–रफिद जबौरी / बीबीसी न्यूज अरेबिक
मिशिगन(र्संयुक्त राज्य अमेरिका), १९ कार्तिक । अमेरिकामा राष्ट्रपतीय निर्वाचनका निम्ति मतदानको दिन नजिकिँदै गर्दा मिशिगनका अरब–अमेरिकी समुदाय भने चौबाटोमा उभिएसरह भएका छन्।
छनौटका क्रममा धेरै अरब–अमेरिकीहरू पहिलेभन्दा बढी जटिलतासँग जुधिरहेकाले राज्यका १५ इलेक्टोरल मतहरू (जुन चुनावको नतिजा निर्धारणका निम्ति महत्त्वपूर्ण ठानिएका छन्) कसको पक्षमा जान्छ भन्नेमा अन्योल छ।
विशेष गरी घरेलुदेखि मध्यपूर्वको सङ्घर्षसम्म सरोकार राख्ने मतदाताहरूका निम्ति कमला ह्यारिस र डोनल्ड ट्रम्पमध्ये एकजना छान्ने निर्णय गर्न त्यति सजिलो छैन।
मत सर्वेक्षणहरूले दुई उम्मेदवारहरूबीचको प्रतिस्पर्धा आधुनिक इतिहासकै सबैभन्दा तीव्र भएको देखाइरहेका छन्।
डेमोक्र्याटिक उम्मेदवार ह्यारिस हाल लोकप्रिय मतमा अघि देखिनुभएको छ । यद्यपि अमेरिकी चुनावमा इलेक्टोरल कलेजले विजेता निर्धारण गर्ने भएकाले प्रमुख ुस्वीङ स्टेटुका रूपमा मिशिगनले प्रमुख निर्णायकमध्येको भूमिका खेल्न सक्छ।
विशेष गरी ठूलो अरब जनसंख्या भएका डियरबर्नजस्ता सहरहरूमा झिनो अन्तरले नतिजा निर्धारण हुने हुँदा यहाँका अरब–अमेरिकी नागरिकहरूले नतिजालाई प्रभावित तुल्याउन सक्छन्।
विविधतायुक्त र विभाजित समुदाय
मिशिगनका अरब–अमेरिकीहरूको मत एकढिक्का छैन। राज्यभर छरिएर रहेका हजारौँ अरब–अमेरिकीहरूको राजनीतिक संलग्नता र प्राथमिकता पनि व्यापक रूपले भिन्न–भिन्न छ, जसले उनीहरूको विविधतायुक्त सांस्कृतिक पृष्ठभूमि र अमेरिकाको घरेलु तथा विदेश नीतिमा उनीहरूको धारणालाई प्रतिबिम्बित गर्छ।
डियरबर्नको अरब समुदाय सेन्टर फर इकोनोमिक एन्ड सोसल सर्भिसमा अरब–अमेरिकीहरूको राष्ट्रिय सञ्जाललाई निर्देशित गर्दै आउनुभएकी रिमा मरुए अरब मतको आकार ठम्याउन कठिन हुने बताउनुहुन्छ ।
अमेरिकी जनगणनाले अरबहरूलाई भिन्दै जातीय समूहका रूपमा पहिचान नगरेकाले सङ्ख्या पत्ता लगाउन गाह्रो हुन्छ। तर मेरुए मिशिगनमा कम्तिमा ३ लाख अरब–अमेरिकी मतदाता रहेको अनुमान गर्नुहुन्छ।
अब यो सङ्ख्याको सन्दर्भ हेरौँ। सन् २०१६ मा ट्रम्पले यो राज्यमा केवल १० हजार मतले जिते। सन् २०२० मा जो बाइडनले मिशिगनमा जित हासिल गर्दा १ लाख मतको अन्तर थियो। त्यसैले मिशिगनको इलेक्टोरेटमा अरब मतदाताले सानो सङ्ख्यामा प्रतिनिधित्व गर्ने भए पनि तीव्र प्रतिस्पर्धाको अवस्थामा निर्णायक हुन सक्छन्।
