-स्टिभ रोजनबर्ग
रुस सम्पादक/ बीबीसी
मस्को(रुस), ६ कार्तिक । सन् २०१६ को नोभेम्बर महिनामा रुसका एक उग्र राष्ट्रवादी राजनीतिज्ञ भ्लादिमिर झिरिनोभ्स्की डोनल्ड ट्रम्पको विजयबाट अत्यन्तै उत्साहित देखिनुभएको थियो।
ट्रम्पको जितले अमेरिका र रुसबीचको सम्बन्धलाई रूपान्तरण गर्नेछ भन्ने कुरामा निकै विश्वस्त उहाँले रुसी संसद डूमामा १ सय ३२ बोतल स्याम्पेन मदिराको वर्षा गराउनुभयो र पार्टी कार्यालयहरूमा टेलिभिजन क्यामेराहरूका अघिल्तिर उत्सव मनाउनुभयो।
यसरी उत्सव मनाउनेमा उहाँ एक्लो हुनुहुन्थेन ।
ट्रम्पले आश्चर्यजनक तरिकाले जित हासिल गरेको अर्को दिन रुसी सरकारी टेलिभिजन च्यानल आरटीकी प्रधान–सम्पादक मार्गरिटा साइमोन्यानले आफूलाई कारको झ्यालमा अमेरिकी झण्डा राखेर मस्को वरपर घुम्न मन लागेको कुरा ट्विटरमा लेख्नुभयो।
यसबारे मलाई एकजना रुसी अधिकारीले बताएको कुरा म कहिल्यै बिर्सन्नँ। उहाँका अनुसार साइमोन्यानले ट्रम्पको जितको खुसियालीमा सिगार पिउनुभएको थियो र स्पाम्पेनको पूरै बोत्तल रित्याउनुभएको थियो ।
त्यतिबेला मस्कोले राष्ट्रपतिका रूपमा डोनल्ड ट्रम्पबाट उच्च आशा राखेको थियो।
ट्रम्पले रुसविरुद्धका प्रतिबन्धहरू हटाइदिनु हुनेछ र अझ युक्रेनबाट कब्जा गरिएको क्राइमिया प्रायःद्वीपलाई रुसको हिस्साका रूपमा मान्यता दिनुहुने छ भन्ने अपेक्षा थियो।
“ट्रम्पको महत्त्व कस्तो थियो भने उहाँले रुसको मानवाधिकारबारे कहिल्यै प्रवचन वा उपदेश दिनुभएन”, नेजाभिसिमाय गजेटा पत्रिकाका मालिक तथा प्रधान–सम्पादक कोन्सट्यान्टिन रेम्चुकोभले भन्नुभयो।
तर त्यस्तो उत्सवपूर्ण वातावरण समाप्त हुन धेरै समय लागेन।
“ट्रम्पले रुसविरुद्ध झन् कडा प्रतिबन्ध लगाउनुभयो”, रेम्चुकोभ सम्झनुहुन्छ, “कार्यकालको अन्त्यसम्म त उहाँबाट धेरै मानिसहरू निराश भइसकेका थिए।”
त्यसले गर्दा आठ वर्षपछि अहिले कमसेकम सार्वजनिक रूपमा भए पनि रुसी अधिकारीहरू ट्रम्पको दोस्रो कार्यकालबारे अधिक सतर्क देखिएका छन्।
राष्ट्रपति भ्लादिमिर पुटिनले त अझ अघि बढेर डेमोक्र्याटिक पार्टीका उम्मेदवारलाई समर्थन दिनुभयो, भलै त्यो समर्थनलाई व्यापक रूपमा क्रेम्लिनले गरेका ठट्टाका रूपमा लिइयो।
पुटिनले आफूलाई कमला ह्यारिसको हाँसो मन पर्ने बताउनुभएको थियो।
तर चुनावी अभियानका क्रममा ह्यारिसले नभइ ट्रम्पले पुटिनको मुहारमा मुस्कान पैदा हुने किसिमका कुराहरू गरिराखेका छन् भन्ने बुझ्नलाई तपाईँ राजनीतिक विश्लेषक भइराख्नु पर्दैन।
