काठमाडौं, ७ कार्तिक । नेपाली राष्ट्रिय टोलीलाई ५० ओभरको क्रिकेट खेल्न सकस पर्दै आएको छ । टी २० मा लयमा फर्किएको नेपाली टिम त्यस लगत्तै अमेरिकामा त्यहाँको अमेरिका ए टिमसँग खेलेको ५० ओभरको अभ्यास खेलमा ४ विकेटले पराजित भएको छ ।
अमेरिकाको डालसस्थिती ग्राण्ड प्रेरीमा बुधवार बिहान भएको खेलमा नेपालको ब्याटिड. ध्वस्तै देखियो । ५० ओभरको खेलमा नेपालले ८० रन मात्र बनाउन सक्यो । नेपालले दिएको ८१ रनको लक्ष्य अमेरिका ए ले २३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
अमेरिका ए को जितमा नितिश रेड्डीले ३९ बलमा सर्वाधिक २९ तथा ओपनर राहुल जरिवालले ३३ बलमा २६ रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललितनारायण राजवंशीले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको नेपालले २५.३ओभरमा अल आउट हुदै ८० रनमा अल आउट भएको थियो । नेपालका लागि कुशल मल्लले ४८ बलमा १८, देव खनालले १२ तथा भीम सार्कीले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि नेपालले अमेरिकासँग खेलेको टी २० श्रृखलाको तीनै खेल नेपालले क्लिन स्विप गरेको थियो । अमेरिकामा नै यही कार्तिक ९ बाट १९ गतेसम्म विश्व कप लिग टू अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिज आयोजना हुदैछ । सिरिजमा अमेरिकासहित नेपाल र स्कटल्यान्ड खेल्दै छन् ।
नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग खेल्ने छ । नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा खेल्ने छ ।
सिरिजको सबै खेल अमेरिकाको टेक्सासस्थित डालसमा रहेको ग्रान्ड प्रेरि स्टेडियममा हुने छन्। सबै खेल नेपाली समयअनुसार राति ९ः१५ बजे सुरु हुने छन्।
रोहितकुमार पौडेलको कप्तानीमा मैदानमा उत्रिएको नेपाली टोलीको आजको खेलमा अनिलकुमार शाह, भीम सार्की, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ शेख, करण केसी, रिजन ढकाल र सन्दीप लामिछाने सम्मिलित थिए ।