मरुएका अनुसार परम्परागत रूपमा हेर्ने हो भने अरब–अमेरिकी मतदाता एउटै मुद्दाको वरिपरि झुम्मिने गरेका छैनन्। तर यो चुनाव फरक भएको उहाँ को ठम्याइ छ। उनका अनुसार गाजामा युद्ध भएदेखि यसमा परिवर्तन आएको छ र मध्यपूर्वको विषय अहिले धेरै अरब–अमेरिकीहरूको चासोको केन्द्रमा छ।
साझा चासो हुँदा हुँदै पनि मतदाताहरू सबैभन्दा उत्तम छनौट के हो भन्नेबारे विभाजित छन्। केही मतदाताहरू ट्रम्पतर्फ ढल्किएका छन्, जो उहाँ को ‘अमेरिका पहिले’को अडानले मध्यपूर्वको युद्ध रोकिन सक्ने विश्वास गर्छन्। त्यस्तै अन्यचाहिँ ह्यारिसले कूटनीतिक माध्यमबाट दीर्घकालीन समाधान ल्याउन सक्ने सम्भावना देख्छन्। त्यसपछि यहाँ ग्रिन पार्टीका उम्मेदवार जिल स्टाइनलाई समर्थन गर्ने समूह पनि छन्, जसको इजरायलप्रति अमेरिकी समर्थनको आलोचनाले उनीहरूको भावनालाई प्रतिध्वनित गर्छ।
मध्यपूर्व नीतिमाथिको लडाइँ
इजरायलप्रति आफ्नो दलको लामो समयदेखिको समर्थनलाई दोहोर्याइरहनु भएकी ह्यारिसले मध्यपूर्वमा युद्धविरामको दिशामा काम गर्ने प्रतिबद्धता जनाउँदै अरब समुदायसँग मित्रवत् सम्बन्ध विकास गर्नुभएको छ। यद्यपि उहाँले प्यालेस्टिनीहरूको सुरक्षा, स्वाभिमान र आत्मनिर्णयको अधिकारको पक्षमा पनि बोल्नुभएको छ। यस्तो जटिल स्थितिमा साम अब्बासजस्ता मतदाताको मत तान्न गाह्रो छ।
अब्बास डियरबर्नस्थित एक व्यस्त रेस्टुराँका सञ्चालक हुनुहुन्छ। उहाँ धेरै अरब–अमेरिकीहरूको निराशालाई व्यक्त गर्नुहुन्छ । उहाँ मध्यपूर्वको रक्तपातका निम्ति बाइडन र ह्यारिसलाई प्रत्यक्ष जिम्मेवार ठहर्याउँदै आफूले चिनेजतिका कसैले पनि ह्यारिसलाई मत नदिने बताउनुहुन्छ।
यो चुनावले अब्बासका सामु द्विविधा पैदा गराएको छ। उहाँका अनुसार ूदुई खराबबाट कम खराब छान्नु पर्नेू स्थिति छ। उनी कसलाई मत दिने भने अझै निर्णय गरी नसकेको र चुनावकै दिन निर्णय गर्ने सम्भावना रहेको बताउनु हुन्छ।
अर्कातर्फ उहाँको आप्रवासन नीतिलाई धेरैले मुस्लिमविरोधी र अरबविरोधीका रूपमा हेरे पनि र उहाँको इजरायल पक्षधर स्थिति तथा प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँगको निकट सम्बन्धका बाबजुद पनि ट्रम्पले आश्चर्यजनक रूपमा अरब मतदाताको समर्थन प्राप्त गर्नुभएको छ।
आफू राष्ट्रपति छँदा कुनै युद्ध नभएको र आफू पदमै भएको भए युक्रेन र मध्य पूर्वका युद्धहरू टार्न सकिन्थ्यो भन्ने उहाँको दाबीको सम्बन्ध द्वन्द्वबाट थकित मानिसहरूसँग जोडिएको छ।