युक्रेनलाई दिइँदै आएको अमेरिकी सैन्य सहायताको स्तरबारे ट्रम्पले गरिराखेको आलोचना, रुसले गरेको पूर्णस्तरको आक्रमणमा पुटिनलाई दोषी ठहर्याउन देखाएको अनिच्छा र राष्ट्रपतीय बहसका क्रममा आफूले युक्रेनले युद्ध जितेको हेर्न चाहेको बताउन अस्विकार गर्नुलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ।
त्यस विपरीत, कमला ह्यारिसले युक्रेनलाई दिइएको समर्थनमा अमेरिकाको रणनीतिक रूची रहेको तर्क गर्नुका साथै पुटिनलाई हिंस्रक तानाशाूको संज्ञा दिनुभएको थियो।
रुसी सरकारी टिभीले ह्यारिसको खास प्रशंसा गरेको छैन। केही साताअघि त्यहाँका चर्को बोल्ने समाचार एङ्करहरूमध्येका एकजनाले कमला ह्यारिसको राजनीतिक क्षमतालाई पूर्ण रूपमा खारेज गर्नुभयो। त्यतिमात्रै नभइ उहाँले ह्यारिसले टिभीमा पाककला सम्बन्धी कार्यक्रम कुकरी शो सञ्चालन गर्दा राम्रो हुने सुझाव दिनुभयो।
क्रेम्लिनका निम्ति अनुकूल हुन सक्ने अर्को एउटा परिस्थिति पनि बन्न सक्छ, झिनो मतान्तरसहितको एकदम कडा प्रतिस्पर्धात्मक चुनाव र अन्तिम नतिजालाई हार्ने उम्मेदवारले नस्वीकार्ने स्थिति आउनु।
त्यस्तो हुन गएमा चुनावपछिको अराजकता, भ्रम र द्वन्द्वका कारण अमेरिकासँग युक्रेनको युद्धलगायत विदेशी मामिलाहरूमा ध्यान केन्द्रित गर्न कम समय हुनेछ।
बाराक ओबामाको कार्यकालमा अमेरिका-रूस सम्बन्ध चिसियो, डोनल्ड ट्रम्पको पालामा झन् बिग्रियो र वाशिङ्टनबाट भर्खरै बिदा भएका रुसी राजदूत एनाटोली एन्टोनोभका शब्दमा जो बाइडनको नेतृत्वमा त्यो विच्छेद हुँदैछ।
वाशिङ्टनले सिङ्गो दोष मस्कोको टाउकामा खन्याउँछ।
पुटिन र बाइडनले जेनेभाको एउटा सम्मेलनमा भेटेको केवल आठ महिनापछि क्रेम्लिनका नेताले युक्रेनमाथि पुर्णस्तरको आक्रमण थाल्नुभएको थियो।
बाइडन प्रशासनले रुसमथि प्रतिबन्धको सुनामी मात्र सिर्जना गरेको छैन, अमेरिकी सैन्य सहायताले कीएभलाई साढे दुई वर्षभन्दा बढी समयदेखिको युद्धमा बचाउन मद्दत पनि गरेको छ। अमेरिकाले युक्रेनलाई दिएको अत्याधुनिक हतियारमा अब्राम ट्याङ्क र हाइमार्स रकेट प्रणाली पनि सामेल छन्।
तर एउटा यस्तो समय पनि थियो जहाँ रूस र अमेरिकाले विश्वव्यापी सुरक्षा सुदृढ गर्न साझेदारी गर्ने प्रतिबद्धता जनाएका थिए र त्यसो गरिएको धेरै समय भएको छैन भनेर विश्वास गर्न अब कठिन छ।
सन् १९८० को उत्तरार्धामा रोनाल्ड रेगन र मिखाइल गोर्बाचेभले आ-आफ्ना देशको आणविक हतियारलाई घटाउन सहकार्य थाल्नुभएको थियो।
