-मेरिल सेबास्टियन / नियाज फारूकी
कजाकस्तान(रुस), ९ कार्तिक(बीबीसी) । भारत र चीनका सैनिकहरूबीच हिमाली सीमाक्षेत्रमा घातक भिडन्त भएको चार वर्षपछि दुई देशका नेताहरूले यसै हप्ता बुधवार औपचारिक भेटघाट गरेका छन्।
रुसमा आयोजित ब्रिक्स शिखर सम्मेलनको छेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन्पिङबीच यो साता छुट्टै वार्ता भयो। यसअघि केही दिनअघि दुवै पक्षले सीमावर्ती क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न एउटा सहमति भएको घोषणा गरेका थिए।
मोदी र सीले उक्त कदमको स्वागत गर्दै दुई देशबीच फेरि संवाद थाल्ने वचनबद्धता प्रकट गर्नुभएको छ।
मोदी र सी भारत-चीन सीमा विवाद समाधान गर्ने उद्देश्यले दुई देशका शीर्ष अधिकारीहरूबीच ूचाँडै मिति तोक्नू सहमत हुनुभएको छ।
ब्रिक्स राष्ट्रहरू ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका नेताहरू यो साता रुसको कजानमा भेला भएका हुन्।
भारत र चीनबीच कस्तो विवाद ?
भारत र चीन सम्बन्ध विभिन्न तनावका कारण दशकौँदेखि प्रभावित भएको देखिन्छ। त्यसको मुख्य कारण चाहिँ ३,४४० किलोमिटर लामो अस्पष्ट र विवादास्पद सीमा हो। नदी, ताल र हिउँ पर्ने क्षेत्र भएकाले सीमा जनाउने आधार प्रायः फेरिन्छ। त्यसका कारण दुई देशका सैनिकहरू बारम्बार आमुन्नेसामुन्ने पर्छन् र सङ्घर्ष हुने अवस्था उत्पन्न हुन्छ।
भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारतले ठूलो पराजय बेहोर्नुपरेको थियो। त्यसयता दुई पक्षबीच पटकटक सङ्घर्ष भएको छ।
भारतले सन् २०१९ मा संविधानको धारा ३७० खारेज गर्दै भारत(प्रशासित कश्मीरलाई दिइएको स्वायत्तताको अधिकार खोसेपछि चीनले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा उक्त कदमको विरोध गरेको थियो। कश्मीरमा उच्च हिमाली क्षेत्रमा पर्ने लद्दाख अवस्थित छ। चीनले लद्दाखका केही भागमा आफ्नो स्वामित्व रहेको दाबी गर्दै आएको छ।
सन् २०२० मा दुई देशका सैनिकहरूबीच गल्वान उपत्यकामा भिडन्त हुँदा कम्ती २० भारतीय सैनिक र चार चिनियाँ सैनिकको मृत्यु भयो। त्यसको केही महिनापछि दुवै देशले तनाव मत्थर पार्ने उद्देश्यले विभिन्न सीमावर्ती स्थानबाट आफ्ना फौज पछि सारे। तर अवस्था तनावपूर्ण नै रह्यो।
सन् २०२१ मा उत्तरी सिक्किममा र सन् २०२२ मा सीमाको तनाङ खण्डमा पुनः भिडन्त भयो।
सैन्य तनावका कारण दुई देशबीचको व्यापारिक सम्बन्ध पनि प्रभावित भयो। दिल्लीले भारतमा हुने चिनियाँ लगानीमा कडाइ गर्यो र टिकटकसहित चिनियाँ स्वामित्वमा रहेका विभिन्न मोबाइल एपलाई प्रतिबन्ध लगादियो। भारतले चीनसँग हुने सीधा यात्रुवाहक उडान पनि बन्द गरिदियो।
समस्या समाधान गर्न कस्तो प्रयास ?