त्यस्तै आफ्नी छोरीका अरबी ससुरा मसाद बुलोससँग पनि ट्रम्पको राम्रो सम्बन्ध छ, जसको छोराले टिफानी ट्रम्पसँग विवाह गर्नुभएको छ। ट्रम्पले गर्वसाथ छोरीज्वाइँका छिट्टै जन्मिने सन्तान आधा अरबी हुने समेत बताउनुभएको छ।
सर्दै गरेको निष्ठा
डेमोक्र्याटिक पार्टीसँगको निराशाको भावनाले अरब–अमेरिकी समुदायमा थप सङ्गठित विरोध पैदा गरेको छ। ‘बाडडनलाई त्यागौँ’ भन्दै गत वर्ष सुरु गरिएको एउटा अभियानले हाल ‘ह्यारिसलाई त्यागौँ’ भन्दै गति लिएको छ। मध्यपूर्वको हिंसामा बल पुर्याइरहेको डेमोक्र्याटिक पार्टीले अरब र मुस्लिमका मुद्दाहरूमा मुखले ठिक्क पार्ने काममात्र गरेको यसका संस्थापकहरूको आरोप छ।
अभियानका संस्थापकमध्येका एक हसन अब्देल सलाम उनीहरूको विरोध उम्मेदवारविशेषका निम्ति नभइ पार्टीको इजरायल पक्षधर अडानप्रतिको प्रतिक्रिया हो।
“हामी दुवै राजनीतिक दलहरू निन्दनीय छन् भन्ने निष्कर्षमा पुगेका छौँ “,उहाँ भन्नुहुन्छ। उहाँ मुस्लिम अमेरिकीहरूले मत दिनुपर्ने तर दुवै राजनीतिक पार्टीहरूलाई अस्वीकार गर्नुपर्नेमा जोड दिनुहुन्छ।
यो समूहले ग्रीन पार्टीका उम्मेदवार जिल स्टाइनलाई समर्थन गरेको छ, भलै त्यसो गर्दा निर्णय ट्रम्पको पक्षमा जाने जोखिम हुन्छ। सलाम अरब र मुस्लिमहरूको आवाज उपेक्षामा पर्नुमा डेमोक्र्याट्सहरूलाई जिम्मेवार ठहर्याउनुपर्ने तर्क गर्नुहुन्छ ।
यमनी-अमेरिकी राजनीतिक कार्यकर्ता तथा घरजग्गा व्यवसायी समारा लकमानले लामो समयदेखि डेमोक्र्याटिक पार्टीलाई समर्थन गर्दै आउनुभएको छ। तर आश्चर्यजनक रूपमा परिवर्तित हुँदै उहाँले यस चुनावमा डोनल्ड ट्रम्पलाई मत दिने निर्णय गर्नुभएको छ।
लकमानले ट्रम्पको चुनावी अभियान सक्रियतापूर्वक अरब–अमेरिकी समुदायबीच पुगेको बताउनुहुन्छ। उल्लेखनीय कुरा के हो भने उहाँलाई व्यक्तिगत रूपमा ट्रम्पको अभियानद्वारा सम्पर्क गरिएको थियो र उहाँलाई एउटा सभामा पूर्व राष्ट्रपतिलाई भेट्न आमन्त्रित गरिएको थियो। उहाँका अनुसार यसले गर्दा ट्रम्पप्रतिको उहाँको दृष्टिकोणमा उल्लेखनीय परिवर्तन आयो।
कुराकानीका क्रममा ट्रम्पले एक किसिमको ूमानवताू दर्शाएको उहाँले महसुस गर्नुभयो। उहाँ अचम्ममा त त्यतिबेला पर्नुभयो जतिबेला उहाँले गाजामा जारी युद्धको कुरा झिक्नुअघि नै ट्रम्प स्वयंले ‘मध्यपूर्वमा युद्ध रोक्नुपर्ने’आवश्यकता औँल्याउनुभयो।
आफ्नो मतले चिनजानका अन्य अरब–अमेरिकीको मतसँगै डेमोक्र्याट्सहरू विरुद्ध विरोधको काम गर्ने उहाँको विश्वास छ।
“यो दण्डात्मक मतदान हो”, उहाँ भन्नुहुन्छ।