सन् १९९१ मा सोभियत संघ र अमेरिकाका प्रथम महिलाद्वय रेइसा गोर्बाचेभा र बारबरा बुशले मस्कोमा एउटा अनियमित किसिमको स्मारकको अनावरण गरेका थिए त्यसमा आठवटा टिउरासहितकी हाँसको मूर्ति थियो।
उक्त कला बोस्टन पब्लिक गार्डेनमा रहेको मूर्तिकलाको प्रतिकृति थियो र सोभियत र अमेरिकी बालबालिकाबीचको मित्रताको प्रतीकको रूपमा मस्कोलाई उपहार दिइएको थियो।
मस्कोका मानिसहरूबीच यो अझै पनि लोकप्रिय छ। काँसका हाँसहरूसँग फोटो खिच्न नोभोडेभिची पार्क पुग्ने रुसीहरूमध्ये थोरैलाई मात्र त्यो शक्तिशाली हाँस कुटनीतिको कहानी थाहा छ।
अमेरिका–रुस सम्बन्धजस्तै यी हाँसहरूले पनि केही समस्या बेहोरेका छन्। एकपटक यीमध्येका केही चोरिएपछि प्रतिस्थापन गर्नु परेको थियो।
रुसीहरू अमेरिका र अमेरिकी चुनावबारे के सोच्छन् भन्ने थाहा पाउन म मस्कोस्थित त्यही आमाहाँस र टिउराहरू भएको ठाउँतर्फ गएँ।
“म अमेरिका हराएर जाओस भन्ने चाहन्छु”, नजिकैको पोखरीमा माछा मार्ने काम गर्दै आएका इगोर आक्रोशित हुँदै भन्नुहुन्छ, “यसले विश्वमा धेरै युद्धहरू सुरु गरेको छ। अमेरिका सोभियतकालमा पनि हाम्रो शत्रु थियो र अहिले पनि छ। राष्ट्रपति को हो भन्ने कुराले अर्थ राख्दैन।”
यहाँको राज्य–सञ्चालित टेलिभिजनमा प्रायः अमेरिकालाई स्थायी शत्रुका रूपमा प्रचारित गरिन्छ। इगोर यतिविघ्न रिसाउनुको कारण रूसी टिभीमार्फत् नियमित रूपमा सूचना र समाचारहरू प्राप्त गर्ने गरेकाले हो? वा धेरै माछा समात्न नसकेका कारण पनि हुन सक्छ।
मैले कुरा गरेका धेरैजसो रुसीहरूले अमेरिकालाई दुष्ट वैरीका रूपमा हेरेनन्।
“म शान्ति र मैत्रीको पक्षमा छु”, स्वेटलाना भन्नुहुन्छ, “तर अमेरिकामा भएका मेरो साथी मलाई फोन गर्न पनि डराउँछन्। सायद त्यहाँ वाक् स्वतन्त्रता छैन। अथवा सायद यहाँ रुसमा वाक् स्वतन्त्रता नभएको पनि हुन सक्छ। मलाई थाहा छैन।”
“दुई देश र दुई देशका जनताबीच मित्रता हुनुपर्दछ”, निकिता भन्नुहुन्छ, “युद्ध गर्नुहुँदैन। कोसँग धेरै क्षेप्यास्त्र छन् भन्ने प्रतिस्पर्धा गर्नुहुँदैन। म ट्रम्पलाई रुचाउँछु। उहाँ राष्ट्रपति छँदा ठूल्ठूला युद्धहरू भएका थिएनन्।”
रुस र अमेरिकाबीचका भिन्नताहरूका बावजुद यी दुई देशमा एउटा कुरा समान छ, दुवै देश सधैँ पुरुष राष्ट्रपतिहरूद्वारा सञ्चालित छन्।
के रुसीहरूले त्यसमा परिवर्तन देख्न सक्छन्?
“कुनै महिला राष्ट्रपति बने त काइदै हुन्थ्यो”, मरिना भन्नुहुन्छ।
“म यहाँ(रुसमा) महिला राष्ट्रपतिलाई मतदान गर्न पाए खुसी हुनेछु। म राम्रो हुन्छ कि नराम्रो हुन्छ भनिरहेकी छैन। तर फरक हुन्थ्यो।”


















