Prakash Adhikari October 22, 2024

काठमाडौं, ६ कार्तिक । लगातार पछिल्ला दुई कारोबार दिनमा ओरालो लागेको नेपालको शेयर बजार आज उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सार्वजनिक गरेको विवरण अनुसार यस दिन धितोपत्र बजार परिसूचक २५.८८ अंक बढेर २६६५.८१ विन्दुमा पुगेको छ।

धितोपत्र बजार परिसूचक बढेपनि मंगलबार कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब ६ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन ३ सय १४ स्टकको १ करोड ९ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्रीबाट ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.८६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने थ्रिस्टार हाइड्रोपावर, महुली लघुवित्त वित्तीय संस्था र मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन शेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा कर्पोरेट विकास बैंक, नाडेप लघुवित्त, पाँचथर पावर कम्पनी, लिबर्टी इनर्जी र ग्रीन भञ्चर्स लिमिटेड रहेका छन् ।

यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ४.७५ प्रतिशत घटेको छ। अन्य मूल्य घटेका कम्पनीहरुमा कालिका लघुवित्त, ग्लोबल आईएमई ब्यालेन्स फण्ड १, प्राईम डिबेञ्चर ८८, सिकलेस हाइड्रो, मन्दाकिनी हाइड्रो लिमिटेड, एसबीएल डिबेञ्चर ८९, ग्लोबल आईएमई डिबेञ्चार ८४।८५, एसबीएल डिबेञ्चर ८३ र सिटिजन्स डिबेञ्चर ९० रहेका छन् ।

कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १७ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन कुमारी बैंकको करिब १४ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। यस्तै यस दिन पिपल्स हाइड्रोको १० करोड ९९ लाखभन्दा बढी, एसबीआई बैंकको ८ करोड ९३ लाख भन्दा बढी, हिमालयन डिष्टिलरीकोे ७ करोड ५९ लाख भन्दाबढी, शिभम् सिमेण्ट्सको ६ करोड ७३ लाखभन्दा बढी, न्यादी ग्रुप पावर लिमिटेडको ६ करोड १२ भन्दाबढी, हाथवेको ६ करोड १२ लाख भन्दाबढी, जलविद्युत लगानी तथा विकास कम्पनी(एचआईडीसीएल)को ६ करोड ७ लाख भन्दाबढी रुपैयाको शेयर कारोबार भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

Share Now