सन् २०१९ पछि मोदी र सीबीच अहिले पहिलो पटक औपचारिक वार्ता भएको हो। यद्यपि सन् २०२२ मा जी२० शिखर सम्मेलनका बेला इन्डोनेशियाको बालीमा उनीहरूको भेट भएको थियो। त्यसको धेरै महिनापछि चीनले उक्त बैठकमा द्विपक्षीय सम्बन्ध सुधार गर्न दुवै पक्ष एकमत भएको बतायो।
सन् २०२३ मा जोहानेस्बर्गमा आयोजित ब्रिक्स शिखर सम्मेलनका बेला पनि दुई जनाबीच अनौपचारिक भेट भएको थियो। त्यसमा तनाव घटाउने प्रयासहरूलाई सघन बनाउन दुवैले सहमति गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ।
शाङ्घाई कोअपरेशन अर्गनाइजेशन ९एससीओ० को शिखर सम्मेलनमा सहभागी हुन काजकस्तान गएका बेला सोही वर्ष भारतका विदेशमन्त्री एस जयशङ्कर र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच भेट भएको थियो। उहाँहरूले संवाद बढाउने सहमति गर्नुभएको थियो।
गत महिना जयशङ्करले सीमामा ७५ प्रतिशत विवाद समाधान भएको बताउनुभएको थियो।
त्यसको केही दिनपछि दुई देशका नागरिक उड्डयन अधिकारीहरूको बैठकमा यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने विषयमा छलफल भएको थियो।
ब्लूमबर्गसहित विभिन्न सञ्चारमाध्यमले भारतीय व्यावसायिक क्षेत्रले सरकारलाई चीनविरुद्ध लगाइएका प्रतिबन्धहरू हटाउन दबाव दिएको जनाएका छन्। प्रतिबन्धका कारण उच्च प्रविधि प्रयोग गरेर बहुमूल्य सामग्री उत्पादन गरिने चिपसहितको क्षेत्रमा नराम्रो प्रभाव परेको व्यवसायीहरूले बताएका छन्।
यद्यपि भारतकी अर्थमन्त्री निर्मला सीतारमणले चिनियाँ व्यवसायहरूमाथि लगाइएका प्रतिबन्ध खुकुलो पार्दा सरकार सजग रहने बताउनुभएको छ ।
दुई देशले सीमामा फेरि गस्ती थाल्ने र सन् २०२० को भिडन्तअघिको स्थिति कायम गर्ने सहमति गरेको सोमवार जयशङ्करले बताउनुभयो ।
“त्यससँगै हामी चीनसँगको विवाद समाधान गर्ने काम सकिएको छ भन्न सक्छौँ “, उहाँले भन्नुभयो ।
भारतीय सेनाका प्रमुखले अहिले दुई देश विश्वास पुनः कायम गर्ने प्रयासमा रहेको बताउनुभयो। “हामीले एकअर्कालाई भेट्न पाउँदा र मध्यवर्ती क्षेत्रमा प्रवेश गर्दैनौँ भनेर आश्वस्त पार्न सक्दा त्यसो हुन सक्छ”, जेनरल उपेन्द्र द्विवेदीले भन्नुभयो।
चीनको विदेश मन्त्रालयले उक्त सहमतिको विषयवस्तुबारे कुनै टिप्पणी नगरी दुई पक्षबीच सम्बन्धित विषयमा समाधानमा पुगिएको बताएको छ।
“चीन यो प्रगतिलाई स्वागत गर्छ र यी सहमतिहरू कार्यान्वयन गर्न भारतसँग निरन्तर सहकार्य गर्ने छ”,चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मङ्गलवार एउटा पत्रकार सम्मेलनमा भन्नुभएको छ।
अब के हुन्छ?
भारतको विदेश मन्त्रालयका अनुसार मोदी र सीले आफ्ना विशेष प्रतिनिधिहरूले ूसीमाबारे उचित र दुवै पक्षलाई स्वीकार्य समाधान खोज्नू भेट गर्ने घोषणा गर्नुभएको छ।
द्विपक्षीय सम्बन्धलाई स्थिर र पुनः राम्रो बनाउन दुई देशका मन्त्री र अन्य अधिकारीहरूले काम गर्ने पनि विदेश मन्त्रालयले जनाएको छ।
मोदीले दुई देशबीचको सम्बन्ध विश्वशान्तिका लागि महत्त्वपूर्ण भएको भन्दै आफूहरूले राम्रो सम्बन्ध कायम गर्नुको महत्त्वबारे छलफल गरेको बताउनुभयो ।
“सीमामा शान्ति र स्थिरता कायम गर्नु हाम्रो प्राथमिकता हुनुपर्छ। पारस्परिक विश्वास, पारस्परिक सम्मान र पारस्परिक संवदेनशीलता हाम्रो सम्बन्धको आधार बनिरहनुपर्छ”, उहाँले भन्नुभयो।
चिनियाँ राष्ट्रपति सी जिन्पिङले मोदीलाई अन्तर्राष्ट्रिय समुदायले सो भेटलाई नजिकैबाट नियालेको बताउनुभयो।
उहाँले दिल्ली र बेइजिङले विकासशील राष्ट्रबीचको एकतालाई सुदृढ पार्न तथा अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीकरण र प्रजातन्त्रलाई प्रोत्साहन दिन उदाहरण बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
“चीन र भारत दुवै प्राचीन सभ्यता हुन्, मुख्य विकासशील राष्ट्र र ग्लोबल साउथका महत्त्वपूर्ण सदस्य हुन्”, उहाँले भन्नुभयो, “हामी दुवै आधुनिकीकरण गर्ने आफ्ना प्रयासमा एउटा महत्त्वपूर्ण चरणमा छौँ।”
ब्रिक्स सम्मेलनमा ३६ देशका नेताहरू सहभागी भएका थिए। तिनले ग्लोबल साउथ का राष्ट्रहरूबीच हुने वाणिज्यमा अमेरिकी डलरमाथिको निर्भरता घटाउने उपायबारे पनि छलफल गरेका थिए। उक्त सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पनि सहभागी हुनुभएको थियो ।