थिक सहयोग उपलब्ध गराएको खुलासा आफूहरूले गर्न लागेको बताउनुभयो।

लेबनन र इजरेलको नक्सा

अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा पनि आक्रमण
लेबननको सरकारी समाचारसंस्था एनएनएले पूर्वी बेका उपत्यकासहितका स्थानमा अल(कार्द अल(हसन ब्याङ्कका केही शाखाहरूमा आक्रमण भएको जनाएको छ।
बेइरुतस्थित रफिक हरारी अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ब्याङ्कको शाखामा पनि इजरायलले आक्रमण गरेको विवरण आएको छ। विमानस्थलनजिकै विस्फोट भएको स्थानबाट धूवाँ उडिरहेको भिडिओ सार्वजनिक भएको छ।
लेबनानमा उक्त ब्याङ्कका ३० भन्दा धेरै शाखा छन्। तीमध्ये १५ वटा बेइरुतमा घना बस्ती भएका स्थानमा रहेको समाचारसंस्था रोएटर्सले जनाएको छ।
इजरायलले उक्त ब्याङ्कले हिज्बुल्लाहलाई आर्थिक सहयोग गरेको आरोप लगाएको छ। अमेरिकाले पनि हिज्बुल्लाहले आफ्नो वित्त व्यवस्थापनका लागि उक्त ब्याङ्क प्रयोग गरेको दाबी गर्दै आएको छ।
हिज्बुल्लाहले इजरायली सैन्य शिविरहरूलाई लक्षित गर्दै थप रकेट प्रहार गरिएको जनाएको छ। सो समूहले दक्षिणी लेबनानमा इजरायली सैनिकहरूमाथि आफूले आक्रमण गरेको दाबी गरेको छ।
इजरायली सेनाले आइतवार साँझ विगत २४ घण्टामा उत्तरी इजरेलमा दर्जनौँ रकेट प्रहार गरिएको जनाएको थियो।
इजरायली सेनाका अनुसार लडाकु विमानहरूले हिज्बुल्लाहको गुप्तचर कार्यालयको मुख्यालय र बेइरुतस्थित भूमिगत अस्त्र मर्मत केन्द्रमा पनि आक्रमण गरेका छन्।
इजरायलले सर्वसाधारण मानिसमा हुने क्षति कम गर्न यथासम्भव प्रयास गरिएको दाबी गरेको छ। यद्यपि हिज्बुल्लाह र लेबनानका अधिकारीहरूले इजरायलमाथि सर्वसाधारण मानिसलाई निसाना बनाएर आक्रमण गरिरहेको आरोप लगाउँदै आएका छन्। इजरायलले भने ती आरोपको खण्डन गर्दै आएको छ।
राष्ट्रसङ्घीय संरचनामा आक्रमण
लेबननमा शान्ति कायम गर्न खटिएको संयुक्त राष्ट्रसङ्घीय मिशन यूनिफिलले इजरायली सेनाले नियोजित रूपमा आफ्नो निगरानी टावर र कार्यालय परिसरको पर्खाल ध्वस्त बनाइदिएको आरोप लगाएको छ। इजरेलसँग सीमा जोडिएको दक्षिणी लेबननको मार्वाहिन सहरमा भएको पछिल्लो घटनाअघि पनि गत साता यस्तै आक्रमणहरू भएका थिए।
ूहामी फेरि पनि भन्न चाहन्छौँ कि राष्ट्रसङ्घ तैनाथ रहेको स्थानमा प्रवेश गर्नु र राष्ट्रसङ्घका संरचना माग्नु अन्तर्राष्ट्रिय कानुन र सुरक्षा परिषद्को प्रस्ताव १७०१ को स्पष्ट उल्लङ्घन हो,ू यूनिफिलले एउटा विज्ञप्तिमा भनेको छ।
लेबनानको सेनाले आफ्ना तीन सैनिकहरू इजरायली हवाई आक्रमणमा मारिएको जनाएको छ।
इजरायलले भने दुवै घटनामा कुनै टिप्पणी गरेको छैन।
इजरायलले र हिज्बुल्लाहबीच चर्किएको लडाइँमा लेबनानको राष्ट्रिय सेना सहभागी भएको छैन। तर गत महिना दुई पक्षबीच तनाव चुलिएपछि कैयौँ लेबनानी सैनिकहरूको पनि मृत्यु भएको छ।
लेबनानमा सक्रिय उक्त शक्तिशाली लडाकु समूहले गाजामा हमासमाथि इजरायलबाट भइरहेको आक्रमणको बदलामा इजरायली सैनिक इलाकाहरूमा आफूले हमला गर्ने गरेको बताउँदै आएको थियो।
हिज्बुल्लाह र हमास दुवै समूहलाई इरानले समर्थन गर्दै आएको छ।
लेबनानका अधिकारीहरूले गत वर्ष २ हजार ४ सय भन्दाबढी मानिसको सङ्घर्षमा परेर मृत्यु भएको आकलन गरेका छन्। सो अवधिमा उत्तरी इजरेल र अधीनस्थ गोलन हाइट्समा ५९ जना मारिएको इजरायलले जनाएको छ।


















