Prakash Adhikari October 24, 2024

 

अंकारा(टर्की), ८ कार्तिक(बीबीसी) । टर्कीको राजधानीनजिकै अवस्थित विमान निर्माण गर्ने एउटा कम्पनीको मुख्यालयमा बुधवार हमला हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको र २२ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूका अनुसार उक्त घटनापछि टर्कीको सेनाले इराक र सिरियामा कुर्दिश विद्रोही समूह पीकेकेसँग सम्बन्धित स्थानमा हमला गरेको छ। टर्कीको रक्षा मन्त्रालयले एउटा विज्ञप्ति प्रकाशित गर्दै उक्त कारबाहीमा कुल ३२ स्थान ध्वस्त बनाइएको जनाएको छ।

टर्कीका अधिकारीहरूका अनुसार राज्यको स्वामित्वमा रहेको अस्त्र र विमान निर्माण कम्पनीमा बुधवार दुई जनाले हमला गरेका थिए। आन्तरिक मामिलामन्त्री अलि येर्लिकायाले आक्रमणकारीमध्ये एक महिला र एक पुरुष थिए। सुरक्षाकर्मीहरूले गरेको प्रत्याक्रमणमा दुवै जनाको मृत्यु भयो।

इन्टरनेटको सामाजिक सञ्जालमा राखिएको भिडिओमा सशस्त्र आक्रमणकारीले कारबाट बाहिर निस्किनासाथ गोली प्रहार गरेको देखिन्छ।

टर्कीका सरकारी निकायहरूले सञ्चारमाध्यमलाई उक्त भिडिओ प्रसारण गर्न प्रतिबन्ध लगाएका छन् भने सामाजिक सञ्जाल सञ्चालनमा पनि रोक लगाएका छन्।

कसरी भयो हमला ?

घटनास्थल अङ्काराबाट झन्डै ४० किलोमिटर टाढा छ।

टर्किश एअरोस्पेस इन्डस्ट्रिज (टीएआई)मा भएको आक्रमणका क्रममा खिचिएका भिडिओहरूमा कम्तीमा दुई व्यक्तिले उक्त कम्पनीको प्रवेशद्वारमा गोली चलाइरहेको देख्निन्छ।

टर्कीका आन्तरिक मामिलामन्त्रीले आक्रमणमा कुर्दिश विद्रोही समूह पीकेके संलग्न रहेको हुन सक्ने बताए।

यद्यपि सो आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन।

टर्कीका उपराष्ट्रपति जेभेट यिल्माजले बुधवारको घटनामा परेर ज्यान गुमाउनेमध्ये चार जना टीएआईका कर्मचारी भएको जानकारी दिनुभएको छ। पाँचौँ व्यक्ति सवारीचालक भएको थाहा भएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणकारीहरूले ती चालकको हत्या गरेर आक्रमणमा तिनको ट्याक्सी प्रयोग गरेका थिए।

कार्यालयमा कर्मचारीहरूको पालो फेरिन लागेको बेला विस्फोटन भएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार त्यसपछि कर्मचारीहरूलाई सुरक्षित आश्रयस्थलमा लैजानुपरेको थियो।

येर्लिकायाले आक्रमणमा घाइते भएका २२ जनामध्ये सात जना विशेष फौजका सदस्यहरू रहेको जानकारी दिनुभएको छ।

पीकेके के हो ?

टर्की, अमेरिका र यूकेले कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लाई आतङ्कवादी सङ्गठन घोषणा गर्दै प्रतिबन्ध लगाएका छन्।

सो समूहले कुर्द अल्पसङ्ख्यक क्षेत्रमा थप अधिकार पाउनुपर्ने मागसहित सन् १९८४ देखि टर्कीको राज्यविरुद्ध सङ्घर्ष गर्दै आएको छ। पीकेकेको स्थापना सन् १९७० को दशकमा भएको थियो।

सन् १९९० को दशकमा पीकेकेले स्वायत्तताले मात्र नपुग्ने भन्दै कुर्दहरूका लागि स्वतन्त्र राज्यको माग बिउँत्यायो। सन् २०१५ मा युद्धविराम सकिएपछि दुई पक्षबीच सङ्घर्ष चर्कियो।

संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धविराम सकिएपछि दक्षिणपश्चिमी टर्कीमा हिंसा चर्किँदा हजारौँ मानिसको मृत्यु भएको छ भने ठूलो सङ्ख्यामा मानिसहरू विस्थापित भएका छन्।

कस्तो प्रतिक्रिया

ब्रिक्सको शिखर बैठकमा सहभागी हुन रुस पुगेका टर्कीका राष्ट्रपति रेजेप ताय्यिप एर्दोआनले उक्त हमलाको निन्दा गर्नुभएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका क्रममा उहाँले त्यसलाई जघन्य आतङ्कवादी हमला भन्नुभएको थियो। त्यसलाई टेलिभिजनमार्फत् प्रसारण गरिएको थियो।

उहाँले पछि सामाजिक सञ्जाल ुएक्सुमा सुरक्षाफौजले तत्कालै कदम चालेर जोखिम मेटेको भन्दै टर्कीको सुरक्षाव्यवस्थालाई निसाना बनाउने कुनै पनि आतङ्कवादी सङ्गठन वा कुदृष्टिले लक्ष्य पूरा गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो।

टर्कीले उक्त उक्त हमलाबारे विस्तृत विवरण प्रकाशित वा प्रसारित गर्न सञ्चारमाध्यमलाई पनि रोक लगाएको छ। टर्कीमा यूट्युब, इन्स्टाग्राम, फेसबुक र एक्सजस्ता सञ्जालमा अवरोध देखिएको प्रयोगकर्ताहरूले बताएका छन्।

टर्कीको रेडिओ र टेलिभिजनसम्बन्धी सर्वोच्च निकायका प्रमुखले सामाजिक सञ्जालबाट आक्रमणसँग सम्बन्धित सबै तस्बिर हटाउन निर्देशन दिनुभएको थियो। उहाँले आतङ्कवादीहरूको उद्देश्यलाई सहयोग गर्ने तस्बिरहरू शेअर नगर्न आह्वान पनि गर्नुभएको छ।

टीएआई के हो

टीएआई टर्कीको हवाई र अन्तरिक्ष उद्योगमा प्रमुख खेलाडीका रूपमा परिचित छ। सो कम्पनीले व्यावसायिक र सैन्य प्रयोजनका विभिन्न विमान निर्माण गर्छ।

टर्कीले टीएआईलाई अमेरिकी डिजाइनको एफ(१६ लडाकु जेट विमान निर्माण गर्न अनुमति दिएको छ। पुराना विमानहरूलाई आधुनिकीकरण गरेर सेनाले प्रयोग गर्ने विमान बनाउने काममा पनि सो कम्पनीले संलग्न छ।

टीएआई टर्कीको सशस्त्र बल र रक्षा सामर्थ्य सुधार तथा सैन्य खरिदको व्यवस्थापनको जिम्मा पाएको सरकारको एउटा गैरसैनिक निकायको स्वामित्वमा छ।

इस्तान्बुलमा यसै साता रक्षा र एरोस्पेस उद्योगसम्बन्धी एउटा प्रमुख मेलाको आयोजना भइरहेको समयमा सो विस्फोटन भएको हो।

Share Now