ह्यारिस र अरब मतदाताको मन
मिशिगनमा ट्रम्पको बढ्दो आकर्षणका बावजुद डेमोक्र्याटिक पार्टीले हार मानेको छैन। विशेष गरी ११ सेप्टेम्बरको आक्रमण र त्यसले समुदायविरोधी भावना निम्त्याएयता धेरै अरब–अमेरिकीहरूमाझ यसले बलियो समर्थन पाउँदै आएको छ।
मिशिगनमा डेमोक्र्याटिक क्लबको नेतृत्व गर्दै आएका सामी खालिदी चुनावमा ह्यारिसले अझै अरब मतदाताको मन जित्न सक्नेबारे विश्वस्त हुनुहुन्छ।
ह्यारिसले लगातार “गाजाको पुनर्निर्माण र प्यालेस्टिनीहरूलाई थप मानवीय सहायता उपलब्ध गराउनूका निम्ति आह्वान गरिरहनुभएको छ”, उहाँले बीबीसीलाई भन्नुभयो, “उहाँ गाजा पुनः कब्जाू गर्ने कुरामा विश्वास गर्नुहुन्न र यसले अरब–अमेरिकी मतदाताहरूलाई आकर्षित गर्छ।”
खालिदीका अनुसार डेमोक्र्याटिक पार्टी एकमात्र त्यस्तो राजनीतिक संस्था हो जसले अरब–अमेरिकीहरूको आवश्यकता र योग्यताको कदर गर्छ। साथै उहाँ मध्यपूर्वप्रति ह्यारिसको दृष्टिकोण राष्ट्रपति बाइडनको भन्दा फरक र अरब–अमेरिकीहरूका लागि अधिक अनुकूल भएको विश्वास गर्नुहुन्छ।
यद्यपि खालिदी ह्यारिसको विचारबारे समुदायका धेरै मानिसहरू अनभिज्ञ रहेको औँल्याउँदै डेमोक्र्याटिक पार्टी सञ्चार अभिवृद्धिका निम्ति प्रयत्नरत रहनुपर्ने आवश्यकतामा जोड दिनुहुन्छ।
निराशा र विमुखता
तर कतिपयलाई जुनसुकै स्तरको जनसम्पर्कको प्रयासले पनि प्रभाव पारिरहेको छैन। जेनीन यासीन एक जना प्यालेस्टीनी मूलकी अमेरिकी कलाकार हुनुहुन्छ। उहाँले यो वर्ष मतदानमा सहभागी नहुने निर्णय लिनुभएको छ।
उहाँ इजरायलप्रतिको अमेरिकी नीतिलाई लिएर आफूले कुनै सम्झौता नगर्ने बताउनुहुन्छ। दुवै उम्मेदवारहरूले प्यालेस्टिनीमाथिको ‘नरसंहारलाई’ साथ दिने उहाँको आरोप छ।
चुनावी प्रक्रियामा सहभागी नहुने यासीनको धारणाले धेरै अरब अमेरिकीमा व्याप्त निराशालाई दर्शाउछ।
यासीन डेमोक्र्याटिक दलले अरब अमेरिकीहरूका लागि ‘प्यालेस्टाइन हाम्रो मूल मुद्दा हो’ भनेर नबुझेको बताउनुहुन्छ। प्यालेस्टिनीहरूका त्यस्तै प्रकृतिका अधिकारहरू उपेक्षा गर्ने डेमोक्रयाटहरूले ‘गर्भपतन, महिला अधिकार र प्रजनन न्याय’जस्ता सवालप्रति आफूहरू संवेदनशील रहेको भनेर दाबी गर्न नमिल्ने उहाँले सुनाउनुभयो।
उहाँ भविष्यलाई लिएर आफू आशावादी रहेको बताउनुहुन्छ। आफ्नो पुस्ताका अमेरिकीहरूले इजरायललाई समर्थन गर्ने अमेरिकी नीतिको विरोध बढाउँदै लगेकोलाई उहाँले अमेरिकीहरूको दृष्टिकोणमा आइरहेको परिवर्तनका रूपमा लिनुभएको छ।


















